४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नागरिकलाई पहिलो स्थानमा राख्दै राज्य सञ्चालन गर्न राष्ट्रपतिको अपिल

संविधान दिवस २०८१ को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकलाई पहिलो स्थानमा राख्दै राज्य सञ्चालन गर्ने संकल्प गर्न अपिल गरेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष कार्यक्रममा बोल्दै पौडेलले राज्य र राजनीतिमा नागरिकको हितलाई सर्वोच्च प्राथमिकतामा राख्नुपर्ने बताए।

राष्ट्रपति पौडेलले भने, "हामी संकल्प गरौं कि हाम्रो राज्य र राजकाजमा नागरिक पहिलो स्थानमा हुनेछन्, र राज्यको कुनै पनि स्वार्थ नागरिकको हितभन्दा माथि हुनेछैन।"

साथै, उनले लक्ष्य प्राप्त गर्न अटल आस्था, उच्च नैतिकता र साधनाको आवश्यकता रहेको उल्लेख गरे।

राष्ट्रपतिले लोकतन्त्र र सुशासनको प्रति प्रतिवद्ध रहँदै, राजनीतिको नैतिकता र निष्ठालाई उच्च स्थानमा राख्ने संकल्प गर्नुपर्ने बताए। उनले मुलुकको रूपान्तरणका लागि राजनीतिक दलहरूले संसद्मा योग्य प्रतिनिधि पठाउन जरुरी रहेको र यसले मात्र सुधार सम्भव हुने धारणा राखे।

त्यसैगरी, पौडेलले समावेशीकरण र सामाजिक न्यायलाई अघि बढाउँदै, विविध जाति, भाषा, धर्म, संस्कृति र सभ्यतालाई साझा बनाउने तेस्रो संकल्प गर्न आग्रह गरे।

राष्ट्रपति पौडेलले  भ्रातृत्व, एकता, र समभावलाई जीवनशैली बनाउँदै देशको स्वाधीनता र सार्वभौमिकतालाई कुनै पनि हालतमा झुक्न नदिने प्रतिबद्धता जनाए।

उनले सुशासन र उत्कृष्ट सेवा प्रवाहमार्फत राजनीतिक परिवर्तनलाई नागरिकको जीवनसँग जोड्नुपर्नेमा जोड दिए। "राज्यको लोकतान्त्रिक, न्यायपूर्ण र जनमुखी प्रणालीलाई अझ सुदृढ बनाउँदै, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन जरुरी छ," राष्ट्रपति पौडेलले थपे।

संविधानले मुलुकलाई लोकतन्त्र, संघीयता, र अधिकार सम्पन्न स्थानीय तह दिएकोमा गौरव गर्दै, प्राप्त उपलब्धिहरूको रक्षा गर्दै देशको समृद्धि तर्फ अघि बढ्न सबैलाई उनले आह्वान गरे।

समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो।

प्रकाशित: ३ आश्विन २०८१ १७:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App