५ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

स्थानीय विवादले पर्यटन विकासमा बाधा, गाँठो फुकाउँदै लुम्बिनी सरकार

घोराहीस्थित धार्मिक महत्त्व बोकेको बाह्रकुने दहको विकासका लागि अनुगमनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, सिचाई मन्त्री सीता चौधरी।

दाङको प्रशिद्ध धार्मिक स्थलका रुपमा रहेको पर्यटकीय गन्तव्यका रुपमा रहेको बाह्रकुने दहको विकास गर्नका लागि ४ वर्ष अघि लुम्बिनी प्रदेश सरकारले ६ करोड ६ लाख रुपैयाँ बजेट विनियोजन गर्यो। दहमा रहेको ताललाई ठूलो बनाउने, जैविक पार्क निर्माण गर्ने तथा मन्दिर निर्माणका लागि विनियोजन भएको रकमले स्थानीयहरुको असहमतीका कारण लक्षित काम हुन सकेन। तर, दुई वर्षसम्म काम सम्पन्न गर्नेगरी चयन भएको योजनाको काम सम्पन्न गर्न पटक पटक म्याद भने थप भइरहेको छ।

बाह्रकुने दहमा पर्यटकहरुलाई आकर्षित गर्ने उदेश्यले चार वर्ष अघि छनौटमा रहेको योजनालाई निरन्तरता दिन वर्तमान प्रदेश सरकारले चासो राखेको छ। यहाँ निर्माण हुने भनिएका संरचनाहरुको निर्माणमा भइरहेको ढिलाईबारे लुम्बिनी प्रदेशका मुख्यमन्त्री, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, सिचाई मन्त्री सीता चौधरीले जानकारी लिन स्थलगत अनुगमन समेत गरेका छन्।

मंगलबार दह परिसरको स्थलगत अनुगमन गर्दै विवाद नहुने ढंगबाट काम गर्न उनीहरुले सम्बन्धित पक्षलाई निर्देशन दिएका छन्। ‘प्रदेश सरकारबाट छनौटमा परेको यो योजनाको काम स्थानीयहरुको बिमतीका कारण ढिलाई बन्दै आएको अवस्था रहेछ,’ उद्योग, पर्यटन तथा यातायात मन्त्री न्यौपानले भने,‘जिल्लामा पर्यटकहरु भित्र्याउन सकिने बाह्रकुने दहको विकासका लागि कसरी काम गर्न सकिन्छ ? कसरी चार बर्ष अघि बनेको योजना अनुसार काम गर्न सकिन्छ ? भन्ने विषयमा छलफलका लागि मुख्यमन्त्री ज्यूलाई समेत स्थलगत अनुगमन गराएर समस्याको निकासका लागि पहल गरेका हौँ, स्थलगत अध्ययन र छलफलबाट यो कामलाई गती दिने र यो वर्ष भित्रै योजना निर्मााणको काम सम्पन्न गर्ने सहमति भएको छ।’

मन्त्री न्यौपानेका अनुसार चार वर्ष अघि बनेको योजना अनुसार दह परिसरमा तालको आकार फैलाउने भन्ने थियो। तर, दहको आकार बदलिँदा बाह्रकुनेको ऐतिहाँसिक महत्व नासिने भन्दै स्थानीयले विरोध गर्दै आएका थिए। यहि विरोधका कारण चार वर्ष अघिको डिपिआर अनुसार काम नहुने भएकाले काममा विलम्ब हुँदै आएको थियो। तर, वर्तमान सरकारले दह परिसरमा रहेको तालको आकार नफेरिने गरी बाँकी कामहरु गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ। त्यसका लागि कानुनी बाटो सहज बनाउने काम सरकारले गर्ने भएको छ। ‘यहाँ स्थानीय स्तरमा विवाद नहुने गरि तपाईहरुले काम अगाडी बढाउनुस्,’ मुख्यमन्त्री आचार्यले भने ‘काम गर्दा आइ पर्ने कानुनी जटिलतालाई सरकारले फुकुवा गर्छ।’ प्रदेशको समृद्धिको प्रमुख आधार भनेकै पर्यटन रहेकाले पर्यटन क्षेत्रको विकासमा कसैले पनि बिलम्ब गर्न नहुने उनको भनाइ थियो।

निर्माण पक्षले पनि दह परिसरको विकासका लागि बनेको गुरुयोजना अन्तर्गत यसै बर्ष भित्रै काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।

उद्योग, पर्यटन तथा यातायात मन्त्री न्यौपानेका अनुसार अब यो पर्यटकीय स्थलमा पार्क, मन्दिर संगै ड्याम निर्माणको काम हुने छ। डुंगा सञ्चालन गर्ने गरि ड्याम निर्माण हुने छ भने जंगली जनावर अवलोक गर्न सकिने गरि पार्क निर्माणको काम यसै वर्ष सम्पन्न गरिने छ।

घोराही १३ मा रहेको बाह्रकुने दह  दाङको प्रमुख धार्मिक गन्तव्य मध्यको एक हो। जिल्लाको प्रमुख पिकनीक थलो संगै धार्मिक महत्व बोकेको यो स्थलमा आन्तरिक पर्यटकहरुको भिड रहने गर्दछ। यहाँ माघमा ठूलो मेला समेत लाग्ने गर्दछ। आन्तरिकसँगै बाह्य पर्यटकलाई समेत भित्र्याउन सकिनेगरी यो दह क्षेत्रको विकासका लागि प्रदेश सरकारले योजना बनाएको हो।

प्रकाशित: १३ कार्तिक २०८१ १२:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App