८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

सरकार र दलविरुद्ध जनतामा भ्रम फैलाइँदै छः सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार र राजनीतिक दलप्रति नागरिकमा भ्रम फैलाउने काम भइरहेको बताएका छन्।

मंगलबार पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन पर्सा पुगेका बेला सिमरा विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै सभापति देउवाले यस्तो बताएका हुन्।

सरकार र राजनीतिक दलप्रति नागरिक स्तरमा आक्रोश नरहेको दाबी गर्दै सभापति देउवाले केही तत्त्वले नागरिकहरूमा भ्रम फैलाउने कार्य गरिरहेको बताए।

सरकारको नेतृत्वमा पुगेका केही राजनीतिक दलका नेताहरू गैर कानुनी कार्य गरेको आरोपमा पक्राउ परेकामा सबै राजनीतिक दलहरू नै खराब हुन भन्ने भाष्य फैलाउने काम भइरहेको देउवाको आरोप छ। ‘यस्तो भ्रममा नलाग्न म सबैसँग आग्रह गर्छु,’ देउवाले भने।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा विरुद्धमा सार्वजनिक कार्यक्रममा नाराबाजी गर्ने कार्य पनि उत्छृंखल तत्त्वले गरेको देउवाको आरोप छ। 

सभापति देउवालाई स्वागत गर्न सहमहामन्त्री द्वय फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, केन्द्रीय सदस्य रमेश रिजाल, निरु रायमाझी, मधेस प्रदेशका सभापति कृष्ण यादव, उपसभापति चन्द्रशेखर यादवलगायतका नेता कार्यकर्ता विमानस्थल पुगेका थिए। 

सभापति देउवा मंगलबार र बुधबार गरी दुई दिनसम्म पर्साका विभिन्न कार्यक्रममा सहभागी हुने बताइएको छ।

मंगलबार दिउँसो पटेर्वा सुगौलीमा आधारभूत अस्पतालको उद्घाटन गर्ने कार्यक्रम छ। त्यसपछि राति वीरगञ्जको लर्डस दियालो होटम बास बस्ने र त्यहीँ नेताकार्यकर्तासँग भेटघाट गर्नेछन्।

प्रकाशित: ८ आश्विन २०८१ १४:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App