१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

‘समीक्षा यात्रा’ प्रतिवेदन: मुकुलविरुद्ध नै ‘ब्याक फायर’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा.मुकुल ढकालको ‘समीक्षा यात्रा’ प्रतिवेदन उनीविरुद्ध नै ‘ब्याक फायर’को संघारमा पुगेको छ। प्रतिवेदनकै कारण उनको महामन्त्री पद नै धरापमा परेको छ।

अहिले रास्वपाभित्रका अधिकांश नेताहरू ढकाललाई महामन्त्रीबाट हटाउनुपर्ने भन्दै अभियानमा जुटेको सन्देशहरू आइरहेका छन्।

स्रोतका अनुसार ढकालको प्रतिवेदन सभापति रवि लामिछानेलाई नै चित्त बुझेको छैन। उनका निकटस्थहरू पनि अहिले ढकालको विपक्षमा उभिएका छन्। पार्टी सञ्चालनका क्रममा महामन्त्री ढकालसँग विगतमा असन्तुष्ट रहेकाहरू पनि अहिले चर्को भाषा बोलिरहेका छन्।

उसो त महामन्त्री ढकालले सभापति लामिछानेलाई प्रतिवेदन बुझाएकै दिन बुधबार आफ्नो महामन्त्री पद जान सक्ने खतरा देखेका थिए। गृह मन्त्रालयबाहिर पत्रकारसँग कुरा गर्दै उनले भनेका थिए,‘पार्टीको आदेशबमोजिम मैले निर्मम समीक्षा गरेको छु। त्यो निर्मम समीक्षापछि तैँले यसो भन्ने हो भनिन सक्छ । मैले भनेको होइन्, आजको जनताले भनेको हो।’  तीन हजार भन्दा बढी जनतासँगको कुराकानीमा ‘पार्टी दुर्घटना उन्मुख छ, यो तरिकाले पार्टी’ चल्दैन भन्ने सन्देश दिएको उनले बताएका थिए।

‘यही कुरा मैले बोलिदिएको हो। र, यसरी बोल्दा खेरी मसँग रिसाउने वा मलाई हटाउनुपर्छ भन्ने कुराहरू, सहदेवको जसरी मृत्यु हुनसक्छ म त्यसरी एक पात्र व्यक्तिको मृत्यु त हुनसक्दैन्। तर महामन्त्रीको मृत्यु हुनसक्छ,’ ढकालले भनेका थिए।

आफ्नो त्यहीँ डरलाई पुष्टि हुने गरी सभापति लामिछानेलाई बुझाएको छुट्टै पत्रमा पनि ब्यहोरा लेखेका थिए। जसमा उनले आफूमाथि घृणित राजनीति भएकोसम्म लेखेका छन्। ‘मैले गर्दै नगरेका कामहरूलाई पनि मेरो नाममा थुपारिदिएर पार्टीभित्र घृणित राजनीति भयो।’ भनेर उनले लेखेका छन्। रास्वपाभित्रका जिम्मेवार पदाधिकारीबाट सम्भवतः यसरी आन्तरिक विवाद देखिने गरी अभिव्यक्ति आएको पहिलोपल्ट हो।

उक्त पत्रमा उनले आफूले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न भनेका छन्। ‘यो प्रतिवेदन सार्वजनिक नगरिनु ममाथि पार्टीले गरेको अन्याय हुन्छ। ममाथि न्याय गरियोस्, यो प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक गरियोस्’, उनले लेखेका छन्।

महामन्त्री ढकालले आशंका गरेजस्तै अहिले उनको महामन्त्री पद खोस्नका लागि तीव्र किसिमले ‘लबिङ’ भइरहेको रास्वपास्रोत बताउँछ।

सभापति लामिछाने पनि आफ्नो चाहनाविपरितको प्रतिवेदन तयार पारेको, सार्वजनिक सञ्चारमाध्यममा अभिव्यक्ति दिँदै हिँडेको भन्दै असन्तुष्ट छन्। जसले उनीनिकट नेताहरूको निसानामा महामन्त्री ढकाल परेका छन्।

सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले त महामन्त्री ढकालले आन्तरिक समीक्षा गर्नुअघि सञ्चारमाध्यममा बयानबाजी गर्दै हिँडेको भन्दै आलोचना गरेका छन्। उनले भनेका छन्, ‘सरकारका विषयमा उहाँले समीक्षा गरेर आन्तरिक भन्नुपर्थ्यो। केपी–प्रचण्डलाई मिडियामार्फत चिढ्याउन पर्दैनथ्यो। चिढ्याएर फाइदा छैन भन्ने कुरा सबैलाई थाहा छ।’

उता रास्वपा कोशी प्रदेशका पूर्व महामन्त्री लालविक्रम थापाले ‘सभापति लामिछानेलाई होचो देखाउन षड्यन्त्रमूलक ढंगले महामन्त्रीको अभिव्यक्ति आएको’ भन्दै आपत्ति नै जनाएका छन्। फेसबुकमा लामो स्टाटस लेख्दै थापाले महामन्त्री ढकालको प्रतिवेदनलाई सर्वोच्च अदालतमा चलिरहेको मुद्दासँग पनि जोडेर षडयन्त्र भएको भन्न खोजेका छन्।

सहकारी ठगी प्रकरणमा महान्यायाधिवक्ता कार्यालयको पत्र विरुद्ध सर्वोच्चमा रिट निवेदन परेको छ। जसको ‘असार १६ गते फैसला सुनाउने सम्भावना रहेको फैसलालाई राजनैतिक चुनौती छैन’ भन्ने सन्देश दिन खोजेको आरोप लगाएका छन्।

थापाले आफूलाई कोशी प्रदेशको महामन्त्री पदबाट हटाएको विषयमा पनि महामन्त्री ढकालमाथि दोष थोपरेका छन्। त्यहीँ निर्णयले इलाम–२ मा निर्वाचन हारेको उनले लेखेका छन्,‘त्यति बेला जानीजानी यिनै महामन्त्रीको आदेशमा कोशी प्रदेशलाई महामन्त्री तथा संगठन विभाग प्रमुख विमुख बनाउन प्रचलित नेपालको कानुन र विधान विपरीतको आरोप लगाइयो। कारण उहाँलाई पार्टी हराउनु र अरु नै पार्टीलाई चुनाव जिताउनु थियो।’

थापाले महामन्त्री ढकालले ‘आज मिडियामा आएर बालेन चाहियो’ भनेको विषयमा पनि कटु आलोचना गरेका छन्। समानुपातिक सांसद बनाउँदा बालेनसँग निकट भएकै कारण गणेश कार्कीलाई रोकेर विधिविपरीत आफ्ना मान्छेलाई सांसद बनाएको भन्दै ढकाललाई आरोप समेत लगाएका छन्।

महामन्त्री ढकाल स्वार्थी, अपरिपक्व नेतृत्व भएको टिप्पणी गर्दै उनको हातबाट पार्टी ‘अगाडि बढ्न सक्दैन भन्ने कुरा पटक पटक भन्दै आएको’ समेत खुलाएका छन्।

महामन्त्री ढकाल विगतमा सभापति लामिछानेकै संरक्षणमा पार्टीका हर्ताकर्ता रहेको एक नेता बताउँछन्। ‘सभापतिज्यूले राम्रै महत्त्व दिएको र काममा प्रोत्साहित गरेको व्यक्ति हो। उहाँमाथि सभापतिको विश्वास बढी भएकैले उहाँले कैयौँ व्यक्तिमाथि अन्याय गर्नुभएको छ,’ ती नेता भन्छन्,‘पार्टीका निर्णय पनि सभापतिले चाहेझैँ उहाँले गराउनुहुन्थ्यो। अहिले खै के बिग्रेको हो।’

सभापतिसँगको त्यही निकटता र गतिविधिले महामन्त्री मुकुलसँग रिसाएकाहरू पनि अहिले उनलाई हटाउने ध्याउन्नमा लागेका छन्। जसले उनको पद गम्भीर संकटमा परेको रास्वपास्रोत बताउँछ।

रास्वपाले महामन्त्री ढकालको प्रतिवेदनमाथि छलफल गर्न १९ गते बैठक बोलाएको छ। त्यहीँ बैठकबाट उनको पदको भविष्य निर्धारण हुने नेताहरू बताउँछन्।

प्रकाशित: १४ असार २०८१ १७:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App