३० आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

मेरो पहिलो काम नीति र विधि बनाउनु हो: गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि काम नीति र विधि बनाएर गर्नुपर्ने बताएका छन्। मन्त्रालयस्तरीय विकास समस्या समधान समितिको बैठकमा गृहमन्त्री लेखकले आफ्नो पहिलो काम नीति र विधि बनाउने भएको बताए।

‘कुनै पनि काम गर्न नीति र विधि चाहिन्छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ कानुन निर्माणका लागि विधेयक अर्थमन्त्रालय पठाइएको छ। अन्य निकायमा पनि नीति र विधिको समस्या छ भने म कहाँ प्रस्ताव ल्याएर आउनुहोस्। मैले अगाडि बढाउँछु। पहिलो काम नीति र विधि बनाउने नै हो,’ उनले भने।

नीति र विधि बनेपछि जनशक्ति र बजेटका राष्ट्रिय योजना आयोगसँग आग्रह गरिने उनले बताए। ‘सुरक्षाको अनुभूति दिन दक्षजनशक्ति चाहियो। त्यसका लागि बजेट चाहियो। बजेट योजना आयोगसँग माग्नुपछ,’ उनले भने।

गृहमन्त्री लेखकले गृहबाट अर्थमन्त्रालय पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विधेयकलाई चाँडो अगाडि बढाउन अर्थ मन्त्रालयका प्रतिनिधिलाई आग्रह गरे। ‘दुबै विधेयकमाथि प्रधानमन्त्रीजीको उपस्थितिमा सकारात्मक र परिणाममुखी छलफल भएको छ। यसले कुनै आर्थिक भार पर्ने छैन,’ उनले भने।

यस्तै प्रत्यक महिना राजश्व संकलनको रेकर्ड मागेको भन्दै गृहमन्त्री लेखकले राजस्व बढाउन आफूले निरन्तर जोड दिएको बताए।

बैठकमा योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीले सबै ठाउँमा स्रोतको सुनिश्चिता नहुँदै कार्यक्रम बनाउने समस्या रहेको बताए।

यस्तै गृहसचिव गोकर्णमणि दुवाडीले गृह प्रशासनको काम अंकभन्दा पनि अनुभूतिमा गराउने विषय भएको बताए। बैठकमा मन्त्रालयको आन्तरिक व्यवस्था महाशाखा प्रमुख सहसचिव गोगन हमालले आर्थिक वर्ष २०८०÷८१को वार्षिक समीक्षा प्रतिवेदन प्रस्तुत गरेका थिए। रासस

प्रकाशित: २५ भाद्र २०८१ १३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App