संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे र नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँको विवाद पार्टीको संसदीय दल र केन्द्रीय अनुशासन समितिमा शुक्रवार पुगिसकेको थियो । मन्त्री पाण्डेले शुक्रवार बजगाईँविरुद्ध पार्टीका दुवै निकायमा बजगाईँविरुद्ध उजुरी गरेका थिए ।
जसको जबाफमा सांसद बजगाईँले शनिवार पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवालाई ९ पेजको पत्र लेख्दै त्यो विवादका विषयमा आफ्नो धारणा दिएका छन् । ‘साँचो लोकतन्त्रले साहस माग्छ’ भन्ने विषय शीर्षक राखेर उनले लामै देश विदेशका अनुभवसहितका दृष्टान्त राखेर पत्र तयार पारेको देखिन्छ ।
याे पनि पढ्नुहाेस्ः कांग्रेसका मन्त्री र सांसदको ‘संगीन’ जुहारी | Nagarik News
आफू पछिल्लो समय लोकतन्त्रको ‘कोर भ्याल्यु’मा अडिग रहेर विचार प्रस्तुत गर्ने गरेको दाबी गर्दै सांसद बजगाईँले त्यसमा पार्टीकै ‘पार्टीभित्र निरुत्साहित’ गर्ने काम भइरहेको आशय उल्लेख गरेका छन् । ‘राष्ट्र हितका विषयमा साहसपूर्वक धारणा राख्ने सांसदलाई कांग्रेसका केही पदाधिकारीहरूले हतोत्साहित र निषेध गर्ने प्रयास गरिरहेका छन्। यो चर्चा परसम्म फैलिएको छ,’ पत्रमा उनले लेखेका छन् । तर आफू आफ्नो विचारधारा र नीतिमा अडिग रहने दाबी गरेका छन् ।
‘म भन्छु: साँचो लोकतन्त्रले साहस माग्छ–सत्य बोल्न, गलत कार्यलाई प्रश्न गर्न, र पार्टीको राजनीतिभन्दा जनतालाई प्राथमिकता दिन,’ उनले एक ठाउँमा लेखेका छन् ।
‘निर्वाचित जनप्रतिनिधि पार्टी भन्दा परको जिम्मेवारी’ रहेको पनि सांसद बजगाईँले टिप्पणी गरेका छन् ।
उनले नाम उल्लेख नगरी पर्यटन मन्त्री पाण्डेतर्फ लक्षित गर्दै ‘नेपालको पर्यटन क्षेत्र ध्वस्त पारियो’ भन्दै उल्लेख गरेका छन् ।
याे पनि पढ्नुहाेस्ः सांसद बजगाईँविरुद्ध पर्यटन मन्त्री पाण्डेको उजुरी | Nagarik News
पत्रको अन्ततिर सांसद बजगाईँले सरकारमा रहेका मन्त्रीका गतिविधिमा पार्टीभित्र लुकिछिपी गर्न नमिल्ने उल्लेख गरेका छन् । ‘सरकारमा अवतरित मन्त्रीहरूका गतिविधिलाई पार्टी भित्र लुकीछिपी गर्न मिल्दैन भन्ने उदाहरण कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ऊर्जा जलस्रोत सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङमाथि सोधिएका प्रश्नहरूले पुष्टि गर्दछ,’ उनले लेखेका छन्,‘हामीले नेपाल सरकारका मन्त्रीहरूलाई प्रश्न गरिरहेका छौँ।’ नेपाली कांग्रेसका सदस्य पदाधिकारीहरूलाई नभई कम्तीमा यो कालपर्यन्त सरकारका मन्त्रीलाई सोधिएका प्रश्नमा पार्टी संसदीय दल र कांग्रेस केन्द्रीय अनुशासन समितिलाई उत्साहित गर्न आवश्यक नरहेको पनि उनले लेखेका छन् ।
अन्तमा उनले पार्टीभन्दा माथि देश रहेको उल्लेख गरेका छन् । ‘मन्त्री पछाडि वर्दीको पार्श्व जम्दारसाब काँप्नेगरी क्लोज प्रोटेक्सनका सइसाबका हातका सञ्चार साधन भुईं झर्ने गरी चिच्च्याएर सत्य लुक्दैनन्। निर्दोषले चिच्याउने आवाज दोषीको कब्जामा जानु हुँदैन,’ सांसद बजगाईँले लेखेका छन् ।
पत्रमा के छ? पढ्नुहोस्
https://images.nagariknewscdn.com/pdf/1731747772_NC%20party%20centeral%20office%20sanepa%20(1).pdf
प्रकाशित: १ मंसिर २०८१ १४:५४ शनिबार