३० भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

‘रैथाने बिउ र बालीको संरक्षण गरिनुपर्छ’

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले रैथाने बिउ, बाली हराउँदै गएकाले यसको संरक्षण गरिनुपर्नेमा जोड दिएका छन्। रैथाने एग्रो प्रोडक्टस् नेपाल टोखा– ४ ले प्रत्येक शनिबार राजधानीको दरबारमार्गमा आयोजना गर्ने गरेको रैथाने कृषि बाली मेलाको शनिबार अवलोकन गर्दै उनले यस्ता विषयले नेपालका राजनीतिकर्मीको मन दुख्नुपर्ने बताए। रैथाने बिउ, बाली हराएर लोप भए कृषि प्रणालीमै समस्या आउने भएकाले सरोकार भएका निकायको ध्यान यसतर्फ जानुपर्ने प्रथम राष्ट्रपति यादवको भनाइ थियो।

चुरे क्षेत्रको विनाशले तराईमा पानी कम भई खानेपानीकै अभाव भएकाले कृषि कर्मका लागि त झन् समस्या हुन थालेको उनले सुनाए। चुरे क्षेत्रको संरक्षण नगरी सडकलगायत काम गर्दा नेपालमै राम्रो अन्न उत्पादन हुने तराई क्षेत्र उजाड बन्ने खतरा देखिन थालेकाले समयमै सचेत हुनुपर्नेमा प्रथम राष्ट्रपति यादवले सचेत गराएका थिए।

गाउँगाउँमा जेटिए गएर कृषिकर्म गराउने गरेकामा त्यो व्यवस्थाको अन्त्य गराएर नेपालको कृषि प्रणाली अधोगतितर्फ जान थालेकाले बेलैमा सचेत हुनुपर्ने उनको भनाइ थियो। सो अवसरमा रैथाने एग्रो प्रोडक्टस् नेपालका अध्यक्ष तिलक ढकालले उपभोक्ताले स्वस्थ एवं अर्गानिक उत्पादन पाऊन् भन्ने उद्देश्यले प्रत्येक हप्ताको शनिबार दरबारमार्गस्थित ओरियन क्याफेमा मेला आयोजना गर्ने गरिएको जानकारी गराएका थिए।

साप्ताहिक रूपमा शनिबार बिहान ६ देखि मध्याह्न १२ बजेसम्म चल्ने मेलामा रैथाने उत्पादनको बिक्रीवितरण हुने गरेको छ। मेलामा उपभोक्ताको सहभागिता पनि बढ्न थालेको संस्थाका सदस्य वैकुण्ठ प्याकुरेलले जानकारी दिए। रैथाने उत्पादनलाई तीनै तहका सरकारले प्रवर्द्धन गर्ने गरी नीति निर्माण गरिनुपर्नेमा उनले जोड दिए। –रासस

प्रकाशित: १५ भाद्र २०८१ १७:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App