३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभा अध्यक्ष र संसदीय समितिका सभापतिहरूको पुनः निर्वाचन गरौंः एमाले

सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) ले सबै संसदीय समितिका सभापतिहरूको पुनः निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेको छ ।

आइतबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा ९माओवादी केन्द्र०का सांसद अमनलाल मोदीले विपक्षलाई सार्वजनिक लेखा समितिको सभापति दिनुपर्ने माग गरेपछि एमालेका सांसदहरू योगेशकुमार भट्टराई र गोकुल बास्कोटाले पुनः निर्वाचनद्वारा सबै समितिका सभापतिहरू चयन हुनुपर्ने माग गरेका हुन् ।

एमालेका सचिव एवं संसदीय विभाग प्रमुख समेत रहेका भट्टराईले राजनीतिक नेतृत्वले सहमति गरेर चयन गरिएको सार्वजनिक लेखा समितिको सभापतिबारे प्रश्न गरेर दबाबमा राख्ने काम नगर्न पनि माओवादी केन्द्रका सांसद मोदीलाई चेतावनी दिए । सो समितिका सभापतिमा एमालेका ऋषिकेश पोखरेल छन्। सांसद भट्टराईले विगतमा आफूले सत्तामा रहँदा पनि सो पद लिएको हेक्का राख्न पनि प्रतिपक्ष दलहरूलाई सचेत गराए ।

यता प्रतिपक्ष दल नेकपा ९माओवादी केन्द्र०का सांसद मोदीले भने प्रतिपक्षले सो समितिको सभापति दिनुपर्ने कुरामा किन्त, परन्तु भन्न नमिल्ने जिकिर गरे । उनले विगतमा सत्तापक्षले सो समितिको सभापति राखेको भए पनि गलत भएको भन्दै अहिले त्यसलाई साथ दिने कुरा मान्न नसकिने तर्क समेत गरे ।

एमालेका सांसद गोकुल बास्कोटाले सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षलाई दिने हो भने राष्ट्रिय सभा अध्यक्ष र प्रतिनिधि सभाको उपसभामुखको पुनः निर्वाचन हुनुपर्ने प्रस्ताव गरे । त्यसै गरी सबै समितिको सभापतिहरूको पनि निर्वाचन गरेर नेतृत्व चयन गर्नुपर्ने उनको जिकिर थियो ।

सांसद बास्कोटाले सार्वजनिक लेखा समितिको सभापति फेर्ने विषयमा राजनीतिक सहमति गरेर आउन पनि माओवादी केन्द्रका सांसद मोदीलाई चुनौती दिए ।सांसद बास्कोटाले संसदीय समितिका सभापतिहरू राजनीतिक सहमतिको आधारमा चयन भएकाले यसको समस्या राजनीतिक रुपमा नै हल गर्नुपर्ने बताए । 

प्रकाशित: ९ भाद्र २०८१ १९:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App