धनुषाको शहीदनगर नगरपालिकाकी उपमेयर सुनिता कुमारी सिंहले जागिर लगाइदिने भन्दै घुसबापतको लिएको रकम फिर्ता गर्न आनाकानी गरेकी छिन्।
नगरपालिकाबाट कार्यालय सहयोगी र अहेबका लागि गरिएको विज्ञापनको आधारमा जागिर लगाइदिने भन्दै उपमेयर सिंहले २०७९ सालमा पालिकाको ननुपट्टी गाउँका २ जनासँग २ लाखभन्दा बढी रकम घुस लिएकी थिइन्।
पीडित दुखि मण्डलले आफ्नो बुहारीलाई अहेब पदमा जागिर लगाइदिन भन्दै १ लाख ४० हजार र जमुना पासवानले कार्यालय सहयोगीमा बुहारीलाई जागिर लगाइदिन भन्दै ९० हजार रुपैयाँ उपमेयर सिंहलाई घुसबापत दिएका थिए।
२०८० चैत अगावै उपमेयर सिंहले अहेब र कार्यालय सहयोगीमा जागिर लगाइदिने प्रलोभन दिएर पैसा लिएर पनि जागिर नलगाइ दिएपछि उनीहरूले रकम फिर्ता मागेका थिए। जुन २०८१ असारमसान्त सम्ममा फिर्ता गर्ने दुबै पक्षबीच मौखिक सहमति भएको थियो। तर, उपमेयर सिंहले समयसीमा नाघिसक्दा पनि उक्त रकम हालसम्म पनि फिर्ता गरेकी छैनन्।
‘असारमै फिर्ता गर्छु मौखिक सहमति भएको थियो’, घुस दिने दुखी भन्छन्, ‘साउन पनि बित्न लाग्यो। तर, पटक पटक ती पैसा माग्दा पनि फिर्ता भएको छैन्। न जागिर दिनुभयो र पैसा फिर्ता गरिरहनु भएको छ।’
अर्का पीडित पासवानले दुई शनिवार पैसा फिर्ता माग्न गएपनि उपमेयरले पैसा फिर्ता नगरेको बताए। उनका अनुसार उपमेयरले पैसा दिन आलटाल गरिरहेकी छिन्।
जागिरका लागि उपमेयर सिंहलाई साहुसँग ३६ ब्याजमा ऋण लिएर पैसा बुझाएको भन्दै पासवानले आफूलाई ऋण दिएको व्यक्तिले पटक पटक पैसा माग्न थालेको र तनाव दिन थालेको बताए।
उपमेयर सिंहले नगरपालिकाबाट चारजना अहेब र १३ जना कार्यालय सहयोगीका लागि २०७९ भादौ १९ मा गरेको विज्ञापनमा जागिर लगाईदिने भन्दै अग्रिम नै घुस वापतको रकम लिएकी थिइन्।
सुरुमा उपमेयर सिंहले जागिर लगाइदिने नाममा आफूले कुनै रकम नलिएको बताउँदै आएकी थिइन्। तर, पछि दबाब बढेपछि उनले रकम लिएको स्वीकार्दै रकम फिर्ता गर्ने सहमति गरिन्।
उपप्रमुख सिंह नेपाली कांग्रेसबाट निर्वाचित भएकी हुन्।
प्रकाशित: २९ श्रावण २०८१ १३:०४ मंगलबार