५ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

चीनसँगका विगतका सम्झौताहरू कार्यान्वयन हुनुपर्छ: गगन थापा

.

.

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चीनसँग विगतमा गरिएका सम्झौताहरू कार्यान्वयन गर्नुपर्नेसँगै बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) सम्झौताप्रति कांग्रेसको स्पष्ट धारणा सार्वजनिक गरेका छन्। 

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले चीनसँग सहमति भएका अनुदान सहायता तथा अन्य सम्झौताहरू पूर्ण कार्यान्वयनमा ल्याएपछि मात्रै बीआरआई योजना अगाडि बढाउनुपर्ने अडान रहेको बताए।

उनले नेपाली कांग्रेसको यो धारणा नेकपा एमालेसँग फरक रहे पनि मतभेदलाई व्यवस्थापन गर्दै अघि बढ्न सक्ने विश्वास व्यक्त गरे।

महामन्त्री थापाले भने, ‘हामी चीनसँग बीआरआई कार्यान्वयनको चर्चा गरिरहेका छौँ। तर, यसअघि भएका सहमति तथा सम्झौताहरू पूरा नगरी नयाँ विषयमा अघि बढ्न सकिँदैन। राष्ट्रिय हितलाई केन्द्रमा राख्दै अनुदान सहायता तथा विकास योजनामा प्राथमिकता दिनुपर्छ।’

उनले चीनसँगका परियोजनाहरू कार्यान्वयन गर्ने क्रममा पार्टीहरूबीच मतभिन्नता देखिए पनि साझा धारणा बनाउन सक्ने क्षमता दलहरूसँग रहेको बताए। उनले भने, ‘संविधान बनाउने क्षमतासहितका हामीले यी विषयहरूलाई पनि साझा दृष्टिकोणबाट समाधान गर्न सक्छौं।’

महामन्त्री थापाले नेपालको स्वतन्त्रता, सार्वभौमिकता र अभिभाज्यतालाई नेपाली कांग्रेसले सधैं अडिग रूपमा समर्थन गरेको बताए। उनले भने, ‘हामी कुनै पनि देशको सैन्य गठबन्धनमा जाने पक्षमा छैनौं। हाम्रो प्राथमिकता आर्थिक विकास, स्रोतसाधन परिचालन, र अनुदानमार्फत राष्ट्रिय आकांक्षाहरू पूरा गर्नु हो।’ 

बीआरआईसहित चीनसँगका ठूला परियोजनाहरू अघि बढाउने क्रममा उनले दलहरूबीच सहकार्य र सामूहिक धारणा निर्माण गर्ने बताए। उनले भने, ‘हामीले पुराना सम्झौता कार्यान्वयनपछि मात्र नयाँ योजनाबारे छलफल गर्नुपर्छ। यसबारे एमालेसँग छलफल गर्दै साझा धारणा बनाउन हामी तयार छौं।’

महामन्त्री थापाले कांग्रेसको नीति स्पष्ट पार्दै भने, ‘हामी सबै देशसँग समान सम्बन्ध राख्न चाहन्छौं। नेपालमा विदेशी लगानी ल्याउन चाहन्छौं, तर यो हाम्रो राष्ट्रिय क्षमतासँग मेल खाने हुनुपर्छ।’

महामन्त्री थापाले चीनसँगको साझेदारीलाई व्यवस्थित गर्दै साझा सहमति निर्माणका लागि एमालेसँग सहकार्यको प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: ५ मंसिर २०८१ १९:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App