कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रीमा सिफारिस भएका घनश्याम भण्डारी शहिदपुत्र हुन् । सशस्त्र द्वन्द्वका बेला २०५९ असोज १२ गते तत्कालीन विद्रोही माओवादीले भण्डारीका बुवा पूर्णबहादुर भण्डारीको हत्या गरेका थिए । २०४० सालमा जन्मेका भण्डारी बुवालाई माओवादी विद्रोहीले हत्या गरेपछि राजनीतिमा होमिएका थिए ।
भण्डारीले राजनीतिलाई व्यक्तिगत लाभको खोजीमा नभई समाजलाई उज्यालो बनाउने माध्यमका रुपमा लिएको बताए । ‘राजनीति निःस्वार्थ समाजको सेवाका लागि हो,’ उनले भने, ‘राजनीतिलाई सामाजिक रूपान्तरणको औजार लिएर काम गर्नेछु ।’भण्डारीसँग स्थानीय तहको नेतृत्व गरेको अनुभव पनि छ । उनले दुल्लु नगरपालिकाको मेयरका रुपमा पाँच वर्ष स्थानीय तहको नेतृत्व गरेका थिए । सार्वजनिक पूर्वाधार निर्माण, सरसफाई, गरिबी निवारण कार्यक्रम र सामुदायिक सशक्तीकरण परियोजनाहरूमा उनको भूमिका महत्त्वपूर्ण थियो ।
पत्रकारिता पृष्ठभूमिका भण्डारी नेपाल प्रेस युनियन दैलेखको संस्थापक अध्यक्ष हुन् । नेपाल पत्रकार महासंघ दैलेख शाखाको सचिव भइसकेका उनले धमाका दैनिक हुँदै द्रोणाचल साप्ताहिक, रेडियो दुल्लु, मध्य पहाड मासिक पत्रिकासम्म निकालेका थिए । सङ्घीय राजधानीबाट प्रसारण हुने टेलिभिजन र पत्रिकामा जिल्ला संवाददाताको रुपमा काम गरिसकेका उनले सामुदायिक वन र विद्यालय व्यवस्थापन समितिको पनि नेतृत्व सम्हालेका छन् । भण्डारीले मध्यपश्चिम विश्वविद्यालयबाट स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन् ।
प्रकाशित: १८ श्रावण २०८१ १५:५३ शुक्रबार