२१ कार्तिक २०८१ बुधबार
image/svg+xml
राजनीति

उपप्रधानमन्त्री सिंह नेतृत्वको टोली कायरो प्रस्थान

उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंह इजिप्टको कायरो प्रस्थान गरेका छन्। वर्ल्ड अर्बान फोरमको कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सिंह आइतबार बिहान ८ बजे कायरो प्रस्थान गरेका हुन्। उपप्रधानमन्त्री सिंहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन्। फोरममा विश्वका १५० भन्दा बढी देशको सहभागिता रहने छ। 

अन्य देशबाट सहरी विकाससँग सम्बन्धित मन्त्रीहरू सहभागी हुने छन् भने नेपालबाट उपप्रधानमन्त्रीसमेत रहेका सिंहको उपस्थिति रहनेछ ।सहरी विकासकाबारे विश्व सम्मेलनमा उपप्रधानमन्त्री सिंहले तीन वटा सत्रलाई सम्बोधन गर्नेछन्। 

सो क्रममा उनले नेपालले वस्ति विकासका क्रममा भोगेका समस्या, जलवायु परिवर्तनका कारण  भोगिरहेको समस्या र वस्ति विकासमा नेपालले हासिल गरेको उपलब्धिबारे संसारको ध्यानाकर्षण गराउनेछन्।

नेपालमा जलवायु परिवर्तनको असर धेरै देखिएकाले भविष्यमा जलवायु परिवर्तनले पनि असर नगर्ने गरी कसरी सहरीकरण र वस्ति विकास गर्न सकिन्छ भन्ने विषयलाई उपप्रधानमन्त्री सिंहले प्रमुख एजेन्डा बनाउनेछन्।

त्यस्तै सहरीकरणका लागि चुनौती बनिरहेको खानेपानी, सरसफाइ र सहरी पूर्वाधारको व्यवस्थापनको विषयलाई पनि नेपालले प्राथमिकताका साथ उठाउने तयारी गरेको छ।

नोभेम्बर ४ देखि ८ तारिखसम्म कायरोमा वर्ल्ड अर्बान फोरमको कार्यक्रम हुँदैछ  । वर्ल्ड अर्बान फोरम सहरी विकासको क्षेत्रमा  महत्त्वपूर्ण मानिन्छ।उपप्रधानमन्त्री सिंहसँगै पत्नी सिर्जना सिंह, सहरी विकास मन्त्रालयका अधिकारी भ्रमण टोलीमा सहभागी छन्।  सिंह नेतृत्वको टोली आगामी शनिबार स्वदेश फर्किने छ।

प्रकाशित: १८ कार्तिक २०८१ ०८:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App