७ पुस २०८१ आइतबार
image/svg+xml
राजनीति

माओवादी विवादः एउटै मञ्चमा दाहाल र शर्माबीच भनाभन

दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएपछि एकाएक सत्ता गुमाएको तेस्रो ठुलो दल नेकपा माओवादी केन्द्र त्यसयता आन्तरिक विवादको झमेलामा छ। प्रतिनिधिसभामा रहेको ३२ सिटको ‘जादुयी नम्बर’ फासफुस भएर प्रधानमन्त्रीबाट धकेलिएका माओवादी अध्यक्ष पुष्पकमल दाहालको रन्थन अझै हटिसकेको छैन।

तर, दाहाललाई त्यसभन्दा बढी घत् लाग्ने धक्का पार्टीभित्रैबाट छ। जुन समाधान हुने छाँटकाँट देखिएको छैन। यसले उनलाई दिनहुँजसो धक्का पुर्‍याइरहेको छ। जसको चिड्चिटाहट उनको बोलीमा समेत सुनिन थालेको छ।

झण्डै साढे तीन दशक पार्टीभित्र सर्वशक्तिमान ‘सुप्रिमो’ रहेर एकछत्र राज गरेका दाहाल सम्भवतः अहिले इतिहासकै कमजोर अवस्थामा देखिन थालेका छन्। दाहालको सर्वशक्तिकै कारण विगतमा फरक मत राखेका मोहन वैद्य, डा. बाबुराम भट्टराई, रामबहादुर थापा, नेत्रविक्रम चन्द लगायतका माओवादी हस्ती अहिले पार्टीबाहिर छन्। उनीहरूले पार्टीभित्र रहेर दाहालको सामना गर्ने हैसियतसम्म राख्न सकेनन् र, बाहिरिए।

अहिले दाहाललाई उपमहासचिव जनार्दन शर्माले चुनौती दिइरहेका छन्। शर्माले खुलेरै दिनहुँ ‘डिस’ हानिरहँदा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अर्का प्रभावशाली उपमहासचिव वर्षमान पुनलगायतको पनि दाहाललाई टेको दिइरहेका छैनन्।

माओवादीस्रोत नै भन्छ–दाहालसँग अहिले आफ्नै परिवारका सदस्य (छोरीहरू रेणु दाहाल, गंगा दाहाल र भाई राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल) बाहेकको बलियो आड छैन।

अधिकांश नेताहरूले दाहालकै कारण माओवादी केन्द्र कमजोर अवस्थामा पुगेको टिप्पणी गरिरहेका छन्। जसमध्ये शर्माले खुलेरै पार्टीको भविष्यका लागि दाहालले अब नेतृत्व छाड्नुपर्ने प्रस्ताव राखेका छन्।

केहीदिनअघि पार्टीको स्थायी कमिटी बैठकमै १४ पृष्ठको फरक धारणा लिखित रूपमै राखेर शर्माले अध्यक्ष दाहालले नेतृत्वको विकल्प अघि सारे। उसो त शर्मा दाहालसँग असन्तुष्ट रहेको कुरा पहिलेदेखि नै सुनिदैआएको थियो। कतिपय मञ्चमा शर्माले आफ्नो असन्तोष राख्ने गरेका थिए।

तर, १४ पृष्ठको लिखित धारणामा त पार्टीको मुल नेतृत्वको विकल्प नै खोज्नुपर्ने भनेर बैठकमा प्रस्तुत भए। शर्माको जस्तै लिखित फरक मत नराखेर अर्का उपमहासचिव पुनले पनि मौखिक रुपमा नेतृत्वको विकल्पबारे धारणा राखेको माओवादी स्रोत बताउँछ।

यसरी एकाएक प्रभावशाली नेताहरूबाट घेरिँदै गएका दाहाल अहिले कमजोर अवस्थामा पुगेको पार्टीका नेताहरू बताउँछन्।

कमजोर रहेकै कारण दाहालले उपमहासचिव शर्माको फरक धारणालाई पूर्ण रूपमा अस्वीकार गर्न सकेनन्। केन्द्रीय समिति बैठकमा त्यसबारे छलफल हुने बताएर तत्कालका लागि टालटुल गरेका छन्। तर, फरक धारणा राखेकै कारण शर्मामाथि देखिने गरी ‘एक्सन’ भने चाल्न सकेका छैनन्।  

शर्मा बोल्न छाडेनन्

यता उपमहासचिव शर्मा आफ्नो असन्तुष्टि बोल्न भने छाडेका छैनन्। शनिबार  माओवादी केन्द्रको काठमाडौं–रुकुम पश्चिम सम्पर्क समितिको कार्यक्रममा दाहाल र शर्माको एउटै मञ्चमा फेरी जम्काभेट भयो।

दुवैले मञ्च सेयर गर्दा फेरी उनीहरूबीच भनाभनको स्थिती देखिएको छ। दाहालअघि बोल्दै शर्माले फेरी अध्यक्ष दाहालकै वरिपरिबाट ‘जनार्दनले पार्टी फुटाउँदैछ’ हल्ला फैलाइएको कुरा उठाए। दाहालले आफूलाई ‘दलाल’ जस्तो देखेको पनि भन्न भ्याए।

‘तपाईंहरूले मलाई दलाल जस्तो देख्नुहुन्छ ? म यो पार्टी फोर्ने जस्तो देख्नुहुन्छ ? तर, त्यो आरोप मैले आज खेपिरहेको छु,’ शर्माले भने, ‘पार्टीको उच्च तह र नेतृत्वको वरिपरिबाट देशभरि मैले पार्टी फुटाउँदैछ भनेर बदनाम गरिँदैछ।’

आफूले अहिले उठाइरहेका कुरामा कुनै पूर्वाग्रह नरहेकोसम्म शर्माले बताए। पार्टी बनाउने हुटहुटीकै कारण आफूले धारणा राखिरहेको समेत बताए।

उनले भने, ‘मैले उहाँ (दाहाल) लाई भनेको छु तपाईंलाई हटाएर मलाई अध्यक्ष हुनुछैन, तर यो पार्टी आन्दोलन बनाउने हो भने छलफल चाहिन्छ भनेर छलफलको विषय राखेको हो। प्रस्तावमा छलफल हुँदैछ। नेतृत्वलाई स्थापित गर्न कुरा राख्दा मैले अनेक आरोप खेप्नुपर्ने ?’

यस्तै, शर्माले आफूलाई कहिले केपी ओली त कहिले कांग्रेसको मान्छे भनेको भन्दै ‘तपाईं (दाहाल) को मान्छे कहिले हुने ?’ भनेर समेत प्रश्नले निसाना साँधे।

‘एमालेसँग एकता गर भन्नुभयो केपी ओलीको मान्छे भएँ, कांग्रेससँग सहकार्यको लागि वार्ता गर भन्नुभयो, म कांग्रेसको भएँ। माओवादीको हुने ठाउँ छ कि छैन अध्यक्ष कमरेड म ? म माओवादीको कहिले हुन्छु होला’, शर्माले प्रश्न गरे।

पार्टीमा लागेको ४८ वर्ष भइसकेको बताउँदै शर्माले आफू ‘माओवादीको हुनुपर्दैन म ? ’ भनेर समेत प्रश्न सोधे। ‘माओवादी हुन पाउनुपर्दैन म ? प्रचण्डको कहिले हुन्छु होला म ? देउवाको केपीको मात्रै हुने भए, तपाईंको म हुन पाउनु पर्दैन ?’, शर्माले अर्को प्रश्न गरे।

त्यसपछि बोलेका अध्यक्ष दाहालले चिडचिडाहटका साथ शर्माका प्रश्नको उत्तर दिनमा आफूलाई प्रस्तुत गरे।

‘कमरेड प्रभाकरले केही कुरा राख्नुभयो। कमरेड प्रभाकरसँग मेरो भेट भएदेखि नै अटुट रुपमासँगै काम गर्दै आइरहेका छन्, तर उहाँले भनेको जस्तो उहाँको स्वभाव र मेरो के हो भन्ने कुरा त सिंगो देशले बुझेको कुरा छ,’ उनले भने, ‘त्यो स्वभावको कारणले हामी बेलाबेलामा अगुल्टो ठोसिए झैं ठोसिने चाहिँ गरेकै छौं।’ अहिलेमात्रै नभई द्वन्द्वकालदेखि नै आफूहरू ठोसिने क्रम चलिरहेको दाहालले टिप्पणी गरे। उनले भने, ‘तर यो अगुल्टो ठोसिए जस्तो ठोसिनु आगो बाल्न, खाना पठाउन र राम्रोको लागि हुँदै आएको छ। म विश्वास गर्छु यो पटक अझ राम्रो हुनेछ।’

पछिल्लो समय शर्माले उठाएका कुरामा केही गम्भीर आशंकाका कुरा रहेको पनि दाहालले बताए। उनले ‘पार्टी फुट्दैछ’ भन्ने कुरा आफ्नो सचिवालयबाट भएको भए अध्यनन गर्ने पनि बताए। उनले भने, ‘त्यस्तो कुरामा मैले र प्रभाकर (शर्मा) जीले अध्ययन अनुसन्धान गर्ने, यस्तो आशंकाको स्थिति कसरी बन्यो भन्नेबारेमा सँगै बसेर अनुसन्धान गर्ने, नभए केन्द्रबाट टिम बनाएर पनि अध्ययन गर्ने।’

अहिले भ्रमको कुराहरू चिरिएको समेत दाहालले दाबी गरे। ‘त्यसैले कमरेड प्रभाकरले पनि ममाथि अत्याचारका अत्याचार भनिराख्न जरुरी छैन। तपाईंले बहस गरेर राम्रो भयो,’ दाहालले भने। शर्माका कुरा आफूले नकारात्मक ढंगले नलिएको पनि दाहालले वचन दिए।

प्रकाशित: १ भाद्र २०८१ १८:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App