१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

चितवनमा सहकारी ठगका विरुद्ध लड्नुपर्ने बेला आयो: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठग विरुद्ध लड्नुपर्ने बेला आएको बताएका छन्।

नेपाली कांग्रेस, चितवनले १११ औँ विपी जयन्तीको अवसरमा सोमबार भरतपुरमा आयोजना गरेको विशेष सम्मान कार्यक्रममा बोल्दै महामन्त्री थापाले समय परिवर्तनसँगै अन्यायका विरुद्ध लड्नुपर्ने बेला भएको बताएका हुन्।

‘विपी कोइरालाहरू अन्यायका विरुद्ध तमसुक च्यातेर आन्दोलन गर्नुपर्ने अवस्था आएको थियो, अहिले चितवनमा सहकारी ठगका विरुद्ध लड्नुपर्ने अवस्था आएको छ’, महामन्त्री थापाले भने ‘समय परिवर्तनसँगै अन्याय विरुद्धको आन्दोलन पनि परिवर्तन हुन्छ।’

उनले कांग्रेस अन्याय विरुद्ध लड्ने बताए। अन्याय गर्ने मान्छे कांग्रेस भएपनि त्यसले छुट पाउनुपर्छ भन्नेमा कांग्रेस नरहेको थापाले स्पष्ट पारे।

‘कांग्रेस लामो समय सरकारमा बसेको छ। विधि उलङ्घन गरेको छ भने त्यस्ता व्यक्तिलाई छुट दिनु हुँदैन’ महामन्त्री थापाले थपे ‘अर्काले गरेको पाप हामीले गरेको ठिक, त्यो हुँदैन, सबैलाई समान हुनुपर्छ।’

कांग्रेसले उठाएका तमाम मुद्दामा जोसुकै व्यक्ति ठगी कार्यमा संलग्नता देखिएको भएता पनि त्यसका विरुद्ध लड्ने थापाले दाबी गरे। कांग्रेस सरकारमा भएको बेला सहकारी पीडितलाई मनाउनुपर्ने उनको भनाइ थियो।

चितवनमा सहकारी ठगका विरुद्ध चितवनका जनप्रतिनिधिहरूले मुख नखोलेकोमा थापाले दुखेसो गरे। ‘नेपाली कांग्रेसबाट निर्वाचित महानगरका जनप्रतिनिधिले पनि सहकारीका बारेमा अनुगमन गरेको देखिएन’, उनले भने ‘सांसद, प्रमुख, उपप्रमुख, वडा अध्यक्ष सबैले आआफ्नो ठाउँबाट डिउटी पुरा गर्नुपर्छ। वडाले गरेको कामको विषयमा प्रशंसा गर्न पाउनुपर्ने हो, त्यो देखिएन।’

चितवनमा रेलमार्गको नाममा जग्गा रोक्का लाग्न लागेको बताउँदै महामन्त्री थापाले त्यस विरुद्ध समेत लड्ने बताए। ‘रेल कहिले आउने हो। अहिले नै रेलमार्ग बन्ने नाममा घरबार रोक्का गरिदिएको छ’, उनले प्रश्न गर्दै भने ‘यो कसको मुद्दा हो? नेपाली कांग्रेसको मुद्दा हो ?।’

महामन्त्री थापाले चितवनमा पुनः पार्टीको शान फर्काउनुपर्ने बताए। ‘यहाँ कोही मादल बजाउँदै आए पनि आउन्, घण्टी बजाउँदै आए पनि आउन्, हँसिया हथौडा बजाउँदै आए पनि आउन्। तर, रुखको छहारीभन्दा ठूलो केही छैन भन्ने कुरालाई पुनर्स्थापित गर्नुपर्छ,’ उनले भने।

पछिल्लो निर्वाचनमा चितवन १ र २ मा रास्वपाले चुनाव जितेको छ। रास्वपाको चुनाव चिह्न घण्टी हो। यही सन्दर्भ जोड्दै थापाले यस्तो भाषण गरेका हुन्।

यसैबिच चितवनका सहकारी पीडितले आफ्नो बचत रकम फिर्ता गराइदिन माग गर्दै कांग्रेसका महामन्त्री थापालाई भेटेर ज्ञापन पत्र समेत बुझाएका छन्।

चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी र सनराइज बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ताले आज (सोमबार) भरतपुरमा थापालाई भेटेर ज्ञापन पत्र बुझाएका हुन्।

बीपी जयन्तीको अवसरमा चितवन कांग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी हुन आएका थापालाई ज्ञापन पत्र बुझाएको साहारा चितवन बहुउद्देश्यीय सहकारी सङ्घर्ष समितिका अध्यक्ष शालिकराम दुवाडीले जानकारी दिए।

सहकारीको आवरणमा ठगी गर्ने ठगहरूलाई कारबाही हुनुपर्छ भनेर थापाले संसद्‍मा भूमिका खेल्नु भएको भन्दै उनले न्याय नपाउँदासम्म आफूहरू निरन्तर खबरदारीमा रहने बताए।

थापाले सहकारीका नाममा ठगिएकाहरूको पक्षमा आवाजहरु उठाउँदै आएका छन्। सो अवसरमा उनले संसदीय समितिको प्रतिवेदन आएपछि कानुन बनाएर बचतकर्ताको रकम फिर्ता गराउन पहल गर्ने बताए।

प्रकाशित: २४ भाद्र २०८१ १९:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App