संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे र गोरखा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईँबिचको जुहारी सञ्चारमाध्यममा छताछुल्ल भएका छन् । दुबै जना नेपाली कांग्रेसका नेता र सांसद हुन् । मन्त्री पाण्डे कांग्रेसका सहमहामन्त्री हुन् । उनी बाजुराबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य हुन् ।
सांसद बजगाईँले मन्त्री पाण्डेमाथि क्यासिनो अनुमति दिँदा करोड करोड घुस खाएको आरोप लगाएका छन् भने पाण्डेले ‘विकृति, विसंगतीका मतियार र बिचौलिया’ भन्दै जवाफ फर्काएका छन् ।
सांसद बजगाईँले मंगलबार बिहान पर्यटन मन्त्री पाण्डेलाई लक्षित गर्दै सामाजिक सञ्जालमा एक अभिव्यक्ति सार्वजनिक गरेका थिए । जसमा भैरहवाको एक क्यासिनोको अनुमतिका लागि ‘करोड करोड’ घुस खाएको आरोप छ ।
‘मन्त्री आफू कमिसन खान्छ, अरूको स्पोन्सर प्रचार गर्छ,’ सांसद बजगाईँले लेखेको स्ट्याटसमा उल्लेख छ,‘हामी समकक्षी सुभाष, म, सुशान्त सँगै थियौँ । एक क्यासिनो सञ्चालकले हामीहरूलाई भैरहवाको क्यासिनो अनुमतिका लागि आफूले करोड करोड रकम दिएको प्रस्ट गरे ।’
त्यसपछि उनले ‘दृष्टान्त’ भन्दै मन्त्रीले कांग्रेस नेताको घरमा पैसा पठाउन निर्देश गरेको कुरा उल्लेख गरेका छन् । ‘मन्त्रीले कांग्रेस नेताको घरमा पैसा पठाउन निर्देश गर्यो । उपरोक्त नेताले त्यो पैसा फिर्ता पठायो,’ बजगाईँले लेखेका छन् । तर कुन नेताको घरमा पैसा पठाएको त्यो कुरा भने खुलाएका छैनन् ।
त्यसपछि बजगाईँले अगाडि लेखेका छन्, ‘मन्त्री भ्रष्ट क्यान कर्मचारी हटाउन चाहन्थेँ । सभापति र उहाँको परिवारले दिएनन् भन्दै हिँड्छ । यो झुट हो किनभने सभापति, गृह, परराष्ट्र मन्त्री आफै क्यान छुट्टाउने विषयमा आफै प्रधानमन्त्रीलाई ब्रिफ गर्दै गरेको १५ औँ सांसद साक्षी छौँ।’
सांसद बजगाईँ यो अभिव्यक्तिमा मात्र रोकिएका छैनन्, अर्को फेसबुक स्ट्याटसमा ‘डेरामा बस्ने, मन्त्री बन्नासाथ घर किन्ने ?’ भन्दै लेख्छन् । अर्कोतिर सोमबार साँझ मात्रै एक्समा उनले मन्त्री पाण्डेको एक टेलिभिजन अन्तरवार्ता सेयर गर्दै ‘भार’ भनेर टिप्पणी गरेका छन् ।
मन्त्री पाण्डेको प्रतिवाद
यसरी सांसद बजगाईँले आरोपको मङ्गलवारै एक औपचारिक कार्यक्रममै मन्त्री पाण्डेले प्रतिवाद गरेका छन् । नेपाल विद्याश्रम संस्कृति माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहमा बोल्दै मन्त्री पाण्डेले ‘बिचौलिया र स्वार्थ समूहसँग सम्झौता नगर्ने’ भन्दै चर्को आक्रोश पोखे ।
आफू इमानदार भएर काम गर्न खोज्दा घेराबन्दीमा पार्न खोजेकोसम्म उनले बताए । ‘पहिला राजनीति गर्ने व्यक्तिहरू बलियो हुनुहुन्थ्यो । अहिले स्वार्थ समूह शक्तिशाली भएको देखिरहेको छु,’ मन्त्री पाण्डेले भने,‘मैले तीन–चार महिना निष्ठापूर्वक काम गरिरहँदा केही स्वार्थ समूहका मतियारले मलाई मानमर्दन गर्ने, मेरो मनोबल, आत्मबललाई गिराउने गरी काम गरिरहेका छन् ।’
पशुपतिनाथलाई साक्षी राखेर आफूले करोड नखाएको उनले प्रतिज्ञा समेत गरे । ‘करोड खाएको कुरा केही अनलाइनहरूलाई प्रयोग गरेर, केही बिचौलियाका मतियारहरूले आरोप लगाएका छन् । करोड त के कौडी खाएको खाएको पुष्टि गरेको दिन म पशुपतिको ढोका अगाडि आएर मेरो राजनीतिक जीवन परित्याग गर्ने प्रतिज्ञा गर्न चाहन्छु,’ मन्त्री पाण्डेले भने ।
मन्त्री पाण्डेले ‘राजनीतिक भित्रका विकृति, विसंगतीका मतियारहरूले सामाजिक सञ्जालको प्रयोग गर्दै अफवाह फैलाइएको’ भन्दै आक्रोश व्यक्त गरे ।
मन्त्री पाण्डे र सांसद बजगाईँ दुवै युवा नेता मानिन्छन् । दुबै जना कांग्रेसभित्र फरक कित्ताको राजनीति गर्छन् । पाण्डे महामन्त्री गगन थापा र शेखर कोइरालाको खेमाबाट मन्त्री भएका हुन् भने, बजगाईँ पछिल्लो समय संस्थापन समूहसँग निकट मानिन्छन् ।
घुस, कमिसन, बिचौलिया, स्वार्थ समूह जस्ता भ्रष्टाचारजन्य कुरा लिएर दुई जना नेता आरोप प्रत्यारोपमा उत्रिएपछि कांग्रेसभित्रको राजनीतिमा पनि गरमागरम बहस भइरहेको छ । तर हालसम्म शीर्ष नेताले यो विषयमा कुनै पनि किसिमको हस्तक्षेप नगरेको बुझिएको छ ।
प्रकाशित: २७ कार्तिक २०८१ १८:०३ मंगलबार