३ कार्तिक २०८१ शनिबार
image/svg+xml
राजनीति

स्थानीय तहले सङ्कलन गरेको करको अधिकतम हिस्सा उपयोग गर्न पाउनुपर्छ : उपसभामुख रानामगर

उपसभामुख इन्दिरा रानामगरले स्थानीय सरकारले सङ्कलन गरेको करको अधिकतम हिस्सा स्थानीय तहले नै उपभोग गर्न पाउनुपर्ने बताएकी छिन्।

शुक्रबार सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा भएको पाँचपोखरी महिला ट्रेल रेस प्रतियोगिताको समापन कार्यक्रममा उनले स्थानीय सरकारले आफ्नो क्षेत्राधिकारभित्र रहेको प्राकृतिक स्रोतसाधनको उपभोग र सोबाट सङ्कलन गरेको करको अधिकतम हिस्सा स्थानीयस्तरमै विकास निर्माणलगायत नागरिकको जीवनस्तर उकास्न प्रयोग गर्न पाउनुपर्ने धारणा राखेकी हुन।

उपसभामुख रानामगरले ग्रामीण क्षेत्रमा किसानले उत्पादन गर्ने तरकारी, अन्नबालीलगायत खाद्यान्नलाई स्थानीय सरकारको समन्वयमा बजारीकरण गर्नसके किसानले आफ्नो पसिनाको मूल्य र आमउपभोक्ताले पनि स्वस्थ्यकर खाने कुरा  उपभोग गर्न पाउने हुँदा स्थानीय तहले अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने सुझाव दिइन।

पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामाले पर्यटकीयस्थल पाँचपोखरीलाई खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यमा प्रतियोगिता महत्वपूर्ण रहेको बताए। उनले प्रतियोगितामार्फत पाँचपोखरीको परिचय देश विदेशमा प्रख्यात हुँदै गएको र अब पर्यटकको आवागमनमा वृद्धि भई स्थानीयको जीवनस्तरमा टेवा पुग्दै जाने विश्वास व्यक्त गरे।

प्रतियोगितामा चार हजार एक सय मिटर उचाइको पाँचपोखरीदेखि एक हजार सात मिटर उचाइमा रहेको रैथाने पोखरीसम्मको २८ किलोमिटर दौडको उपाधि खोटाङकी निर्मला राईले जितेकी छिन । ५० जना महिला सहभागी २८ किलोमिटर लामो उक्त दौड उनले दुई घण्टा २८ मिनेट २९ सेकेण्डमा पूरा गरेकी हुन।

यस्तै दुई घण्टा ४९ मिनेटमा दौड पार गर्दै नेपाल पुलिस क्लबमा आबद्ध ओखलढुङ्गाकी लाक्पा निङ्मा शेर्पा दोस्रो र दुई घण्टा ५८ मिनेटमा दूरी पार गर्दै सिन्धुपाल्चोक हेलम्बू गाउँपालिकाकी नितु तामाङ तेस्रो भइन। मेलम्ची नगरपालिका–८ कि अस्मिता भुजेलले तीन घण्टा ११ मिनेटमा दौड पूरा गर्दै चौथो र रोल्पाकी आस्मा विकले तीन घण्टा १८ मिनेटमा दौड पूरा गरी पाँचौ  हुन सफल भए।

यसअघि सोही रुटमा सम्पन्न पाँचपोखरी हाफ म्याराथन प्रतियोगिताको महिलातर्फ धादिङकी रसिला तामाङले दुई घण्टा ४४ मिनेट ४३ सेकेण्डमा उक्त दूरी पार गरेकी थिइन । शुक्रबार सम्पन्न प्रतियोगितामा प्रथम राईले उक्त रेकर्ड तोडेका हुन।प्रतियोगिताका विजेताले क्रमशः ५० हजार, २५ हजार, १५ हजार, १० हजार र पाँच हजार नगद पुरस्कार प्राप्त गरेका छन्।

महिलाको क्षमता विकाससँगै आत्मनिर्भरतामा जोड दिनका लागि ट्रेल रेस प्रतियोगिता आयोजना गरिएको आयोजक विश्व समावेशी साहसी संस्थाका  संस्थापक अध्यक्ष माया गुरुङले बताए। उनले प्रतियोगितालाई आगामी वर्षहरूमा थप स्तरवृद्धि गर्दै निरन्तरता दिइने जानकारी दिए।

प्रकाशित: २ कार्तिक २०८१ २१:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App