स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले स्वास्थ्य बिमा रकम ५ लाख रुपैयाँ पुर्याउने घोषणा कार्यान्वयन हुने दाबी गरेका छन्। बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री पौडेलले स्वास्थ्य बिमाको सुविधा ५ लाख रुपैयाँ पुर्याउने घोषणा चाँडै कार्यान्वयनमा आउने बताए। पौडेलले स्वास्थ्य बिमा ५ लाख पुर्याउने विषयमा मन्त्रालयले आवश्यक तयारी थालिसकेको जानकारी दिए।
पौडेलले स्वास्थ्य विमा ५ लाख रुपैयाँ पुर्याइए पनि प्रिमियम शुल्कमा भने वृद्धि नगरिने जानकारी दिए। पौडेलले भने‘स्वास्थ्य बिमा ५ लाख रुपैयाँ पुग्छ। प्रिमियम बढ्दैन।’ मन्त्री पौडेलले सरकारी अस्पतालमा लाइन नवसी स्वास्थ्य सेवा पाउने अवस्था नरहेको बताए।
पौडेलले सरकारी अस्पतालमा स्वास्थ्य सेवाका लागि लाइन बस्नु नपर्ने आफूले नै बताएको तर, लाइनै नवसी सेवा पाउने अवस्था नदेखिएको बताए। पौडेलले भने‘सरकारी अस्पतालमा लाइन नवसी सेवा पाउने अवस्था सृजना गर्ने कुरा मैले नै गरेको हुँ। तर, लाइन नवसी स्वास्थ्य सेवा पाउने अवस्था देखिएन लाइनलाई कम भने गर्न सकिन्छ।’
पौडेलले धनकुटामा क्यान्सर अस्पताल सञ्चालन गर्ने विषयमा अध्ययन थालिएको जानकारी दिए। तर, तत्कालका लागि पूर्वाधार भएको स्थानबाट सेवजा प्रदान गर्ने गरी विराटनगर स्थित कोसी अस्पतालमा क्यान्सरको उपचार सेवा बिहीबार देखि सुरू गर्न लागिएको पौडेलले जानकारी दिए।
सरकारले चालु आर्थिक वर्षको बजेटमा कोसी प्रदेशको धनकुटामा भरतपुर क्यान्सर अस्पतालको आउटलेट सञ्चालन गरी प्रदेशका जनतालाई क्यान्सरको उपचार सेवा दिने घाषणा गरेको थियो।
तर, कोसी स्वास्थ्य मन्त्री पौडेलले विराटनगर स्थित कोसी अस्पतालमा भरतपुर क्यान्सर अस्पतालको आउटलेटको स्थापना गरी सेवा सुरु गर्दैछन्। पौडेलले कोशी अस्पतालबाट प्रदान गरिने क्यान्सरको उपचार सेवा निरन्तर चल्ने बताए।
प्रकाशित: १३ भाद्र २०८१ १२:५७ बिहीबार