७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गिरीबन्धुले भन्यो: बढ्दो मानव बस्ती र क्रियाकलापका कारण चिया बगान सार्ने निष्कर्षमा पुग्यौं

झापाको बिर्तामोडमा रहेको गिरीबन्धु टी इस्टेट प्रालिले बढ्दो मानव बस्ती र कृयाकलापका कारण चिया बगान स्थानान्तरण गर्ने निष्कर्षमा पुगेको बताएको छ।

प्रालिले बुट्टाबारीस्थित आफ्नै कार्यालयमा बुधबार पत्रकार सम्मेलन गर्दै स्थानीयले चिया बगान हटाउन दबाब दिएपछि सार्ने निष्कर्षमा पुगेको स्पष्ट पारेको हो। यसका लागि जग्गा सट्टापट्टाका लागि निवेदन दिएको उसको भनाइ छ। सट्टा भर्ना लिने जग्गाको मूल्यको आधार र चिया उत्पादनका लागि हदबन्दी छुट लिएकाले सोही प्रयोजनमा प्रयोग गर्नुपर्ने भएकाले आवश्यक प्रक्रिया पूरा गरी टुंगोमा पुग्ने प्रालिले जनाएको छ।

पत्रकार सम्मेलनमा प्रालिका सञ्चालक छत्र गिरीले गिरीबन्धु टी स्टेट राज्यको सम्पत्ति नभएको बताउँदै सर्वोच्च अदालतबाट आदेश भएपछि गिरीबन्धुको नाममा चौतर्फी प्रयोग भएको भाष्यप्रति आपत्ति जनाए।

सम्मेलनमा कम्पनीले एउटै स्थानमा लामो समयदेखि चिया बगान रहिरहेकाले माटोको उर्बराशक्तिमा कमी आउँदा उत्पादन ७० प्रतिशतसम्म घटेको बताएको छ। यसले चिया मजदुरको रोजीरोटीमा समेत समस्या थपिँदै गएको उसको दाबी छ। किटनाशक औषधि छर्नुपरेको, त्यसबाट स्थानीय मानिसको स्वास्थ्यमा असर परेको र अन्ततः गाईबस्तु चराउने ठाउँ बनेकाले उत्पादन पनि घटेको कम्पनीको भनाइ छ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'चिया बगान हटाउन निरन्तर जनदबाव आएको र स्थानीय जनतासहित राजनीतिक दलका स्थानीय प्रतिनिधिहरु समेतको रोहबरमा छलफल हुँदा चिया बयान कायम राख्न तीव्र विरोध आएको कारण उक्त क्षेत्रबाट चिया बगान हटाउनु नै उपयक्त हुने टुंगोमा पुगेर नै उपयुक्त ठाउँमा चिया बगानको व्यवस्था गर्ने गरी जग्गा सट्टापट्टाको लागि निवेदन गरिएको हो।’

२०३० सालमा पूर्वपश्चिम राजमार्ग निर्माण सम्पन्न भएपनि २०२० सालमै कम्पनी स्थापना भएको विज्ञप्तिमा उल्लेख छ। २०२० सालमा कम्पनी स्थापना गरी सञ्चालनमा आएको कारण सो ठाउँमा बस्ती विस्तार भइ विर्तामोड बजारको विकास भएको र चियाका बुटा मास्ने काम भएको दाबी कम्पनीको छ।

यसअघि अदालतले चिया बगानका लागि सट्टा भर्नाको जग्गाको सुनिश्चितता गरी मजदुरलाई रोजीरोटीको समस्याबाट बञ्चित नगर्न भनेको थियो।

प्रकाशित: ३० जेष्ठ २०८१ १३:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App