१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

भक्तपुर पुगेर राष्ट्रपतिले सुने जनताका गुनासा

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरको दरबारलगायतका ऐतिहासिक सम्पदाको अवलोकनका क्रममा आम नागरिकसँग कुराकानी गर्दै उनीहरूको गुनासा सुनेका छन्।

शुक्रबार बिहान ११ बजे प्रथम महिला सविता पौडेलसहित भक्तपुर दरबार क्षेत्र पुगेका उनले त्यस क्षेत्रमा झण्डै दुई घण्टा बिताए। राष्ट्रपति पौडेलले ‘सार्वजनिक स्थलमा राष्ट्रपति’ कार्यक्रम अन्तर्गत आज भक्तपुर क्षेत्रको भ्रमण गरेका हुन्।

यस कार्यक्रम अन्तर्गत राष्ट्रपतिले प्रत्येक महिनाको एक दिन कुनै सार्वजनिक स्थलमा पुग्नुपर्नेछ। अभियानअन्तर्गत आज भक्तपुरबाट सुरुवात गर्दै उनले विश्वसम्पदा सूचीमा रहेको भक्तपुर दरबार क्षेत्रसहित तौमढीस्थित पाँचतले मन्दिर, आकाश भैरव क्षेत्रलगायतको अवलोकन गरेका थिए।

उनका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले दरबार स्क्वायर, गोल्डेन गेट, सुनधारा, तलेजुको मूल चोक, कुमारी चोक, राष्ट्रियकला सङ्ग्रहालय, पचपन्न झ्याले दरबार, पशुपतिनाथ, यक्षश्वर महादेव मन्दिर, शिलु महादेव, केदारनाथ मन्दिर, पाँचतले मन्दिर, आकाश भैरव मन्दिरलगायत ऐतिहासिक सम्पदाको अवलोकन गरे।

साथै उनले तलेजुको प्रसाद पनि ग्रहण गरे। उनले आकाश भैरव मन्दिरको अवलोकन, पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गरेका थिए। 

राष्ट्रपति पौडेललाई भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले स्वागत गरेकी थिइन्। साथै भक्तपुर नगरपालिकाका पर्यटन शहाखाका प्रमुख गौतमप्रसाद लासिवाले यहाँका सम्पदा क्षेत्रबारे विस्तृत जानकारी गराएका थिए।

त्यसअवसरमा नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति एवं सांसद दुर्लभ थापा, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, नेपाली कांग्रेसका युवा नेताहरु बिनोद कायस्थ, अष्टकुमार कवेँ, हरिदास प्रजापतिलगायतको पनि सहभागिता थियो।

भक्तपुर दरबार स्क्वायर परिसरमा उनले विद्यार्थीसँग पनि कुराकानी गरेका थिए। त्यस अवसरमा उद्धव खड्काले २०७२ सालको भूकम्पले जीर्ण भई टेकोका भरमा रहेको कला सङ्ग्रहालयदेखि अन्य सम्पदाको तत्काल पुनः निर्माण गर्न पहल गरिदिन आग्रह गरेका थिए। 

प्रकाशित: १४ भाद्र २०८१ १५:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App