१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

फ्लोर क्रस गर्ने देवकोटा पदमुक्त, कानूनी उपचार खोज्ने देवकोटाको भनाई

पत्रकार भेटघाटमा निलम्वित सांसद देवकोटा (बिचमा) । तस्बिर: सन्देश/नागरिक

फ्लोर क्रस गर्ने गण्डकी प्रदेश सभा सदस्य फडिन्द्र देवकोटा पदमुक्त भएका छन्।फ्लोर क्रस गरेर कांग्रेस मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटा गण्डकी प्रदेश सभा सदस्यबाट पदमुक्त भएका हुन् । प्रदेश सभाको शुक्रबारको बैठकमा सभामुख कृष्ण धितालले देवकोटा पदमुक्त भएको जानकारी गराए ।

यसअघि देवकोटालाई नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलले कारवाही गर्ने निर्णय गरेको थियो । मंगलबार स्पष्टिकरण सोधेको माओवादीले शुक्रबार कारवाही गर्ने निर्णय गरेर प्रदेश सभा सचिवालयलाई जानकारी गराएको थियो।

पदमुक्त भएका देवकोटा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचित प्रदेश सभा सदस्य हुन् । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)का उनी प्रदेश सभामा भने नेकपा माओवादी केन्द्र संसदीय दलका सदस्यका रुपमा रहेका थिए । तर जेठ २८ गते माओवादीको ह्वीप उलंघन गर्दै कांग्रेस मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका थिए । त्यसकै प्रतिफल स्वरुप उनले मन्त्री पद उपहार पाएका छन् । मुख्यमन्त्री पाण्डेले उनलाई उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री बनाएका छन्।

यसैबीच, देवकोटाले आफूले कानूनी उपचार खोज्ने बताएका छन् । माओवादीले गरेको कारवाहीका आधारमा आफूलाई पदमुक्त गर्न नमिल्ने उनको जिकीर छ । माओवादीको चुनाव चिह्नबाट निर्वाचन जितेपनि आफू नेसपाको भएकाले माओवादीको ह्वीप नलाग्ने उनको दलील छ । मेरो पार्टी नै फरक भएकाले मलाई माओवादीको ह्वीप लाग्दैन । ह्वीप नै नलाग्ने अवस्थामा सो पार्टीले ह्वीप उलंघन गरेको भनेर कारवाही गर्नपनि मिल्दैन । त्यसैले यो निर्णयबिरुद्ध म कानूनी उपचार खोज्छु’ उनले भने ।

देवकोटाले आफूले उम्मेदवारी दर्ता गर्दा नेसपाको तर्फबाट उम्मेदवारी दर्ता गरेकाले आफूलाई माओवादीको हो भनेर कसैलेपनि भन्न नसक्ने दाबी गरे । पदमुक्त भएलगत्तै पत्रकार भेटघाट गर्दै उनले अहिलेपनि आफू पदमुक्त नभएको जिकीर गरे । उनले भने,।यो कारवाही राजनीतिक, कानूनी र संवैधानिक सबै हिसाबले गलत छ । म जुन दलबाट बिजयी भएँ त्यहि दलमा रहेकाले कसैलेपनि कारवाही गर्न सक्दैन ।’ यसअघिचाहिं माओवादी संसदीय दलको बैठकमा सहभागि हुने र उसको निर्णय मान्दै आएकाले तपाईंलाई त्यहि आधारमा कारवाही गर्न मिल्दैन भन्ने प्रश्नमा उनले भने,त्यो त मन मिल्दासम्म बस्ने हो । हाम्रो राजनीतिक संस्कार नै यहि हो । नमिलेपछि छुट्टिने हो । त्यसैले मलाई नेसपाको सांसदको रुपमा नहेरेपछि सो दलको संसदीय दलको बैठकमा सहभागि हुन छाडेको हुँ।

सांसद पदबाट पदमुक्त भएसँगै मन्त्री पदपनि गुमाएका देवकोटाले अब गैरसांसदको रुपमा मन्त्री खानेबारे स्पष्ट जवाफ दिएनन् ।पार्टी नेतृत्वसँग छलफल भइनसकेकाले अहिल्यै यसै भन्न नसक्ने उनको भनाई थियो । पहिले कानूनी लडाईं लड्ने र त्यसपछि मन्त्रीबारे सोंच्ने उनले बताए 

प्रकाशित: ३२ जेष्ठ २०८१ १९:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App