१० कार्तिक २०८१ शनिबार
image/svg+xml
राजनीति

सत्ताच्युतको १०० दिन लगत्तै सडकमा माओवादी

‘सरकार ढाल्न होइन, गणतन्त्रको रक्षार्थ खबरदारी’

<br>

दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएपछि सत्ताबाट बाहिरिएको १०० दिन कटेलगत्तै नेकपा माओवादी केन्द्र सडकमा उत्रिएको छ।

सडक मोर्चामा शीर्ष नेता नै उत्रिएका छन्। माओवादी केन्द्रले सरकारविरुद्ध शनिबार काठमाडौंको भृकुटीमण्डपमा ‘खबरदारी सभा’ गर्दा पार्टी अध्यक्ष तथा पूर्ववर्ती प्रधानमन्त्री पुष्पकमल दाहाल नै सडकमा ओर्लिए। सभा अघि सडकमा निकालिएको र्‍यालीमा समेत अध्यक्ष दाहाल सहभागि रहे।

अध्यक्ष दाहाल माओवादी केन्द्रको आन्दोलित ब्यानर बोकेर संघीय राजधानीमा १५ वर्षपछि सडकमा ओर्लिएका हुन्। यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दा माओवादी केन्द्र अस्तित्वमा थिएन्। नेकपा एमालेसँग एकीकरण गरेर बनेको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्रोही खेमाको नेतृत्व गर्दै दाहाल सडकमा ओर्लिएका थिए।

त्यसअघि २०६६ सालमा तत्कालीन एमाले अध्यक्ष माधवकुमार नेतृत्वको सरकार हुँदा हालको माओवादी केन्द्र एकीकृत माओवादीका नाममा राजधानीका सडकमा उत्रिएको थियो।

सडकबाट सरकार फ्याँक्ने उद्घोषसहित उत्रिएको तत्कालीन माओवादी राजधानीवासीको साथ नपाएर ६ दिनमै घुँडा टेकेको थियो। उतिबेला अध्यक्ष दाहालले ‘सहरका सुकिला मुकिलाले साथ नदिएको’ भन्दै आक्रोश पोखेका थिए। २०६४ को माओवादीको ‘प्रचण्ड शक्ति’ त्यही आन्दोलनबाट स्खलित हुन थालेको विश्लेषण गर्नेहरू पनि छन्।

शान्ति प्रक्रियापछि भएको पहिलो संविधानसभा निर्वाचन २०६४ यता १३ वटा (२०७८ मा ओली नेतृत्वको ६० दिनको अल्पमतको सरकारबाहेक) सरकार बनेका छन्। जसमध्ये नौ वटा सरकारमा माओवादी आफै सामेल थियो।

०६४ पछि तत्कालीन एमाले अध्यक्ष नेपाल, २०६९ मा बनेको खिलाराज रेग्मी, ०७० को अर्को संविधानसभा निर्वाचनपछि बनेको सुशील कोइराला र वर्तमान सरकारबाहेक सबैजसो सरकारमा माओवादी केन्द्र सामेल छ।

यी १६ वर्षमा झण्डै ११ वर्ष भन्दा बढी समय माओवादी केन्द्र सरकारमा छ। चारवटा सरकारको आफै नेतृत्व गरेको छ। जसमध्ये तीनवटा सरकारको नेतृत्व अध्यक्ष दाहाल आफैले गरेका छन् भने एउटामा डा. बाबुराम भट्टराईले नेतृत्व गरेका थिए।

विपक्षमा पुग्दा विद्रोही स्वर

जनमत खस्कदै जाँदा शक्ति घट्दै गएपनि माओवादी केन्द्र अधिकांश समय सत्तामा छ। तर, जबजब सत्ताबाट बाहिरिन्छ तब उसले विद्रोही स्वर देखाउँदै आएको छ। कतिपय अवस्थामा आफू सत्तामै हुँदा पनि माओवादीले आफ्ना कार्यकर्ता सडकमा उतार्ने गरेको इतिहास पनि छ।

०६६ सालमा तत्कालीन प्रधान सेनापति रुक्मांगत कटवाललाई हटाउन खोज्दा नसकेपछि दाहालले प्रधानमन्त्रीबाट राजीनामा दिएर कार्यकर्तालाई सडकमा उतारेका थिए। सँगै त्यसपछि बनेको माधव नेपाल नेतृत्वको सरकारविरुद्ध सडक र सदनमा मोर्चा खोलेर आन्दोलन गरेका थिए।

०६९ मा तत्कालीन प्रधानन्यायाधीश रेग्मी अध्यक्षताको सरकारका बेला भने माओवादीले विभिन्न मुद्दामा चर्को विद्रोही स्वर फलाँके पनि सडक आन्दोलन नै भने गरेन।

तर २०७० को संविधान सभा निर्वाचनमा अप्रत्याशीत नतिजा आउँदा भने अध्यक्ष दाहाललाई स्वीकार गर्न हम्मेहम्मे परेको थियो। केही ठाउँमा माओवादीले निर्वाचनमा धाँधली गरेर हराएको आरोप लगाउँदै प्रदर्शन समेत गरेको थियो।

त्यसपछि बनेको कांग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकारका बेला संविधान निर्माणका क्रममा केही मत बाझेका विषयमा बाहेक ठुलै आन्दोलन माओवादीले गरेन्। अध्यक्ष दाहालले सत्तापक्षसँग समझदारीमै संविधान जारी गर्ने भूमिका खेलेका थिए।  

संविधान निर्माणपछि भने सरकार फेरबदल गर्दा दाहाल जहिल्यै चर्को सुनिए। यो अवधिमा माओवादी र अध्यक्ष दाहाल सरकार बनाउने र गिराउने प्रमुख पात्र नै बनिरहे।

२०७४ को निर्वाचनपछि नेकपाकालमा प्रधानमन्त्री ओलीविरुद्ध पार्टीभित्रै चरम दबाब सिर्जना गर्दा ओलीले दुई पटक असंवैधानिक संसद् विघटन गरे। त्यसविरुद्ध नेकपाकै ब्यानरमा दाहाल माधवकुमार नेपालसहित सडकमा उत्रिएका थिए।

त्यसपछि माओवादी केन्द्र विपक्षमा पुगेको यसै पटक हो। ०७९ को निर्वाचनपछि कहिले कांग्रेस कहिले एमालेको काँध फेर्दै एक वर्ष ३०३ दिन सरकार चलाएका दाहालले नै पत्याउन नसक्ने गरी असार १७ गते कांग्रेस–एमालेले सात बुँदे सहमति गरे।

त्यसपछि बनेको ओली सरकारलाई दाहालले अलोकतान्त्रिक र असंवैधानिक बाटोबाट बनेको सरकार विश्लेषण गरिरहेका छन्। यो सरकारले देशलाई निरंकुशतातिर लैजान खोजेको भन्दै सुरुदेखि नै आरोप लगाउँदै आएका छन्।

आफूले भ्रष्टाचारीविरुद्ध कारबाही गर्दा सरकार ढालेको उनको अर्को आरोप छ। प्रधानमन्त्री ओलीले संविधान नै मासेर देशलाई प्रतिगमनतिर लैजान खोजेको भन्दै दाहाल चर्को स्वरमा भन्दै आएका छन्। माओवादी केन्द्रको यसपटकको खबरदारी सभामा पनि यीनै आरोप वरीपरी वकालत गरेर टुंगिएको छ।

‘सरकार ढाल्न होइन, गणतन्त्र रक्षार्थ खबरदारी’

खबरदारी सभामा दाहालले सरकार हटाउन नभई गणतन्त्रको रक्षाका लागि खबरदारी सभा गरिएको अध्यक्ष दाहालले दाबी गरे।

‘अहिले सरकार हटाउनका लागि यो खबरदारी सभा गरिएको होइन,’ दाहालले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति हामी के जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने कुरा हामीलाई गहिरोगरी बोध छ।’

गणतन्त्र र संविधान माओवादी केन्द्रको त्याग र बलिदानको जगमा आएको दाबी गर्दै उनले कहीकतैबाट आघात नपुगोस भनेर खबरदारी सभा गरेको बताए।

‘हामीले खबरदारी सभा नगर्ने हो, सरकारका बेथिति र भ्रष्टाचारी गतिविधिको विरोध नगर्ने हो भने संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा पर्छ,’ दाहालले भने।

खबरदारी सभा घोषणा गर्दा सरकार आतंकित भएको दाहालले दाबी गरे। उनले भने, ‘सरकार आजै ढल्छ, भोली ढल्छ हामीले भनेका छैनौं। उहाँहरुले भन्नुभएको छ। खबरदार तपाईंहरू सरकार ढल्छ भन्ने डरले अझ बढी बेथितितिर नजानु होला।’

माओवादीले अहिले नै सडकबाट सरकार फेर्न हतारो गरेको भन्ने भ्रम नपाल्न उनले आग्रह गरे।

यस्तै, आफूले कांग्रेस–एमालेसँग साझेदारी गरेर गल्ती गरेको समीक्षा गरेको दाहालले दाबी गरे। ‘हामीले के समिक्षा गरेका छौं भने तपाईंहरूजस्ता पार्टीहरु जो यो देशका दलाल, पुँजीपति र विचौलिया, भ्रष्टहरुको प्रतिनिधिको रुपमा रहनुभएको छ। हामीले केही समय तपाईंहरुसँग सहकार्य गरेर गल्ती गर्‍यौं भन्ने परेको छ हामीलाई,’ उनले भने, ‘तपाईंहरुको रोग हामीलाई पनि सर्‍यो भन्ने चिन्ता छ। हामी गम्भिर आत्मासमिक्षामा छौं।’ अब समिकरण गराैं, हामीलाई मन्त्री बनाइदिनुस, प्रधानमन्त्री बनाइदिनुस भनेर कांग्रेस–एमालेकहाँ नजाने उनले दाबी गरे।

‘हामी प्रतिक्रियावादीहरुसँग हिँडदाहिँडदा उस्तै हुने हो कि भन्ने खतरा पैदा भएको थियो। तपाईंहरुले हामीलाई बेलैमा निकाल्न दिनुभयो। र जनतातिर फर्काई दिनु भयो। त्यसकारण हामी तपाईंहरुलाई धन्यवाद भनिराखेका छौं,’ दाहालले अगाडि भने।  

दाहालले आफ्नो भाषणका क्रममा हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई बचाउन खबरदारी सभा नगरेको दाबी गरे। पहिला संसद्‌मा सहकारी ठगीको विषय उठ्दा आफूले नै संसदीय छानबिन समिति बनेपनि हुन्छ भन्दा प्रधानमन्त्री ओलीले हुन्न भनेको स्मरण गराए।

व्यवसायी मीनबहादुरु गुरुङको भाटभटेनी सुपरमार्केटमा आफ्नो लगानी नभएको कुरा क्लियर भएको पनि दाहालले दाबी गरे। ‘मलाई एउटा आरोप थियो, आरोप त धेरै लगाउने गरेका थिए प्रतिक्रियावादीले। यो भाटभाटेनी भन्ने प्रचण्डको हो भनेर दुईचारवर्ष देखि,’ अध्यक्ष दाहालले भने, ‘म होइन भन्छु, पत्याउने कसैले होइन, प्रचण्डकै हो भनेर हिँड्याछन् मान्छेहरू। अब हाम्रो नेतृत्वको सरकारले गिरफ्तार गर्दा पनि प्रचण्डकै हो भन्या थे उनीहरू। म हैरान थिए, यो के गरी क्लियर गर्ने ? भनेर।’ अहिले प्रधानमन्त्री ओलीले क्लियर गर्दिएको अध्यक्ष दाहालले बताए।

यस्तै पछिल्लो समय आफूले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेको भन्ने हल्लामा सत्यता नभएको पनि दाहालले प्रस्टीकरण दिए। उनले राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रसँग भेटेपछि पूर्व राजा भेटेको हल्ला चलेको बताउँदै भने, ‘मैले रवीन्द्रजीलाई के भेटेको थिएँ मैले ज्ञानेन्द्र शाहलाई भेट्यो भन्ने स्यालहुँइया छ।’ यस्ता भ्रामक झुठा, बेइमानीपूर्ण प्रचार गर्नेप्रति खेद प्रकट गरे।

खबरदारी सभामा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ आफूहरू सरकारमा हुँदा भ्रष्टाचारीको निद हराम भएको दाबी गरे।

‘कमरेड प्रचण्डको नेतृत्वमा पछिल्लो सरकार गठन भएपछि पहिलो दिन नै प्रधानमन्त्रीको हैसियतमा मन्त्रिपरिषद्को बैठक बसेर  घोषणा गर्नु भो हाम्रो सरकारको मूल नीति सुशासन, समृद्धि र समाजिक न्याय,’ उनले भने, ‘हामीले भ्रष्टाचार, ठगी र देशलाई लुट्नेका विरुद्ध ठुलो अभियान सुरु गरेका थियौं।’

देशमा राणाशासनको अन्त्य पछि माओवादी सरकारले नै सबैभन्दा राम्रो काम गरेको श्रेष्ठले दाबी गरे। ‘त्यतिखेर प्रधानमन्त्री र यो गृहमन्त्री यो रहँदासम्म सुत्न नपाइने भो बा। निद हराम गर्दियो। भ्रष्टाचारी ठगले त्यसो भन्थे। हामीले भनेका थियौं जनताले सुखका साथ सुत्ने दिन आए,’ श्रेष्ठले भने।

सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: १० कार्तिक २०८१ २१:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App