१० कार्तिक २०८१ शनिबार
image/svg+xml
राजनीति

बाबुरामको आत्मालोचना: नयाँ शक्ति निर्माणमा बाटो बिरायौँ, पुनः पार्टीमा फर्कन आह्वान

‘सच्चा वैकल्पिक शक्ति’ निर्माण गर्ने उद्घोष

नेपाल समाजवादी पार्टी(नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले विगतमा नयाँ शक्ति निर्माण गर्ने क्रममा बाटो बिराएको स्वीकार गर्दै अग्रगामी शक्ति निर्माणमा जुट्न आह्वान गरेका छन् । 

नेसपाको हालै पोखरामा सम्पन्न प्रथम विधान अधिवेशनले नयाँ शक्ति अभियान निर्माणमा स्थापना कालदेखि नै जोडिएका सबैलाई पुनः पार्टीमा एकताबद्ध भएर ‘सच्चा वैकल्पिक शक्ति’ निर्माणमा जुट्न आह्वान गरेको अध्यक्ष भट्टराईले उल्लेख गरेका छन् । 

‘नेसपा (नयाँ शक्ति) को हालै पोखरामा उल्लासका साथ सम्पन्न प्रथम विधान अधिवेशनले नयाँ शक्ति अभियानको स्थापनाकालदेखिका सबै साथीहरूलाई पुनः पार्टीमा एकताबद्ध भएर देशमा सच्चा अग्रगामी वैकल्पिक शक्तिको निर्माण गर्न आह्वान गरेको छ,’ भट्टराई शनिवार सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

पछिल्ला घटनाक्रमले देशलाई राजनीतिक अस्थिरता, भ्रष्टाचार, अल्प विकास, बेरोजगारी, जातीय, क्षेत्रीय, लैङ्गिक विभेद, परनिर्भरता, वैदेशिक हस्तक्षेप लगायतको दुष्चक्रबाट मुक्त गरेर छिटो समुन्नत र समतामूलक नयाँ नेपाल निर्माण गर्न स्पष्ट अग्रगामी विचार, नीति, कार्यक्रम, नेतृत्व सहितको वैकल्पिक राजनीतिक शक्तिको अपरिहार्यता रहेको थप पुष्टि गरेको भट्टराईले उल्लेख गरेका छन्।

‘यात्रा गर्दा बाटो बिराएमा–हराएमा जहाँबाट विराएको हो त्यहीँ फर्कनू भन्ने लोकोक्ति छ,’ भट्टराईले अगाडि लेखेका छन्, ‘हामीले पनि जानेर-नजानेर नयाँ शक्ति निर्माण गर्ने क्रममा बाटो बिरायौँ। म आफ्नो हिस्समा पर्ने गल्ती-कमजोरीप्रति आत्मालोचना हुँदै कसैप्रति कुनै आग्रह पूर्वाग्रह नराखी सबै साथीहरूलाई यो  महाभियनामा एकताबद्ध हुन हार्दिक अनुरोध गर्दछु।’

भट्टराईले नयाँ शक्ति स्थापनाकालीन प्रतिबद्धताहरू र ‘लुम्बिनी संकल्प’ एक्समा राखेर पुनः एकपटक स्मरण गर्न आग्रह गरेका छन् । 

प्रकाशित: १० कार्तिक २०८१ १३:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App