२५ भाद्र २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक: सरकार सफल बनाउनेमा जोड, संविधान संशोधनको कुराप्रति चासो

सत्तारुढ नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै नेताहरूले वर्तमान गठबन्धन सरकारलाई सफल बनाउनुपर्नेमा जोड दिएका छन्।

केही दिनदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्दै नेताहरूले वर्तमान गठबन्धन सरकारलाई सफल बनाउनुपर्नेमा जोड दिएका हुन्।

सोमवारको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पार्टीका प्रवक्ता डा.प्रकाश शरण महतले नेताहरूले सरकारलाई असफल हुने छुट नभएको धारणा राखेका बताए।

उनले कांग्रेसका मन्त्रीहरुले सुशासनको विषयमा खरो रुपमा उत्रिएर सरकारमा सशक्त भुमिका निर्वाह गर्नुपर्नेमा पनि कांग्रेसका नेताहरूले जोड दिएका बताए । त्यसै गरी केन्द्रीय सदस्यहरूले पार्टीको महासमिति बैठकमा आएका सुझावहरूको प्रतिविम्बको रुपमा केन्द्रीय समितिको निर्णय आउनुपर्ने पनि बताएका थिए।

नेताहरूले पार्टी संगठनलाई बलियो बनाउने र आगामी निर्वाचनमा बहुमत ल्याउने गरी अघि बढ्नुपर्ने पनि बताएका थिए । प्रवक्ता महतले गठबन्धन सरकार बनाउँदा गरिएको सहमतिमा संविधान संशोधनको बुँदा पनि समेटिएको भन्दै नेताहरूले संविधान संशोधनको रुप कस्तो हुने भनेर चासो पनि राखेका जानकारी दिए। समावेशिताको मर्म र भावनालाई कमजोर नगरी संशोधन गर्नुपर्नेमा नेताहरूले जोड दिएका उनको भनाई छ।

प्रवक्ता महतले केन्द्रीय समिति बैठक आगामी भदौ ७ गते दिउँसो १ बजे बस्ने गरी बोलाइएको जानकारी दिए। बैठकमा पदाधिकारी र पूर्व पदाधिकारीहरूले बोल्न बाँकी रहेको उनले बताए। 

प्रकाशित: २८ श्रावण २०८१ २०:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App