४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सहकारी ठगी प्रकरण छानबिन: बयानमा लामिछाने पनि

सहकारी ठगी प्रकरणमा तत्कालीन गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  सभापति रवि लामिछाने मुछिएपछि सहकारी संस्था बचत रकम दुरुपयोगबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले बयानको तयारी गरेको छ।

सहकारी रकम हिनामिना प्रकरणमा अहिलेसम्म ४२ वटा बैठक बसिसकेको र ३९ जनासँग बयान लिएको समितिले लामिछानेलाई चाँडै नै बोलाउने तयारी गरेको छ। ‘गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालकहरूलाई बोलाउने निर्णय भएको छ। अहिले नै रवि लामिछानेलाई बोलाइएको छैन। आवश्यकताका आधारमा उहाँलाई बोलाइनेछ,’ छानबिन समितिका संयोजक सूर्य थापाले भने।

गोरखा मिडिया नेटवर्कका नाममा अनधिकृत रूपमा ऋण प्रवाह गर्ने सहकारी संस्थाका सञ्चालकहरूलाई समेत ल्याएर समितिले बयान लिइसकेको छ। अब गोरखा मिडिया नेटवर्क प्रालिका सञ्चालकहरूसँग मात्रै बयान लिन बाँकी छ। उनका अनुसार आइतबार मात्रै गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन क्रिएटिभ डाइरेक्टर तथा नोबडी प्रोडक्सन प्रालिका सञ्चालक विपीनकुमार आचार्यलाई समितिको बैठकमा बोलाएर सोधपुछ गरिएको थियो। आचार्य रास्वपाका सहमहामन्त्रीसमेत हुन्। उनले यो क्रम जारी रहेको समेत बताए।  

अहिलेसम्म बयान लिएकाहरूले कोरोना संक्रमणलाई दोष दिएका छन्। सहकारीको रकम अपचलन गरी कारागारमा रहेका आरोपीहरूले सम्पत्ति बेचेर पीडितको रकम तिर्ने बताउँदै थुनामुक्त गर्न आग्रह गरेका छन्। सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले बयान लिने क्रममा जेल र थुनामा रहेका आरोपीहरूले थुनामुक्त गरे सम्पत्ति बिक्री गरेर बचतकर्ताको रकम फिर्ता गर्ने बताएका हुन्। 

देशका विभिन्न कारागारमा बन्दी अवस्थामा रहेका सहकारी सञ्चालकलाई सिंहदरबारमै झिकाएर बयान लिने क्रममा उनीहरूले सहकारीमा रहेको सम्पत्ति र व्यक्तिका नाममा रहेको सम्पत्ति बेचेर सहकारी पीडितहरूको बचत फिर्ता गर्ने वातावरण बनाइदिन माग गरेका थिए।सहकारीको बचत रकम दुरूपयोगमा मुछिएका अध्यक्ष, पदाधिकारी र सञ्चालकहरूसँग साउन २६ देखि समितिले बयान लिइरहेको छ। 

यसक्रममा जेलबाहिर रहेका र जेल परेकाहरूको समेत बयान लिँदा प्रायः सबैले कोभिड संक्रमण र आर्थिक मन्दीका कारण सहकारी संस्थाहरू धराशयी भएको र बचत रकम फिर्ता गर्न नसकिएको बताएका थिए । समितिका संयोजक थापाका अनुसार अहिलेसम्म ४२ वटा बैठक बसेको र ३९ जनाको बयान लिइसकेकाले कुरा स्पष्ट भइसकेको छ । सहकारीको नियमानुसार रकम सदुपयोग नभएको देखिएको उनको भनाइ छ । समितिले गृह मन्त्रालयको सहयोगमा बन्दीहरूलाई कारागारबाट सिंहदरबार ल्याई बयान लिइरहेको छ । समिति संयोजक सूर्य थापाका अनुसार बयान लिने क्रम अझै जारी रहेनछ।

‘हामीले सहकारीको सम्बन्धमा छानबिन गरिरहेका छौं। बचत फिर्ता गर्न नसकेका र डुबेको भनिएका सहकारीका सञ्चालकहरूसँग बयान लिइरहेका छौं,’ उनले भने। छानबिन समितिको कार्यविधिअनुसार पहिलो बयान नक्खु कारागारमा रहेका तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासँग समितिले लिएको थियो। समितिले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाकी पूर्वअध्यक्ष कल्पनाकुमारीसँग सोधपुछ गरेको थियो। त्यसैगरी बलिदानी बचत तथा ऋण सहकारीका अजय श्रेष्ठ, प्राइम बचत तथा ऋण सहकारीका शंकर कार्की र मित्र मिलन सहकारीका रमण पौडेलसँग बयान लिएको थियो । उनीहरूले सञ्चालकलाई जेल हालेर बचतकर्ताको रकम फिर्ता गर्न नसकिने पीडितको रकम फिर्ताका लागि जग्गा जमिन र सम्पत्ति बिक्री गर्ने वातारण बनाउनुपर्ने माग गरेका थिए। 

‘सहकारी सञ्चालकहरूले थुनामुक्त भएर निजी र सहकारीको सम्पत्ति बेचेर रकम फिर्ता गर्न पाउनुपर्ने माग गरेका छन्,’ समितिका एक सदस्यले भने, ‘इच्छाराज तामाङले समेत त्यही कुरा गरेका थिए।’ यसैगरी ओरिन्टेल सहकारीका सुधीर बस्नेतले पनि भएको सम्पत्ति सकारेर बेच्न पाउनुपर्ने माग गरेका थिए। संसदीय छानबिन समितिले केदारनाथ शर्माकी पत्नी गीता शर्मालाई पनि कारागारबाटै सिंहदरबारमा झिकाएर बयान लिएको थियो। शर्माकी पत्नी गीता शर्मालाई केन्द्रीय कारागार जगन्नाथ देवलबाट सिंहदरबारमा ल्याएर सोधपुछ गरिएको थियो। छानबिन समितिले २६ साउनमै नागरिक विकास सहकारी संस्थाका अध्यक्ष नुनम सुब्बासँग बयान लिएको थियो। 

उनलाई नक्खु जेलबाट समितिको बैठकमा ल्याएर सोधपुछ गरिएको हो। पशुपति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष र कान्तिपुर सेभिङ एन्ड कोअपरेटिभका पूर्वअध्यक्ष सिबी लामा भनिने चन्द्रबहादुर तामाङसँग बयान लिएको थियो । समितिले साउन २८ मै कान्तिपुर सेभिङस एन्ड क्रेडिट कोअपरेटिभ सहकारी संस्थाका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरीसँग पनि बयान लिएको थियो । उनलाई डिल्लीबजार कारागारबाट समितिको बैठकमा ल्याएर बयान लिएको हो।

साउन २८ गते समितिले सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ सहकारी संस्थाका अध्यक्ष एवं पूर्वसांसद इच्छाराज तामाङलाई सिंहदरबारमा बयान लिएको थियो। साउन २८ गते समितिले आइडिया यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर उप्रेती (केबी) सँग बयान लिएको थियो। साउन २९ मा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था पोखराका सचिव तथा गोरखा मिडिया नेटवर्क प्रालिका सञ्चालक कुमार रम्तेललाई लिएको थियो। यसैगरी सुप्रिम सहकारीका क्यासियरसँग पनि सोधुपछ गरिएको थियो।

त्यसैगरी विशेष समितिको कार्यविधिअनुसार स्टान्डर्ड सेभिङ एन्ड क्रेडिट, पुतलीसडकका अध्यक्ष तथा स्टान्डर्ड मल्टिप्रपोज, जावलाखेल, चार्टर्ड सेभिङ एन्ड क्रेडिट, न्यु प्लाजा, कुवेर सेभिङ एन्ड क्रेडिट, महाराजगन्ज र प्रभु सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, न्युरोडमा आबद्ध खेमराज निरौला सोधपुछ गरिएको थियो। ज्येष्ठ बचत तथा ऋण सहकारी संस्थाका सचिवलगायत अन्य आठवटा सहकारी संस्थाहरूसँग आबद्ध मधुसूदन पाठक (सिते बा) लाई पनि सोधपुछ गरिएको थियो। यसैगरी हाम्रो कृषि बहुउद्देश्यीय सहकारी संस्था बालुवाटार, काठमाडौंका पूर्वअध्यक्ष सूर्यबहादुर गुरुङलाई बैठकमा बोलाई सोधपुछ गरिएको थियो ।

माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री शक्तिबहादुर बस्नेत संस्थापक अध्यक्ष रहेको र त्यसपछि गुरूङ अध्यक्ष र रास्वपाका हाल उपाध्यक्ष एवं पूर्वमन्त्री डिपी अर्याल उपाध्यक्ष र कवीन्द्र बुर्लाकोटी सदस्य रहेको संस्था २०७९ पछि जिबी राईको अध्यक्षतामा देशभरि कार्यक्षेत्रका साथ सञ्चालन हुन पुगेको थियो। हाल समस्याग्रस्त सहकारी व्यवस्थापन समितिअन्तर्गत रहेको छ। देउराली बहुउद्देश्यीय सहकारी संस्था, सातदोबाटो, ललितपुरका अध्यक्ष रवीन्द्र चौलागाईंलाई समितिको नक्खु कारागारबाट बैठकमा ल्याई सोधपुछ गरिएको थियो । सो सहकारी सञ्चालक चौलागाईं हालको प्रभु बैकमा गाभिएको सेन्चुरी बैंकको रकम हिनामिना प्रकरण पनि जोडिएको छन्। 

प्रकाशित: ३ भाद्र २०८१ ०६:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App