२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

बाँसगढी नगर अधिवेशनमा एमाले भित्र आरोप–प्रत्यारोप

जिल्ला कमिटि सदस्य तथा नगर अध्यक्षका दाबेदार वलि।

बाँसगढी नगरपालिकाको अधिवेशनमा धाँधली गरेर नगर पदाधिकारीको नाम सार्वजनिक गरिएको भन्दै एमाले भित्रका असन्तुष्ट पक्षले गम्भीर आपत्ति जनाएको छ। शनिबार दिउँसो गरिएको घोषणा पछि असन्तुष्ट पक्षले कडा आपत्ति जनाएका हुन्।

नगर अध्यक्षका दाबेदार नर बहादुर वली लगायत अन्य इच्छुक उम्मेदवारलाई झुक्काएर सर्वसम्मतिबाट जित बहादुर रोकायलाई अध्यक्ष र ७५ पदाधिकारी घोषणा गरिएको असन्तुष्ट पक्षका कार्यकर्ताहरूले दाबी गरेका छन्।

जिल्ला अध्यक्ष शालिकराम अधिकारीको निर्देशनमा मनोमानी चयन गरिएको गम्भीर आरोप पनि लगाइएको छ। शनिबार दिउँसो ४ बजे बाँसगढीस्थित अतिथ होटलमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित कार्यकर्ताहरूले दादागिरी शैलीमा गरिएको पदाधिकारी घोषणाले मान्यता नपाउने तर्क गरेका छन्।

नगर अधिवेशनका लागि २६७ प्रतिनिधि चयन गरिएको थियो। सर्वसम्मतिबाट चयन नहुने देखिएपछि २५ गते सुरु भएको अधिवेशन लम्बिएको थियो।

अधिवेशनमा चुनाव हुने देखिएपछि अध्यक्ष अधिकारी पक्षधरले बलमिचाइ गरेर ८० जना प्रतिनिधिको नाम समावेश गरेको आरोप छ। प्रतिनिधि चयनमा घोटाला भएको आशंकापछि लुम्बिनी प्रदेश कमिटीले लेखेको पत्रमा प्रदेश अध्यक्ष राधाकृष्ण कडेलले हस्ताक्षर गरेका छन्।

प्रदेशले विवादरहित बनाउन अधिवेशन स्थगन गर्न पत्राचार गरेपछि अध्यक्ष अधिकारी पक्षधरले हतारमा नगर अधिवेशन सर्वसम्मत भएको घोषणा गरेको सदस्य राज कुमार महतराले बताए।

निर्वाचन प्रक्रिया पूरा गर्न अध्यक्षबाट धर्म थापाको नाम हटाएर नगर अध्यक्षमा जित बहादुर रोकायको नाम अर्को पक्षले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको हो।

पत्रकार सम्मेलनमा सय भन्दा बढी कार्यकर्ताहरूको सहभागिता थियो। उता, जिल्ला अध्यक्षले निर्वाचन प्रक्रिया पूरा गरेर अधिवेशन सम्पन्न गरेको दाबी गरे।

‘अधिवेशन निर्वाचन प्रक्रिया पूरा गरेकाले पदाधिकारीको नाम सार्वजनिक गरिएको हो,’ उनले भने, ‘अध्यक्षलाई भन्दा निर्वाचन प्रक्रियाको बारेमा निर्वाचन मण्डललाई सोध्नुहोस्।’ 

झुक्काएर र प्रक्रिया मिचेर सम्पन्न गरिएको नगर अधिवेशनले मान्यता नपाउने भन्दै समानान्तर कमिटी गठनका लागि पार्टी भित्र छलफल सुरु भइसकेको नेता तथा जिल्ला कमिटी सदस्य वलीले बताए।

प्रकाशित: २७ जेष्ठ २०८१ १९:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App