१५ भाद्र २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रहरी हेडक्वार्टर पुगेर गृहमन्त्रीले भने: ‘विधिको शासन लागू गर्नु प्रहरीको पहिलो काम’

गृहमन्त्री रमेश लेखकले विधिको शासनलाई लागू गर्नु प्रहरीको पहिलो काम भएको बताएका छन्।

प्रहरी प्रधान कार्यालयको स्थलगत अनुगमनपछि सम्बोधन गर्दै उनले संविधान र कानुनमा लेखेको कुरा आफै कार्यान्वयन नहुने बताए। “संविधानमा धेरै मौलिक हकका कुरा गरेका छौँ, राज्य र नागरिकका सम्बन्धका कुरा गरेका छौँ” गृहमन्त्री लेखकले भने, “ती आफै परिचालित र क्रियाशील हुने होइनन्।”

उनले लोकतन्त्रको आधारभूत मान्यता भनेको विधिको शासन भएको बताए। “लोकतन्त्र कुनै अमूर्त विषय होइन” उनले भने, “नेताहरुले भाषण गर्ने र नागरिकले भाषण सुन्ने विषय मात्रै पनि होइन, लोकतन्त्रको आधारभूत मान्यता हुन्छन्, विधिको शासनपनि एउटा मान्यता हो।”

उनले निष्पक्षता, पारदर्शीता र व्यवसायिकतामा कमी हुन नदिन निर्देशनसमेत दिए। “उच्च मनोबलका साथ काम गर्नुहोला, प्रहरीको मनोबल उच्च राख्नको लागि र मनोबल उच्च रहिरनका लागि प्रेरणादायी काम गर्न मन्त्रालयले गर्नेछ ” गृहमन्त्री लेखकले भने, “हामी त्यसमा प्रतिबद्ध छौँं।”

गृह प्रशासन आफ्ना लागि नयाँ अनुभव भए पनि संसद्‌मा कानुन र संविधान निर्माणको क्षेत्रमा काम गर्ने अवसर लामो समयदेखि पाएको उनको भनाइ थियो।

“नेपाल प्रहरी इतिहास बोकेको गर्व लगर्न लायक संस्था हो।” उनले भने, “कानुनी व्यवस्था कायम गर्ने, अपराध नियन्त्रण गर्ने सवालका साथै मुलुक र समाजलाई न्यान दिने सवालमा प्रहरीको अहम् भूमिका रहेको छ।”

सीमित स्रोतसाधन र जनशक्तिकाबीच प्रहरीले काम गरिरहेको जनाउँदै गृहमन्त्री लेखकले भने, “प्रहरी सङ्गठन थप सुदृढ र क्रियाशील बनाउन प्रहरी ऐन संशोधन आवश्यक छ।”

सो अवसरमा गृह सचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँरको उपस्थिति रहेको थियो। मन्त्री लेखकको प्रहरी प्रधान कार्यालयमा रहेको अमर सहिद प्रहरीको शालिकमा माल्यार्पण गर्नुका साथै विभिन्न विभागको अनुगमन गरेका थिए।

प्रकाशित: २ श्रावण २०८१ १६:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App