नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रतिनिधिसभामा माओवादीको सशस्त्र द्वन्द्वलाई ‘हिंसा’ भनेपछि संसद् बैठकमा बबण्डर भएको छ।
माओवादी केन्द्रका सांसदले नियमापत्ति जनाउँदै संसद्मा बबण्डर गरेका छन्।
एमाले सचिव समेत रहेका भट्टराईले संसदको विशेष समयमा बोल्दै माओवादी अध्यक्ष पुष्पकमल दाहालले मंगलबार प्रतिनिधिसभामा बोलेको कुराको प्रतिवाद गर्न खोजेका थिए। जसमा उनले विद्युत प्राधिकरणको सवालमा धारण राख्दै माओवादीको ‘हिंसा नभएको भए’ नेपालमा पहिल्यै विद्युत क्रान्ति हुने दाबी गरेका थिए।
‘...कुनै दोष दिएको होइन। अध्ययनले भन्छ–यदि यो देशमा माओवादी हिंसा १० वर्ष नभएको भए नेपालको विद्युतमा यो भन्दा ठुलो क्रान्ति हुन्थ्यो,’ भट्टराईले भने,‘किनभने माओवादीले कतिवटा ट्रान्समिसन भत्कायो, कतिवटा सबस्टेशन पड्काइयो, विद्युत उत्पादन गर्न खोलामा गएका व्यवसायीसँग चन्दा उठाएर भगाइयो, असुरक्षाका कारण लगानी भएन।’ यसो नभएको भए ०७५ सालमा होइन ०६५ सालमै लोडसेडिङमुक्त हुने उनले दाबी गरेका थिए।
भट्टराई यत्ति भनेपछि माओवादी केन्द्रका सांसद माधव सापकोटा आफ्नो स्थानबाट उठेर नियमापत्ति जनाएका थिए। उनले संविधानको भावनाविपरीत माओवादी संघर्षलाई हिंसा भनेको भन्दै भट्टराईले बोलेको धारणा संसदको रेकर्डबाट हटाउन माग गरेका थिए।
सभामुख देवराज घिमिरेले कुराको ध्यानाकर्षण भएको भन्दै कुन प्रशंगमा भनिएको हो रु विचार आदानप्रदान गर्दा बोलिएको कुरा भन्दै रेकर्डबाट हटाउन इन्कार गरेका थिए।
त्यसपछि माओवादी केन्द्रका सबै सांसद यथास्थानबाट उठेर विरोध जनाएका थिए। त्यसपछि माओवादी सांसद देवेन्द्र पौडेलले सभामुख घिमिरेले बोल्न दिए। ‘हामी शान्ति प्रक्रियालाई अगाडि बढाउन चाहन्छौं र यसप्रकारका संविधान प्रतिकूल हुने शब्द संसदको रेकर्डबाट हटाउन माग गर्दछौं,’ उनले भने।
त्यसक्रममा एमाले सांसद भट्टराईले बोल्न नदिइनु पनि हिंसा भएको दाबी गरेका थिए।
यसक्रममा अहिले पनि संसद बैठक स्वाभाविक चल्न सकेको छैन।
प्रकाशित: १२ भाद्र २०८१ १४:४३ बुधबार





