सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल काग्रेस ससदिय दलका नेता कमल शाहले दावी पेस गरेका छन। कांग्रेस र नेकपा एमालेको समर्थनमा शाहले आइतबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका हुन्।
मुख्यमन्त्री दीर्घ सोडारीले शुक्रबार राजीनामा दिएपछि प्रदेश प्रमुख मियाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम आइतवार साँझ ५ बजेसम्मको समय दिएर नयाँ सरकारको आह्वान गरेका थिए।
यता कांग्रेस–एमालेको गठबन्धन बन्दा सुदूरपश्चिममा कांग्रेसकै नेतृत्वमा सरकार बन्ने सहमति थियो। सोहीअनुसार आइतबार बसेको काग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको बैठकले शाहलाई नै मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो।
त्यसअघि कांग्रेसभित्र नयाँ मुख्यमन्त्रीका लागि रस्साकस्सी चलिरहेको थियो। मुख्यमन्त्री बन्न पूर्व भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवा, कांग्रेसका पुराना नेताद्वय बहादुरसिँह थापा र दिवानसिँह विष्ट पनि दौडमा थिए। यीमध्ये पनि देउवा र थापा अझ बढी सशक्त रुपमा सक्रिय थिए।
यस्तोमा पार्टी सभापति शेरबहादुर देउवाले पुनः शाहलाई नै मुख्यमन्त्रीमा दोहो¥याउन निर्देशन दिएपछि उनकै नेतृत्वका नयाँ सरकार गठन गर्न दाबी पेस गरिएको छ।
शाह यसअघि २०७९ माघ २६ गते संविधानको धारा १६८ (३) बमोजिम प्रदेशसभामा सबैभन्दा ठलो दलको नेताको हैसियतले मुख्यमन्त्री बनेका थिए।
त्यसअघि ०७९ मंसिरमा सम्पन्न निर्वाचनपश्चात संविधानको धारा १६८ (२) बमोजिम पुस २७ गते माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीको सहयोगमा एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेका थिए।
तर, एकमहिनामै रावले विश्वासको मत लिने दिन नागरिक उन्मुक्तिका ७ सांसद अनुपस्थित रहेपछि सरकार ढल्न पुगेको थियो।
त्यसपछि कांग्रेसका शाह मुख्यमन्त्री बनेका थिए। त्यतिबेला केन्द्रमा सत्ता गठबन्धन फेरबदल भएपछि शाहले सहजै विश्वासको मत पाएका थिए।
गएको फागुन २१ गते केन्द्रमा सत्ता गठबन्धन फेरबदल भएपछि शाह सरकार अल्पमतमा परेको थियो। अनि चैत २२ गते मुख्यमन्त्री शाहले प्रदेश प्रमुख समक्ष राजीनामा दिएका थिए।
शाहको राजीनामा पछि विवादैविवादका बिचमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारी मुख्यमन्त्री बनेका थिए।
पछिल्लो सत्ता फेरबदलका क्रममा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका सोडारीले गत शुक्रवार राजीनामा दिएपछि नयाँ मुख्यमन्त्रीमा शाह दोहारिन लागेका हुन्।
५३ प्रदेश सभा सदस्यीय सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, सभामुखसहित माओवादी केन्द्रका ११, एमालेका ११, नाउपाका ७, नेकपा एसका ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन्।
शाहलाई आइतबार साँझ नै मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रदेश प्रमुखको तयारी छ।
प्रकाशित: २० श्रावण २०८१ १३:३४ आइतबार