२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

‘रवि क्लब’ को कारबाही भन्दै मुकुलको प्रतिवादः पत्रकार सम्मेलनमा के-के भने ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री र प्रवक्ता पदबाट बर्खास्त गरिएका डा. मुकुल ढकालले अझै पनि आफू कानुनी रूपमा सोही पदमा रहेको दाबी गरेका छन्।

बुधबार पत्रकार सम्मेलन गर्दै ढकालले आफूलाई ‘रवि लामिछानेको क्लबबाट मात्र निष्कासन’ गरिएको दाबी गर्दै रास्वपाको महामन्त्री र प्रवक्ता पदबाट रितपूर्वक कारबाही नभएकाले पदमा यथावत् रहेको बताएका हुन्।

‘म अहिले पनि रास्वपाको महामन्त्री र प्रवक्ता हो। किनभने उहाँहरूले मलाई प्रक्रियागत रूपमा निष्कासन गर्नुभएकै छैन,’ ढकालले भने। पहिलो त उनले आफूमाथि स्पष्टीकरण सोध्ने केन्द्रीय अनुशासन आयोगको वैधतामाथि प्रश्न उठाए। उनले भने, ‘जुन आयोगबारे मैले पहिल्यै प्रश्न उठाएको छु, उसैको सिफारिसमा कारबाही गरिएको छ।’ त्यसमाथि आयोगले असार १४ को मितिमा सात दिनको स्पष्टीकरण सोधिएको उनले बताएका छन्।

‘यसअनुसार असार २१ गतेसम्म समय हुन्छ। तर उहाँहरूले असार १९ गते नै निलम्बन गरेर विधि, पद्धतिको उलंघन गर्नुभएको छ,’ उनले भने, ‘मलाई त्यतिबेला सोधिएको थियो, तपाईलाई कसरी कारबाही गर्ने रु मैले भन्दिएँ–राजनीतिक दल सम्बन्धी ऐन हेर्नुस्। त्यो पनि हेर्न जान्नुभएनछ।’ राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को व्यवस्थाबमोजिम आफुमाथि सफाईको मनासिव मौका नै नदिइ कारबाही गरिएकाले त्यो राज्यको प्रचलित कानुनबमोजिमको कदम भएको उनले बताए।

‘राजनीतिक दलसम्बन्धी ऐनको प्रावधान विपरीत स्पष्टीकरणको म्याद नसकिँदै निलम्बनको पत्र थमाउनु गलत छ,’ उनले भने। यस्तै उपसभापति डोलप्रसाद अर्याल (डिपी) को हातबाट निलम्बनपत्र थमाउनु पनि बिधिसम्मत् नरहेको उनले औल्याए। सभापतिले अधिकार प्रत्यायोजन नगरीकन उपसभापतिले निलम्बन गर्न नसक्ने उनको तर्क छ।

पत्रकार सम्मेलनमा ढकालले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले दिनभर पार्टी बैठकमा समय गुजारेर संवेदनहीन काम गरेको पनि आरोप लगाए। उनले भने, ‘तर उहाँ त्यस्तो रहनुभएन। उहाँ जनता बाढी पहिरोमा बित्दै गर्दा पार्टीको दिनभर बैठक राखेर महामन्त्रीलाई कारबाही गर्ने वा नगर्ने तहमा उत्रिनुभयो।’

ढकालले पत्रकार सम्मेलनका क्रममा लामिछानेसँग जोडिएको, पार्टी खोल्दा, त्यसपछिका अनुभव, पछिल्लो असन्तुष्टि लगायतको विषयको पनि सिलसिलामै खुलासा गरेका छन्।

पार्टी स्थापनाको स्मरण

पत्रकार सम्मेलनमा ढकालले पार्टी स्थापना र त्यसअघिको इतिहास स्मरण समेत गरेका छन्। रवि लामिछाने फाउन्डेसनबाट कालिकोटमा अस्पताल खोल्ने विषय लामिछानेले नभई आफूले सुझाएको उनले बताए।

ढकालका अनुसार लामिछानेसँग त्यही अस्पताल बनाउँदा अस्पताल मात्र नभई राजनीतिमा लागेर देश बनाउने सल्लाह भएको थियो। ‘०७९ मै पार्टी खोल्ने सल्लाह भएको थियो। तर उहाँले आँट गर्नुभएन,’ ढकालले भने,‘त्यसपछि ०७९ सालमा काठमाडौं महानगरपालिकाको मेयर उठ्न तयारी गर्न भन्नुभयो । केहि समय तयारी गरियो। तर उहाँले आँट गर्नुभएन्।’ तर आफुहरूले बालेन्द्र साहलाई सहयोग गरेको ढकालले बताए।

बालेनले जितेपछि ‘राजनीतिको नवीनको कार्यदिशा’ दस्तावेज आफुले तयार पारेको ढकालले बताए । ‘त्यसपछि पार्टी खोल्ने एक प्रकारको तयारी थालियो,’ उनले भने।

सुरुमा पार्टी खोल्ने सल्लाह हुँदा ६ जना मात्रै रहेको ढकालले सुनाए। जसमा सभापति लामिछाने, उनकी पत्नि निकिता पौडेल, अहिलेका उपसभाति डिपी अर्याल, विपीन आचार्य र खुश्वु सरकार श्रेष्ठ रहेको उनले बताए।

‘डिपी अर्याललाई आर्थिक र केन्द्रीय सदस्य खोज्ने जिम्मा दिइयो, खश्बुलाई ब्रान्डिङको जिम्मेवारी र राष्ट्रिय सभागृहमा कार्यक्रम, घण्टी मैले भनेको हो, आकार खुश्बुको हो,’ ढकालले भने,‘विपीनलाई अनलाइन प्रचारप्रसार र मलाई  विधानदेखि लिएर अन्य दस्तावेज तयार गर्ने जिम्मेवारी दिइएको थियो।’

सहमहामन्त्री रहेका कवीन्द्र बुर्लाकोटी अर्यातको स्टाफ र व्यपारीक साझेदार भएको र आफूले ‘थोरबहुत चिनेका’ ले सँगै लिएर जानुपर्छ भनेको ढकालले बताए । त्यसपछि २१ जना खोज्नेक्रममा आफूले आदिबासी, जनजाती र महिलाको खाँका दिएको र त्यसअनुरुप डिपी अर्यालले खोजेको उनले बताए। ‘तीमध्ये एकजना प्रभात अधिकारी मैले भनेर आउनुभएको हो, अरु सबै व्यक्ति कि त निकिता पौडेल लामिछाने, कि त कवीन्द्र बुर्लाबोटी, कि त डिपी अर्यालको सिफारिसमा केन्द्रीय सदस्य बन्नुभयो।’

आर्थिक व्यवस्थापन सबै जिम्मेवारी डिपी अर्यालले सम्हालेको उनले बताए।

‘बालपन’ आरोपमाथि प्रतिवाद

ढकालले आफूमाथि लागेको ‘बालापन’को आरोपको प्रतिवाद गरे। ‘मेरो कार्यशैली बालापन भनियो। मैले त भन्दै आएको छु लाइभ गरौं कसको शैली कस्तो छ थाहा भैहाल्छ नि,’ उनले भने, ‘तर त्यो कुरालाई योजनाबद्ध रूपमा इन्कार गरेर बन्द कोठाभित्र म माथि, मेरो छवि माथि धावा बोलियो।’

आफ्नो स्वाभावमाथि विगतमा कुरा नउठेको उल्लेख गर्दै ढकालले सबैभन्दा बढी सहकोषाध्यक्ष दीपक बोहराको शैलीमा आवाज उठेको बताए। उनले भने, ‘समीक्षा बैठकमा पनि पटक–पटक दीपक बोहराको शैलीमाथि प्रश्न उठेको छ।’

असार १९ गतेको बैठकको सुरुमै सभापति लामिछाने ‘खबरदार कोही पनि मान्छे लाइभको पक्षमा, मुकुलको पक्षमा ओर्लेलास् म देखाउँछु। शैली’मा उत्रिएको उनले आरोप लगाए। उनले भने,‘खबरदार लाइभको पक्षमा कोही बोलिस् भने तेरो खैर छैन भनेर प्रस्तुत हुुनुभयो र साथिहरू थुरथुरथुरथुर......’

लाइभको विपक्षमा स–साना बैठक गरेर अगाडि नै माहोल बनाइसकेको ढकालको आरोप छ। ‘केन्द्रीय समितिमा उहाँले बनाएका मान्छेहरू छन्। ज्वाला संग्रौला, रमेश प्रसाई र पार्टीका संयन्त्र प्रयोग गरेर उहाँले पहिल्यै माहोल बनाइसक्नुभएको थियो। त्यही कुरा बैठकमा भयो,’ उनले भने।

बरु त्यो बैठकमा आफूले मुखमा कालो पट्टी बाँधेको अवस्थामा छलफल गर्नुको साँटो बैठक निरन्तर राख्नु बालापन रहेको ढकालको टिप्पणी छ।

‘त्यतिबेला बैठक गर्नु पनि अपरिपक्वता हो। त्यो नांगो नाच हो। त्यो नाच रवि लामिछाने नाच्नुभो केन्द्रीय कमिटी नाच्यो,’ उनले भने।

सभापतिले कुरै गर्न चाहेनन्

पत्रकार सम्मेलनमा ढकालले समीक्षा यात्राको प्रतिवेदनबाट सार्वजनिक भएका विषयवस्तु सभापति लामिछानेकै सहमतिमा भएको दाबी गरे। आफूले प्रतिवेदनमा उठाएका विषयहरूमा तीन मुख्यविषय रहेको बताउँदै उनले ‘असक्षम मन्त्रीको जिम्मेवारी पार्टीले लिँदैन’ भन्ने सभापतिको आग्रहकै कारण बाहिर नदिइएको बताए।

तर, जब प्रतिवेदन सार्वजनिक भयो त्यसपछि भने आफुसँग कुरै गर्न नचाहेको ढकालको भनाई छ। यस दौरानमा पटक–पटक कुरा गर्न चाहदा पनि सभापति लामिछानेले नचाहेको उनले बताए। ‘प्रचण्डको घर जानुहुन्छ, ओलीको घर जानुहुन्छ, भाई मान्नुहुन्छ भने मुकुलसँग पनि कुरा गर्नुस् भन्दा मान्नुभएन,’ ढकालले भने।

त्यसअघि आफुले पार्टी सभापतिविरुद्ध एक शब्द पनि नबोलेको समेत उनले सुनाए। उनले भने, ‘मैले पार्टी बिरामी छ, अप्ठेरो अवस्थामा छ। ठुलै उपचार चाहिन्छ मात्र भनेको थिए। लोकतान्त्रिक पार्टीमा यत्ति पनि भन्न नपाइने भन्ने हुन्न।’

आजको रविलाई दाहाल–ओली शैली मनपर्छ

पत्रकार सम्मेलनमा ढकालले ‘आजको लामिछाने’लाई पुराना भनिएका नेताको शैली मनपर्ने भन्दै तिखो व्यंग्य समेत गरे। ‘आजको रवि लामिछानेलाई प्रचण्डको शैली मनपर्छ। कता न कता केपी ओलीको शैली मनपर्छ,’ ढकालले भने।

पछिल्लो समय लामिछानेलाई कांग्रेस सभापति शेरबहादुर देउवाको सरकार बन्ला मन्त्री हुँला भन्ने लागिरहेको पनि उनले बताइए। उनले भने, ‘७६ (३) सरकार बन्ला कि, कतै टुसुक्क सरकारमा जान पाइएला भनेर अझैसम्म पनि सरकारमा टाँस्सिरहनुभएको छ। कता न कता उहाँलाई देउवाको शैली मनपर्छ।’

‘प्रस्ताव यात्रा’ गर्ने

समीक्षा यात्राको प्रतिवेदनका कारण महामन्त्री र प्रवक्ता पद गुमाएका ढकालले आगामी महिना ‘प्रस्ताव यात्रा’ गर्ने उद्घोष गरे। उनले भने, ‘जनताको कुरा गर्दा रवि लामिछाने क्लबबाट कारबाही हो। अब के बोल्ने र के नबोल्ने निर्धारण गर्नुपर्ने छ। यो निर्धारण गर्न आगामी महिना प्रस्ताव यात्रा गर्छु।’

यात्रामा धेरै जनताको घरमा जाने र त्यहाँ के कुरा बोल्नहुन्थ्यो, के हुन्नथ्यो सोध्ने ढकालले बताए । उनले भने, ‘म जनतामा गएर सोध्छु–मैले जनताको कुरा बोल्दा कालो र गोप्य कोठाभित्र गएर बोल्नुपर्ने हो ?’

राहदानी र सहकारी ठगीमा छानबिन हुनुपर्छ

पत्रकार सम्मेलनमा ढकालले सभापति लामिछानेको सहकारी ठगी मुद्दामा सवोच्च अदालतको स्पिरिटअनुसार पार्टीभित्र पनि छानबिन हुनुपर्ने बताएका छन्।

‘सर्वोच्चले रवि लामिछानेमाथि अनुसन्धान गर्नुपर्छ, सहकारी ठगीमाथि अनुसन्धान गर्नुपर्छ भनेर सर्वोच्च अदालतले यही बिहीबार फैसला गरेको छ। त्यसैले पार्टीले पनि स्वतन्त्र उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ,’ उनले भने।

न्यायाधीशबीच राय बाझिएको विषय नैतिकता आधारमा राजीनामा दिने वा दिन नपर्ने भन्ने विषयमा मात्र भएको बताउँदै उनले अनुसन्धान भने हुनुपर्ने कुरा अर्को पटक फैसला हुँदा पनि आउने तय भइसकेको उनले बताए।

‘हिजोको दिनसम्म जाहेरी परेकैमा अनुसन्धान हुँदैन भन्ने उहाँको दाबीमा हामीले स्वीकार गरेका थियौं,’ ढकालले भने,‘आजको दिनमा त्यो दाबीलाई आजको दिनमा सर्वोच्च अदालतले भनिसकेको छ, रवि लामिछानेमाथि अनुसन्धान हुनुपर्छ।’

रवि क्लबले छानबिन गर्नेवाला नरहेको बताउँदै उनले  रास्वपाले सर्वोच्च अदालतको फैसलालाई कदर गर्दै स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने उनको प्रस्ताव छ। ‘संसदको छानबिन समितिले मात्र पुग्दैन अब पार्टीको पनि स्वतन्त्र छानबिन समिति बन्नुपर्‍यो,’ ढकालले भने।

यस्तै राहदानीका विषयमा पनि छानबिन हुनुपर्ने ढकालले बताए। ‘यदि उहाँलाई दोषि ठहर गरेको खण्डमा कहिल्यै पनि चुनाव लड्न पाउनुहुन्न,’ उनले भने, ‘पार्टीको जीवनसँग जोडिएको विषय भएकाले उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्छ।’

प्रकाशित: २६ असार २०८१ २०:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App