२८ कार्तिक २०८१ बुधबार
image/svg+xml
राजनीति

भिडको होस की टाकुराको सबैमाथि कानुन लाग्छ: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानुन विपरीत कार्य गर्ने सबै जना कानुनी प्रक्रियाअनुसार अनुसन्धानको दायरामा आउनुपर्ने बताएका छन् । शनिवार फेसबुकमा एक अभिव्यक्ति सार्वजनिक गर्दै महामन्त्री थापाले आफू सदैव कानुनी शासनको मान्यतामा अडिग रहेको उल्लेख गरेका हुन् । 

‘कोहीप्रति कुनै प्रकारको पूर्वाग्रह वा पक्षपात नगरी कानुनले स्वतन्त्र र निर्भीक रूपमा आफ्नो काम गर्न पाउनुपर्छ । कानुनी शासनको मान्यता यही हो,’ महामन्त्री थापाले लेखेका छन्, ‘कानुन विपरीत कार्य गर्ने सबै जना कानुनी प्रक्रिया अनुसार अनुसन्धानको दायरामा आउनुपर्छ।’ 

सहकारी प्रकरण होस् वा जनप्रतिनिधि मानव तस्करीमा संलग्न रहेको प्रकरण सबै कानुनी दायरामा आउनुपर्ने महामन्त्री थापाले उल्लेख गरेका छन् । 

‘यस्ता प्रकरणमा संलग्न सत्ताको नजिकको होस् की टाढाको होस् । नयाँ होस् की पुरानो होस् । भिडको होस् की टाकुराको होस् । एक्लो होस् की शक्तिशाली होस् ।  कानुन सबैको लागी बराबर हुनुपर्छ,’ उनले अगाडि लेखेका छन् । गल्ती गर्नेले सजाय भोग्नुपर्ने बताउँदै उनले सबै कानुनी दायरामा आउनुपर्ने र सबैले आफ्नो भागको कानुनी दायित्व बोक्नुपर्ने धारणा राखेका छन् । 

कुनै पनि व्यक्तिलाई राज्यले सेलेक्टिभ ढङ्गले हेर्न नपाइने पनि महामन्त्री थापाले लेखेका छन् । उनले अगाडि उल्लेख गरेका छन्, ‘यो विचार,आबद्धता वा पृष्ठभूमिको आधारमा हुने छनोटको विषय होइन,  विधिको विषय हो। म यो मान्यतामा अटल विश्वास गर्छु।’ 

आफू बन्द कोठा र सार्वजनिक स्थल जहाँ हुँदा पनि आफ्नो मान्यता नबदलिने महामन्त्री थापाले लेखेका छन् । ‘त्यसैले बन्द कोठाको बैठकमा होस कि सार्वजनिक स्थानमा होस, पार्टी सरकार मा हुँदा होस कि प्रतिपक्षमा हुँदा होस मेरो यो मान्यता र विश्वास बदलिँदैन,’ उनले लेखेका छन् । 

अन्तमा उनले शनिवार गणेशमान सिंहको जन्म जयन्तीको स्मरण गर्दै लेखेका छन्, ‘हामीले गणेशमान सिंहबाट सिकेको पनि यहीँ हो। उहाँका अटल विश्वास,आदर्श र निष्ठाको स्मरण सहित हार्दिक श्रद्धा सुमन!’

प्रकाशित: २४ कार्तिक २०८१ १४:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App