१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

७० लाख सहकारी पीडितले न्याय नपाएसम्म कांग्रेसको सङ्घर्ष जारी रहन्छ: नेता महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सहकारी ठगीको मारमा परेका ७० लाख जनताले न्याय नपाएसम्म कांग्रेसको लडाइ जारी रहने बताएका छन्।

चितवन कांग्रेसले सञ्चालन गरेको प्रशिक्षक प्रशिक्षण तालिम समारोहका प्रमुख अतिथि नेता महरले जनताको नजरमा दोषी प्रमाणित भइसकेका पार्टीका नेता र पार्टीलाई कारबाहीको दायरामा ल्याउन र पीडित जनताले सञ्चित गरेको रकम फिर्ता गर्न कांग्रेस संसदीय छानबिन समितिमा मात्रै भर नपर्ने र जनअपेक्षा अनुसार सदनदेखि सडक सङ्घर्ष जारी नै राख्ने बताए।

अहिले गिरिबन्धु टी स्टेटदेखि सुदर्शन सहकारीसम्म गठबन्धन सरकारमा संलग्न पार्टी र तिनका प्रमुख नेताहरू नै संलग्न हुनु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ।

अहिलेको गठबन्धन सरकारले नेपाली जनताको सार्वजनिक सम्पत्ति दोहन गरिरहेको महरको आरोप छ। कांग्रेसको भरखरै सम्पन्न बैठकमा गिरिबन्धु टी स्टेटमा भएको अर्बौँ रकम चलखेलको पर्दाफास गर्न आफूले प्रस्ताव गरे पनि निर्णय बाहिर आउँदा त्यस विषयमा नलेखिएको उनको भनाई थियो।

कांग्रेसका नेता कार्यकर्ता मनबाटै जनमुखी हुनु आवश्यक रहेको बताउँदै उनले आज जलवायु परिवर्तनका कारण नेपालका हिमालहरू खाली हुँदै गएको र त्यसको असर वातावरणमा परेकोप्रति चिन्ता व्यक्त गरे।

जनवायु परिवर्तनका कारण तराई क्षेत्रमा अत्यधिक तापक्रम बढेर जनता कष्टकर जीवन बिताउन बाध्य रहेकाले जलवायु परिवर्तनको असर न्यूनीकरण बारे पार्टीले सबै तहमा प्रशिक्षणात्क सचेतना अभियानमा जुट्नु पर्ने महरको धारणा छ।

‘हामीले राजनीतिसँग समाज र जनताका मुद्दा बोक्नुपर्छ। केन्द्रदेखि टोल समिति सम्ममा प्रकोपीय जोखिमबाट बच्न जलवायु परिवर्तन तथा प्रकोप जोखिम न्यूनीकरण कार्यदल गठन गरेर वातावरण संरक्षणमा योगदान दिनु पर्छ’ उनले भने।

राजनीतिक इतिहासमा राप्रपा, माओवादी, मधेसी जनअधिकार र साझा विवेकशील पार्टीको कनै बेला ठुलै आकार र स्याल हुँय्या भएको प्रसङ्ग उठाउँदै महरले अहिले भने ती पार्टीलाई अस्तित्व बचाउनै गाह्रो परिरहेको बताए।

‘अहिले नयाँ आएका राजनीतिक दलहरूको गतिविधि र भूमिकाले अर्को चुनावसम्म उनीहरूको पनि बिजोग हुने निश्चित छ’, उनले भने।

प्रकाशित: १९ जेष्ठ २०८१ १७:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App