२८ कार्तिक २०८१ बुधबार
image/svg+xml
राजनीति

महिला सशक्तीकरणका क्षेत्रमा धेरै उपलब्धि भएपनि चुनौती अझै छन्ः परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालमा लैङ्गिक समानता र महिला सशक्तीकरणका क्षेत्रमा गएका तीन दशकयता धेरै नै उपलब्धि भए पनि चुनौती पनि रहेको उल्लेख गरेकी छिन्।

युएन वुमनद्वारा आज राजधानीमा आयोजित बेइजिङ प्लस तीसको सिभिल सोसाइटी रिपोर्ट सार्वजनिक गर्दै मन्त्री डा राणाले ३० वर्षअघि बेइजिङमा सम्पन्न विश्वका नेताहरुको सम्मेलनपछि नेपालमा पनि महिला अधिकार, लैङ्गिक समानता तथा महिला सशक्तीकरणका क्षेत्रमा धेरै काम भएका बताएकी हुन्।

सो कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्,'मलाई लाग्छ नेपालका महिलाहरुले अहिले प्राप्त गरेका संवैधानिक लगायतका अधिकारको बिजारोपण ३० वर्षअघिको बेइजिङ सम्मेलनमा भएको हो। सो चौथो विश्व महिला सम्मेलनले लैङ्गिक समानता, महिला सशक्तीकरण, महिलाविरुद्धका हिंसाको उन्मूलनलगायतका १२ ओटा क्षेत्रका प्रतिबद्धता अघि सारेको थियो।'

सो बेइजिङ सम्मेलनमा आफ्नो सक्रिय सहभागिता रहेको स्मरण गर्दै उनले त्यसयता नेपालका महिलाहरुले अघि बढाएको अभियानले देशमा महिलाका क्षेत्रमा धेरै काम भएका तथा प्रजनन् स्वास्थ्यदेखि धेरै अधिकारहरु महिलाले संवैधानिक रुपमै प्राप्त गरेको बताइन्।

सो सम्मेलनपछिका ३० वर्षमा महिला अधिकार र लैङ्गिक समानताका क्षेत्रमा उल्लेखनीय प्रगति भएपनि अझै धेरै काम गर्न भने बाँकी रहेको मन्त्री डा राणाको भनाई थियो। उनले भनिन्, 'महिला र यहाँका बालिकाहरूले आर्थिक सहभागिता, शिक्षा, स्वास्थ्य, रोजगारी, न्यायमा समान पहुँच आदि क्षेत्रमा अहिले पनि चुनौतीहरूको सामना गर्नु परिरहेको छ। यसबारेमा पनि सोच्नुपर्छ र तिनको समाधानका लागि सरकार र नागरिक समाज एकताबद्ध भइ अघि बढ्नुपर्छ।'

मन्त्री डा राणाले बालिकाहरूको विद्यालय भर्ना, श्रम बजारमा महिलाको सहभागिता, मातृ स्वास्थ्य, बालबिवाहमा न्यूनिकरण एवं सम्पत्तिमा महिला अधिकार आदि क्षेत्रका सूचकाङ्कमा नेपालले प्रगति गरेको उल्लेख गरिन्। 

प्रकाशित: २६ कार्तिक २०८१ १६:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App