१६ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

रास्वपालाई रञ्जुको जवाफ: एक जनाको वरपर घुम्ने दल होइन

‘विवेकशीलको भोगाइबाट सिक्नुभएन, सत्ता रस पसेर हो की’

विवेकशील साझा पार्टीकी महासचिव रञ्जु दर्शनाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालको अभिव्यक्तिको प्रतिक्रिया दिएकी छन्। सामाजिक सञ्जाल एक्स (ट्विटर) मा लामो टिप्पणी लेख्दै दर्शनाले प्रतिक्रिया दिएकी हुन्। 

रास्वपा महामन्त्री ढकालले आफ्नो देश दौडाहापछिको अनुभव सुनाउँदै यही अवस्थामा अघि बढे रास्वपा ‘अर्को विवेकशील’ बन्ने खतरा रहेको टिप्पणी गरेका थिए । उनको यही अभिव्यक्तिमा विवेकशील साझाकी महामन्त्री दर्शनाले प्रतिक्रिया दिएकी हुन्। 

उनले भनाइको सुरुवातमा गीताको श्लोकलाई उल्लेख गरेर आफूलाई विवेकशील यात्राको यही कुराको झझल्को आउने बताएकी छन्।

उनले लेखेकी छन्,‘भगवद गीतामा भनिएको छः ‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन’ अर्थात कर्ममा मात्र तिम्रो अधिकार हुन्छ, त्यसको फलमा हुँदैन। मलाई बेला बेला विवेकशील साझाको यात्रामा यही कुरा झझल्को आउँछ।’

त्यसपछि रास्वपा महामन्त्री ढकालले  आफ्नो ‘पार्टी दुर्घटना उन्मुख छ, बेलैमा सचेत हुनुपर्छ’ समीक्षा प्रतिवेदन तयार पारेको सुनेको दर्शनाले उल्लेख गरेकी छन्। ‘विवेकशीलको जस्तै अवस्था आउला भन्नुभएको पनि सुनेँ। र, आफ्नो केही कुरा यहाँ राख्न मन लाग्यो,’ उनले अगाडि लेखेकी छन्।

रास्वपाको सुरुवात  हुँदा विवेकशील नेपाली दलका संस्थापक उज्ज्वल थापाको निधन भएको एक वर्ष मात्रै भएको कुरा दर्शनाले स्मरण गरेकी छन्। थापाको निधनपछि लाखौँले सान्त्वना प्रदान गरेको र उनको नाम लिएको पनि उनको अभिव्यक्तिमा उल्लेख छ। उनले अगाडि लेखेकी छन्, ‘रास्वपाले पनि पटक पटक भन्यो सो पार्टीको राजनीतिक धरातलको जग स्वर्गीय उज्ज्वल थापाले नै राखिदिएका हुन्।’

गणतन्त्र स्थापनापछि खुलेको विवेकशील नेपाली दल पछि विवेकशील साझा पार्टी बनेको र  नेपाली समाजमा अनौठो तरीकाको भद्र राजनीतिको सुरुवात गरेको दर्शनाको दाबी छ। जसले युवाहरूलाई राजनीतिमा आकर्षित गरेको उल्लेख गर्दै निर्वाचनको अंकगणितमा प्रायः तलै परे पनि देशको सामाजिक विषयमा माथि पर्न थालेको उनी उनले उल्लेख गरेकी छन्।

‘विडम्बना टुटफुटको कठिन यात्रा, दलभित्र एकीकृत हुन नसक्नु, संगठन विस्तार तीव्र रूपमा नबढ्नु, दलकै अध्यक्ष (रवीन्द्र मिश्र) को राजनीतिक एजेन्डा परिवर्तन हुँदै दललाई खेत जसरी जोतिएपछि आजको दिन सम्म आइपुगेका छौँ,’ विवेकशील साझाको यात्रालाई टिप्पणी गर्दै उनले लेखेकी छन्। 

विवेकशील साझा पार्टी अहिले बेला–बेला मात्र देखिएको, सदस्यहरू नरहेको, खासै साख पनि नरहेको र यस्तो अवस्थामा चाहिँ पुग्न नहुने भन्ने सुनिने गरेको पनि दर्शनाले लेखेकी छन्।

‘ठिकै हो ! हामीलाई पनि यस्तो अवस्थामा पुग्न मन थिएन। अहिले हेर्दा पनि अवस्था मन पर्दैन,’ उनको स्वीकारोक्ति छ। तर ‘छिटै खाउँ, जलि मरौं’ गरेर आफ्नो मूल्यमान्यता, राजनीतिक अडान अस्पष्ट९धमिलो० नराखेको उनको दाबी छ।

‘हामीले विवेकशील–साझा पार्टीलाई तत्कालीन अध्यक्ष९मिश्र०को लहलहैमा राप्रपा बन्न दिएनौ, त्यसमा स्पष्ट भयौँ,’ दर्शनाले लेखेकी छन्,‘टुट फुटले मन दुखेका साथीहरू अहिले पनि हामीलाई गाली गरिरहनु हुन्छ। फेसबुकका कमेन्टमा रिस पोखिरहनुहुन्छ। लाग्छ कि, उहाँहरू कुनै आमुक दलका अन्धभक्त हुनुहुन्छ १ तर होईनस हाम्रै पुराना रुष्ट साथीहरू हुनुहुन्छ।’ यसरी हेर्दा विवेकशील साझा पार्टीमा अहिले दुख कष्ट व्यापक देखिएपनि राजनीतिक अडान रहेको उनको दाबी छ।

यस्ता दुखका कुराहरू बिच पनि रास्वपाले ‘माथि’ भएको र ‘तल पुग्न लागेको’ अभाष पनि विवेकशील साझाको नाम लिएर गरेको विषयमा आफू अचम्मित भएको दर्शनाले लेखेकी छन्। उनले लेखेकी छन्, ‘तर हामीहरूको कठिन यात्राबाट भने सिक्नुहुन्न।’ बरु, विवेकशील पृष्ठभूमि भएकाहरूलाई रास्वपामा सकभर ‘ठाउँमा राखौँ’ भन्ने पनि सुनेको  दर्शनाले बताएकी छन्।

त्यसपछि रञ्जुले रास्वपा सभापति लामिछाने वरिपरि घुमेको भन्ने आशयले व्यंग्य गरेकी छन्। ‘एक जनाको वरपर फनफनी घुम्न मिल्ने भनेको फुलको वरपर भमरा हो। एक व्यक्तिको वरपर एउटा सिङ्गो दल होइन,’ उनले लेखेकी छन्।

त्यसपछि दर्शनाले रास्वपा दलको नीति अधिवेशन। महाधिवेशन गर्ने समयसमेत ढल्किसकेको भन्दै महामन्त्री ढकाललाई सुझाएकी छन् । विवेकशीलको इतिहास, लडाइँ, भोगाई, थकाई र सिकाइले आफूहरू हिँडिरहने बताउँदै उनले लेखेकी छन्, ‘हाम्रो भोगाइबाट तपाईँहरूले सिक्नुपर्ने थियो। सत्ताको रस पसेर होकि, निकै कम समयमा संसद् भवन भित्र बसेर हो, सायद सिक्नुपर्ने कुरा सिक्न समय मिलेन। अब सिक्नुहोस्।’

त्यसपछि दर्शनाले गीताकै अर्को श्लोक राखेर आफ्नो अभिव्यक्ति टुंग्याएकी छन्। ‘मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि’ अर्थात कर्मको प्रतिफल कस्तो हुन्छ भनेर आशावादी हुनुहुँदैन, तर अकर्मण्यताप्रति पनि आशक्ति हुनुहुँदैन,’ उनले लेखेकी छन्।

प्रकाशित: १३ असार २०८१ १३:१७ बिहीबार

#RSP #Bibakelshil Shaja Party #Ranju Darshana #Mukul Dhakal