३० भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

राजीनामापछि मनाङे भन्छन्: 'कति खाने मन्त्री, अब रेष्ट गर्छु’

गण्डकी प्रदेशका मन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङेले राजीनामा दिएका छन्। मन्त्री मनाङेले मन्त्री परिषद् पुनर्गठनप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन्।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार दिउँसो मात्र मन्त्री परिषद् पुर्नगठन गरेका थिए। उनले सत्ता साझेदार एमालेलाई ४ मन्त्रालय दिएर सरकारमा सहभागी गराएका हुन्। मुख्यमन्त्री पाण्डेले मन्त्री मनाङेले सम्हाल्दै आएको भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय एमालेलाई दिएपछि उनी असन्तुष्ट बनेका थिए।

एमाले मन्त्रीहरूको शपथग्रहण कार्यक्रममा मन्त्रीहरूको कार्य विभाजन घोषणा भएलगत्तै सोही कार्यक्रममा सहभागी मन्त्री मनाङेले असन्तुष्टि जनाएका थिए। भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय खोसेर वन तथा वातावरण मन्त्रालयमा सीमित गरेको थाहा पाएलगत्तै उनले पत्रकारहरूसमक्ष भनेका थिए,'यस्तो मन्त्रालय जुनियरहरुलाई दिने हो। म अब राजीनामा दिन्छु।’ 

त्यति भनेर शपथग्रहण स्थलबाट रिसाएर निस्केका उनले लगत्तै राजीनामा दिएको मन्त्री मनाङेका राजनीतिक सल्लाहकार शैलेन्द्र रावतले जानकारी दिए। उनका अनुसार मन्त्री मनाङेको राजीनामा पत्र मुख्यमन्त्रीलाई बुझाउन भने बाँकी छ। मन्त्रीका स्वकीय सचिव सन्तोष अधिकारीले राजीनामा पत्र मुख्यमन्त्रीलाई बुझाउन खोज्दा मुख्यमन्त्रीले समय नदिएको उनको भनाई छ। सचिवालयमा दर्ता गराउन खोज्दा मुख्यमन्त्रीलाई बुझाउनु भन्नु भएछ,उनले भने,'मुख्यमन्त्रीसँग भेट हुन सकेको छैन । भेट हुने बित्तिकै राजीनामा पत्र बुझाउनेछौँ।’

मन्त्री मनाङेले भने आफूलाई अल्छी लागेकाले राजीनामा दिएको बताएका छन्। 'अब सरकार जान्न,'उनले भने,'कति खाने मन्त्री, अब रेष्ट गर्छु।’ उनले आफूलाई दिएको मन्त्रालयमा बजेट नै नहुने भएकाले मन्त्री हुनुको अर्थ नभएकोसमेत बताए।

प्रकाशित: १७ भाद्र २०८१ १७:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App