नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बेपत्ताले पनि सहिदकै दर्जा पाउने बताएका छन्। नेकपा माओवादी केन्द्रनिकट जनयुद्धका सहिद तथा बेपत्ताका परिवारसँग सोमबार पोखरामा भएको भेटका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष दाहालले बेपत्ताको छानबिन गर्दा नभेटिएमा उनीहरूलाई सहिदको दर्जा दिइने बताएका हुन्।
संक्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयक पास भइसकेकाले अब आयोग बन्ने दाहालले बताए। उनले भने, ‘टिआरसी आयोग सहिदका लागि मात्र बन्ने होइन, बेपत्ताका लागि पनि हो। बेपत्ताको छानबिन हुन्छ। छानबिनमा भेटिएन भने सहिदकै सम्मान र सहिदकै परिपुरण पाउने हुन्छ। बेपत्ता भएका भेटियो भने त झन् राम्रो भइहाल्यो।’
उनले बेपत्ताको छानबिनमा ढिलाइ नहुने बताए। अब छिटै आयोग बन्ने भन्दै उनले भने, ‘त्यसपछि छिटोछिटो काम हुन्छ। बेपत्ताको छानबिन हुन धेरै समय लाग्दैन।’
अध्यक्ष दाहालले टिआरसी विधेयकले माओवादीलाई तनावबाट छुटकारा दिएको बताए। यो पास नभएसम्म कहाँ के हुने भन्ने चिन्ता र तनाव भए पनि अब यसले तनावबाट छुटकारा मिलेको उनको भनाइ थियो।
विधेयकले पीडितलाई न्याय दिने बाटो खोलेको बताउँदै उनले भने, ‘अब टिआरसी टुंगिएपछि जनयुद्धका सहिदले पनि राष्ट्रिय सहिदको सम्मान पाउँछन्। त्यसपछि उनीहरूलाई सोहीअनुसारको व्यवहार हुन्छ।’
अध्यक्ष दाहालले जनयुद्धका सहिदले राष्ट्रिय सहिदको सम्मान नपाउँदा तनाव भइरहे पनि अब भने त्यो समस्या समाधान हुने उनको भनाइ छ। हाम्रा सहिद राष्ट्रिय सहिद घोषणा नभएर हामी सबैलाई तनाव थियो, उनले भने, ‘अरू सबै सहिद हुने, जनयुद्धका सहिद राष्ट्रिय सहिद नहुने, यसले तपाईंहामी सबैलाई टेन्सन थियो। त्यो पनि यसपटक सरकारले सबैलाई राष्ट्रिय सहिद घोषणा मात्रै गरेको होइन, राजपत्रमै प्रकाशित गरियो र हाम्रा सबै सहिदहरू राष्ट्रिय सहिदको दर्जामा जानुभयो।’
सहिद तथा बेपत्ता परिवारले भने बेपत्तालाई पनि सहिदकै दर्जामा राखेर सम्मान दिनुपर्ने माग गरेका थिए। बेपत्ता भएको दशकौं बित्दासमेत संस्कार गर्न नपाएको भन्दै उनीहरूले भनेका थिए, ‘बेपत्ता भनियो तर अझै भेटिएको छैन। यसले गर्दा जातीय संस्कारअनुसार काम गर्न पनि पाइएन। त्यसैले बेपत्तालाई पनि सहिदकै दर्जामा राख्नुपर्छ भन्ने हाम्रो माग हो।’
प्रकाशित: ११ भाद्र २०८१ ०७:०७ मंगलबार