२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

अमेरिकी दूतावासलाई पत्राचार गरेको विवादमा उपसभामुख रानाले भनिन : अनैतिक कार्य भएको छैन

फाइल तस्बिर

अमेरिकी दूतावासलाई पत्राचार गरेको विवादका बारेमा उपसभामुख इन्दिरा रानाले दूतावासलाई अन्तबार्ताको लागि अगाडिको मिति राखिदिन अनुरोध गरेको स्वीकार गरेकी छन् । तर, उनले आफुले कुनै अनैतिक कार्य नगरेको शुक्रबार विज्ञप्तिमार्फत स्पष्ट पारेकी छन् ।

केही युवालाई अमेरिका पठाउन अमेरिकी दूताबासमा भिसा आवेदन दिएको र अमेरिकाले उनीसहित कसैलाई पनि भिसा भने दिएन भन्ने खालका भ्रामक र तथ्यहीन समाचारहरू आएपछि उनले शुक्रबार विज्ञप्तिमार्फत स्पष्ट पारेकी हुन्।

उनले विज्ञप्ति निकाल्दै भनेकी छिन् ,‘म लामो समयदेखि समाजसेवामा कार्यरत रहेको र आफ्नो कामको सिलसिलामा संयुक्त राज्य अमेरिका लगायत विश्वका थुप्रै मुलुकको यात्रा पनि गरिसकेको छु। चुनामा रहेका बुबा वा आमासँग कारागार भित्र बाध्यात्मक अवस्थामा रहनु परेका बालबालिकाहरूको शिक्षा र जीवनको सुरक्षाका लागि म दुई दशकभन्दा बढी समयदेखि अनवरत कार्यरत थिएँ र छु । मेरो काम विश्वभर परिचित छ। मैले गरेका कामहरूबाट बालबालिकाको क्षेत्रको नोबेल पुरस्कार भनिने “World’s Children’s Prize” लगायत थुप्रै पुरस्कार र सम्मानबाट सम्मानित हुने अवसर पनि पाए‌को छु। मैले पाएका पुरस्कारका सबै रकमहरू मैले आफूले गरिरहेको सामाजिक सेवामा नै समर्पण गरेको इतिहास सबैको सामुन्ने नै छ।’

उनले अगाडि भनेकी छन,‘पछिल्लो संघीय चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट समानुपातिक उम्मेदवारको रूपमा निर्वाचित भई प्रतिनिधि सभाको उपसभामुख जस्तो महत्त्वपूर्ण भूमिकामा रहने अवसर प्राप्त गरेको छु। मैले आजसम्म सम्मानित सदन र पदको गरिमामा आँच आउने गरी कुनै पनि काम गरेको छैन र गर्ने पनि छैन। उपसभामुखका रूपमा मैले अमेरिका लगायत अन्य देशमा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा नेपालको प्रतिनिधित्व गर्दै समानता, सामाजिक न्याय र पिछडिएका वर्गको तर्फबाट निरन्तर आवाज उठाइरहेको जगजाहेर छ ।

‘गत वर्ष २०२३ को मार्च महिनामा UN Commission on Status of Women (UN CSW) सम्मेलनसँगै समानान्तर रूपमा आयोजना हुने NGOCSW 67 मा सहभागिताको लागि म लगायत अन्य सहभागीलाई आएको निमन्त्रणा स्वीकार गरी अमेरिका जाने क्रममा यात्रा गर्नुपर्ने समयावधि अत्यन्त छोटो रहेको तर राजदूताबासमा अन्तर्वार्ताको मिति लिन लामो समय कुर्नुपर्ने अवस्था रहेको अवस्थामा  रहेको अवस्थामा मैले मसँगै उक्त कार्यक्रममा सहभागी हुन जान निमन्त्रणा आएको र उक्त कार्यक्रममा मेरो लागि सहयोगी समेत भैदिने हुनाले अन्तर्वार्ताको लागि मिति लिइदिन अनुरोध गरेपछि मैले नेपालस्थित संयुक्त राज्य अमेरिकाको राजदूतावासलाई अन्तर्वार्ताको लागि मिति राखिदिन अनुरोध मात्र गरेको थिएँ। कसैलाई भिसा दिने वा नदिने स्वः निर्णय राजदूतावासले आफ्नो नीति र प्रक्रिया बमोजिम गर्ने नै हुन्छ। मैले कसैको भिसाको लागि अनुरोध पनि गरेको छैन । हैन।

उक्त सम्मेलनमा सहभागी भइसकेपछि पनि म अन्य कार्यक्रमको सिलसिलामा अमेरिका लगायत अन्य मुलुकको यात्रा गरिरहेको

मैले उपसभामुखको जिम्मेवारी वहन गरेको केही साताभित्र आएका निमन्त्रणामा सँगै जानुपर्ने भनी आएको अनुरोधलाई स्वीकार गरी लेखिएको पत्र पदीय मर्यादा अनुरुप भएन भनी आइरहेका प्रतिक्रिया तथा दृष्टिकोणप्रति पनि मेरो गम्भीर ध्यानाकर्षण भएको छ। मलाई माया र सद्भाव राखी सचेत गराउन खोज्नु भएका सञ्चारकर्मी लगायत अन्य शुभेच्छुक, शुभचिन्तकजनप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु । तर मैले करुणाभावले सहयोग गर्न खोजेको विषयलाई उक्त पत्र लेखेको झण्डै डेढ वर्षपछि विवादित गराउन खोज्नु म विरुद्ध नियोजित कदम रहेको देखिन्छ । मलाई नजिकबाट चिन्नेहरु मेरो स्वभावसँग जानकार नै हुनुहुन्छ । मेरा स्वभावगत कमजोरी धेरै होलान्, त्यसबाट फाइदा उठाउने पनि धेरै होलान् तर अनैतिक कार्य मबाट भएको छैन, हुने छैन । आम जीवनबाट राजनीतिमा आइपुग्दा मैले दशकौ लगाएर आर्जन गरेको प्रतिष्ठा र सेवामा समर्पित सार्वजनिक जीवन माथि लाञ्छना लगाउने कुत्सित प्रयासबाट कत्ति पनि विचलित नभइ म नेपाल र नेपालीको सेवामा निरन्तर लागिरहेको जानकारी गराउन चाहन्छु ।’

प्रकाशित: ४ श्रावण २०८१ १६:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App