३१ भाद्र २०८१ सोमबार
image/svg+xml
राजनीति

दोधारा चाँदनीलाई देशकै ठूलो नाकाका रुपमा विकास गर्छौं : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठूलो नाकाका रुपमा विकास गर्ने बताएका छन । दोधारा चाँदनी नगरपालिकास्थित इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको नवनिर्मित भवनको बुधबार समुद्घाटन गर्दै मन्त्री लेखकले दोधारा चाँदनीलाई त्रिदेशीय नाकाका रुपमा विकासगरी देशको सबैभन्दा ठूलो नाकाका रुपमा परिणत गर्ने बताए ।

‘महाकाली नदीमा चार लेनको पक्की पुल बनिसकेको छ अब दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण हुन्छ’, उनले भने, ‘यो नाकालाई भारत र चीनसँग जोडेर देशकै ठूलो नाकाका रुपमा विकास गर्छौं ।’उनले निकट भविष्यमा नै दार्चुलाको तिङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारीमा रहेको बताउँदै तिङ्करबाट नै मानसरोवर यात्राका लागि सुनिश्चितता हुने बताए ।

‘उद्योग, व्यापार वाणिज्य, पर्यटन सबैका लागि महत्त्वपूर्ण नाकाका रुपमा दोधारा चाँदनीलाई विकास गर्छौं’, गृहमन्त्री लेखकले भने, ‘यो त्यसै गफ गरेको होइन, उहिलेउहिले महाकालीमा झोलुङ्गे पुल बनाउँछौँ भन्दा हाँस्ने गरेको मैले सुन्या छु अहिले महाकालीमा चार लेनको पक्की पुल बनेको छ, गरेपछि त बन्दो रहेछ त ।’ उनले दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण गर्न छिमेकी मुलुक भारत तयार रहेको बताए ।

एकैदिन प्रहरीका दुई वटा भवन उद्घाटन

गृहमन्त्री लेखकले बुधबार कञ्चनपुरमा नेपाल प्रहरीका दुई वटा भवन उद्घाटन गरेका छन् । भीमदत्त नगरपालिकास्थित नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र दोधारा चाँदनी नगरपालिकास्थित इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको भवन उद्घाटन गरेका हुन । भवन उद्घाटन समारोहमा नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरसमेत सहभागी थिए।

गृहमन्त्री लेखकले सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु रहेको बताउँदै प्रहरीको नवनिर्मित भवनबाट सेवा प्रवाहमा सहज हुने बताए । ‘अहिले प्रहरीले समिति स्रोतसाधनमा काम गर्नुपरेको छ’, गृहमन्त्री लेखकले भने, ‘नवनिर्मित भवनले सेवा प्रवाहमा सहज हुनेछ ।’

नेपाल प्रहरीका महानिरीक्षक कुँवरले सम्पूर्ण नागरिकले गुणस्तरीय सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले पूर्वाधार विकासमा जोड दिएको बताए । ‘नेपाल प्रहरीको मुख्य जिम्मेवारी अपराध अनुसन्धान भनेको सहज र सामान्य विषय होइन’, उनले भने, ‘यो प्रहरीको कार्य उपलब्ध पूर्वाधार कानुन र समाजको सहकार्यमा भर पर्दछ ।’

बाढी प्रभावित क्षेत्रको निरीक्षण

तीनदिने भ्रमणमा गृहजिल्ला पुगेका मन्त्री लेखकले कञ्चनपुरका बाढी प्रभावित क्षनेत्रको स्थलगत अवलोकन गरेका छन। मङ्गलबार कञ्चनपुरको पुनर्वास, बेलौरी र बेल्डाँडी गाउँपालिकास्थित बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका थिए । बुधबार  उनले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिकाका बाढी प्रभावित क्षेत्रकोसमेत स्थलगत अवलोकन गरे।

निरीक्षणमा विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका सहसचिव डा भीष्मकुमार भुसालसहित बाढी प्रभावित क्षेत्र पुगेका मन्त्री लेखकले महाकाली, जोगबुढा र दोदा नदीबाट हुने डुबान र कटानको निरीक्षण गरे । बाढी प्रभावित क्षेत्रका स्थानीयले नदीमा पक्की तटबन्ध निर्माणको माग गरेका थिए । गृहमन्त्री लेखकले मन्त्रालयले तीनवटै नदीमा तटबन्ध निर्माण गर्नका लागि लागत अनुमान तयार गरेर ऊर्जा मन्त्रालयमार्फत नदी नियन्त्रणको काम गर्न आफू पहल गरिरहेको बताए ।  

प्रकाशित: १९ भाद्र २०८१ २१:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App