१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

पोखरामा प्याराग्लाइडिङको सोलो उडान खुलाउन व्यवसायीको माग

पोखराका पर्यटन व्यवसायीले दुई वर्षदेखि बन्द रहेको यहाँ सञ्चालित प्याराग्लाइडिङको सोलो (एकल) उडान खुलाउन माग गरेका छन् ।

प्याराग्लाइडिङको सोलो उडान बन्द हुँदा विभिन्न देशबाट आउने पर्यटक निरास भएकाले यसको असर पर्यटन क्षेत्रमा परेको व्यवसायीको भनाइ छ । प्याराग्लाइडिङको सोलो उडान प्रतिबन्ध भए पनि व्यावसायिक उडान भने भइरहेको छ ।

नेपाल हवाई खेलकुद संस्था९ना०को २१औँ वार्षिक साधारणसभा तथा १०औँ अधिवेशनका अवसरमा मंगलबार आयोजित कार्यक्रममा पर्यटन व्यवसायीले उडान बन्द हुँदा नेपाली प्राविधिक खेलाडीको सीप क्षमता विकासमा असर पुगेको धारणा राखे।

पोखरामा विसं २०७९ असोज अन्तिममा नवौँ राष्ट्रिय खेलकुदको दौरान ग्लाइडर दुर्घटनामा एक जना खेलाडीको मृत्यु भएपछि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले अनिश्चितकालका लागि  सोलो उडानमा प्रतिबन्ध लगाएको थियो ।

नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनीलबहादुर भट्टराईले विभिन्न देशबाट सोलो उडानका पारखीहरु हरेक वर्ष पोखरा आउने गरे पनि अहिले आउन नपाएको बताए ।

उनका अनुसार नेपाली पाइलटले प्याराग्लाइडिङको अभ्यास गर्न पाएका छैनन् । अध्यक्ष भट्टराईले उडान खुला गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग निरन्तर माग गरे पनि पूरा नभएको बताए।

उनले भने, “पोखरा पर्यटनको राजधानी घोषणा भइसकेको अवस्थामा सोलो उडान खुला गरेर पर्यटकीय गतिविधिहरु वृद्धि गर्नुपर्दछ भनेर माग गरिराखेका छौँ ।”

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बन्द भएको प्याराग्लाइडिङको एकल उडान खुलाउनुको विकल्प नभएको बताए। “पोखरा पर्यटन राजधानी घोषित भएको छ । त्यसैले पनि यहाँ आउने पर्यटकलाई धेरैभन्दा धेरै सुविधा र पर्यटकीय गतिविधिहरुमा सहभागी गराउनुपर्दछ । सोलो उडानबाट पर्यटन विकासमा मद्धत पुग्नेछ”, पहारीले भने ।

गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले व्यवसायीको माग पूरा गर्न सरकारले पहल गर्ने बताए । उडान खुला गर्नका लागि नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरिने उहाँले विश्वास दिलाए ।

“पोखराको पर्यटनका लागि प्याराग्लाइडिङको धेरै महत्व छ । सोलो उडानलाई थप व्यवस्थित बनाउँदै प्रतिबन्ध हटाउने विषयमा सरकारले ध्यान दिनेछ”, मन्त्री थापाले भने ।

विगतमा सराङकोट र तोरीपानीबाट प्याराग्लाइडिङ उडान हुँदै आएकामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि सो क्षेत्रबाट विस्थापित भएर मान्द्रेढुङ्गाबाट उडान र पामेमा अवतरण क्षेत्र तोकिएको थियो ।

मान्द्रेढुङ्गा टाढा भएको र पर्यटकको आकर्षण घटे पनि व्यवसायीको मागअनुसार पुनःकेही समयपछि तोरीपानीबाट उडान हुँदै आएको छ । नेपाल हवाई खेलकुद संस्थामा हाल ६२ वटा प्याराग्लाइडिङ व्यावसायिक कम्पनी र पाइलट तीन सय ९९ जना आबद्ध छन् । 

प्रकाशित: २५ भाद्र २०८१ २१:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App