सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेर अनुसन्धानका लागि रुपन्देही लगिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बुटवलबाट पोखरा लगिएको छ।
गत मंगलबार पोखराबाट रुपन्देही ल्याइएका लामिछानेसँग बिहीबार बयान सकिए पनि जहाज नआएकाले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमै राखिएको थियो।
आज शुक्रबार भैरहवास्थित गौतम बुद्ध विमान स्थलबाट पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता बसन्त कुमार शर्माले नागरिकलाई जानकारी दिए।उनलाई पोखरामा दिउँसो २:४५ बजे ल्याइएको हो।अहिले रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ।
पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा कात्तिक २ गते पक्राउ परेका लामिछाने बुटवलको सुप्रिम सहकारीको रकम हिनामिनामा पनि संलग्न रहेको देखिएपछि प्रहरीले अनुसन्धानका लागि बयान लिन रुपन्देही ल्याएको थियो।
प्रकाशित: ३० कार्तिक २०८१ १५:५२ शुक्रबार