१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

सुदूरपश्चिममा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय !

सत्ता गठबन्धन दलले भागबण्डा मिलाउन सुदूरपश्चिम प्रदेशमा मन्त्रालय फुटाइएको छ। गत जेठ २८ गते नियुक्त भएका विना विभागीय मन्त्रीहरुलाई जिम्मेवारी दिन मन्त्रालयलाई फुटाइएको हो।

यसअघि सुदूरपश्चिममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित दश मन्त्रालय बनाइएको छ। आइतबार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भौतिक पूर्वाधार, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई फुटाएर थप ३ मन्त्रालय थप गरेर पाँच जनालाई मन्त्रालयसहित जिम्मेवारी तोकेका हुन्।

२१ दिनदेखि विना विभागीय मन्त्री बनेकाहरूलाई मन्त्रालय फुटाएर जिम्मेवारी दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। आइतबार भौतिक पूर्वाधार विकास मन्त्रालयलाई फुटाएर बनाइएको जलश्रोत तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी नेकपा माओवादी (केन्द्र) का अक्कलबहादुर रावललाई दिइएको छ। नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यस्तै गरेर सामाजिक विकास मन्त्रालयलाई फुटाएर नेकपा माओवादी (केन्द्र) का ओमविक्रम भाट ‘सरल’लाई स्वास्थ्य महिला तथा बालबालिका र माओवादीकै लक्ष्मी बिकलाई शिक्षा, युवा तथा खेलकुद मन्त्री बनाइएको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर नेकपा (एमाले) का वीरबहादुर थापा ‘पातल’लाई वन, वातावरण तथा सहकारी र नेकपा (एकीकृत समाजवादी) का माया पन्तलाई उद्योग, वाणिज्य, पर्यटन र संस्कृति मन्त्री बनाइएको छ। एमालेकै हीरा सार्कीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यसअघि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री सोडारीले जेठ २८ गते सात जनालाई मन्त्रीमा नियुक्त गरेका थिए। ती मध्ये ५ जनाले जिम्मेवारी पाएका थिएनन्। एमालेका सुरेन्द्रबहादुर पाल आर्थिक मामिला र जेठ  ६ मा नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई भौतिक पूर्वाधार र जेठ १८ गते नागरिक उन्मुक्ति पार्टीकै टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरिएको थियो।

अहिले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपा (एकीकृत समाजवादी)का सोडारीले लिएका छन्। समाजवादीबाट मुख्यमन्त्रीसहित दुई जना, नेकपा एमालेबाट ३ जना, नेकपा माओवादी (केन्द्र) बाट ३ जना र नागरिक उन्मुक्ति पार्टीबाट २ जना सरकारमा छन्। 

प्रकाशित: १६ असार २०८१ १८:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App