प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुने बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशनको ३५औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
भारतलगायतका देशमा पनि सोही व्यवस्था रहेको उल्लेख गर्दै उनले भने, "संविधान संशोधन किन भनिरहेका छन् । यसमा एउटा कुरा भनिहालौँ । जस्तो उपराष्ट्रपतिको जस्तो भारतमा व्यवस्था छ, त्यस्तै उपराष्ट्रपति ल्याएर राष्ट्रिय सभाको अध्यक्ष बनाउने खास हाम्रो सल्लाह भएर नै संविधान संशोधन गर्न लागिएको हो ।"
उनले संविधान संशोधन प्रजातन्त्रको खिलाफ नहुने जिकिर गरे । "प्रजातन्त्रलाई कमजोर बनाउने कुरामा म आफैँ मान्दिनँ । धेरै लडेको मान्छे हो, प्रजातन्त्रको लागि, जेल परेको मान्छे हो । प्रधानमन्त्री केपी शर्मा ओली पनि प्रजातन्त्रको लागि लडेको मान्छे हो ।"
गत असार १७ गते मध्यरातमा संसद्का दुई ठूला दलहरू कांग्रेस र एमालेबीच सरकार गठनको समझदारी हुँदा मुख्य मुद्दा संविधान संशोधन थियो । तर, पछिल्लो समय भने यसमाथिको बहस हराउँदै गएको थियो । यहीबेला देउवाले उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुने बताएका हुन् ।
प्रकाशित: ५ मंसिर २०८१ २०:२८ बुधबार