रौतहटको गढीमाई नगरपालिका-४ संगामपुरमा लाग्ने पञ्चवर्षीय गढीमाई मेलामा भारतीय सिनेमाका सुपरस्टार खेसारीलाल यादव आउने भएका छन्।
गढीमाई नगरपालिकाका नगर प्रमुख तथा पञ्चवर्षीय गढीमाई मेला सेवा समिति २०८१ का अध्यक्ष श्यामप्रसाद यादवले नगरपालिकामा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मेलामा उनीसँगै करिब दश लाख श्रद्धालु आउने विश्वास व्यक्त गरे।
मेला मङ्सिर १७ देखि २६ गतेसम्म चल्नेछ। मङ्सिर २० का दिन भोजपुरी सिनेमाका चर्चित भारतीय कलाकार तथा गायक खेसारीलाल यादव आउने भएपछि अत्यधिक भिडभाड हुने आयोजकले विश्वास लिएको छ।
नगर प्रमुख यादवले यस अघि १२औं पञ्चवर्षीय मेलामा साढे ३ लाख श्रद्धालु दर्शकले मेलाको अवलोकन गरेको तथा साढे सात सय राँगा बलिको लागि आएको उल्लेख गरे।
यस वर्ष २३ गते राँगाको बली र २४ र २५ गते बोका तथा परेवाको बलिको तिथि निर्धारण गरिएको नगर प्रमुख यादवको भनाइ छ।
नगरपालिकाको मुख्य व्यवस्थापनमा मेलामा आउने श्रद्धालुको लागि १७ गतेदेखि नै खाना, पानी तथा शौचालयको व्यवस्था गरिएको नगर प्रमुख यादवले जनाए।
दर्शकहरूको रुचि अनुसार सबै किसिमको मनोरञ्जनको व्यवस्था गरिएको छ।स्थानीयको मागअनुसार परम्परागत आल्हाउदलको नाच, टिकटक स्टारका साथै हिन्दी र भोजपुरी गीतमा नृत्य गर्ने सम्मको मनोरञ्जनको व्यवस्था मिलाइएको छ।
गढीमाई नगरपालिकाको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक पर्यटनमा मेलाले ठुलो योगदान दिने विश्वास स्थानीयवासीको रहेको मेला समिति तथा नगर प्रवक्ता दीपेन्द्र श्रेष्ठले बताए।
प्रकाशित: ५ मंसिर २०८१ १९:१७ बुधबार