राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष डीपी अर्यालले सहकारीमा फसेको सर्वसाधारणको बचत फिर्ता गर्ने कामको जिम्मा पाए ९० दिनमै फिर्ता गराइदिने दावी गरेका छन्।
नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरले मंगलबार पत्रकारहरुसँंग गरेको समसामयिक विषयको अन्तक्रियामा उनले पहिलेदेखि भन्दै आएको र अहिले पनि भनिरहेको सहकारी बचतकर्ताको रकम फिर्ता गराउने कामको जिम्मा पाए ९० दिनमा बचत फिर्ता गराउने बताए।
आफू पार्टीमा आवद्ध हुनुअघि राजनीतिमा सक्रिय नरहेको बरु व्यवसायमा आफ्नो ढंगले देशको लागि काम गर्दै आएको भन्दै उनले सहकारीमा जनताको बचत फिर्ता गराउन सक्ने प्रस्तावसहितको प्रतिवेदन ६ महिना अघि नै पार्टीले सरकारलाई बुझाइसकेको बताए।
उनले सहकारीको नाममा सरकारले विपक्षी दलहरुलाई सकाउने दुस्साहस मात्रै गरेको आरोपसमेत लगाए।
‘अहिलेको सरकार पार्टीको सरकार मात्रै भयो’, उनले थपे, ‘जनताको सरकार हुन सकेन।’
अहिलेको सरकार आफ्ना पार्टीका मानिसहरुलाई जोगाउने अनि विपक्षी पार्टीका मान्छेहरुलाई फसाउनमा मात्रै केन्द्रित भएको उनले आरोप लगाए।
उनले राजनीतिक प्रतिशोध साध्नकै लागि अहिलेको सरकार पार्टी सभापति रवि लामिछानेमाथि सुनियोजित ढंगले लागेको पनि बताए।
प्रकाशित: १३ कार्तिक २०८१ १०:५९ मंगलबार