१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

कार्यादेश बनाउने जिम्मेवारी पाएको कार्यदलको बैठक आज पनि बस्दै

सहकारीको रकम हिनामिना प्रकरणको छानबिनका लागि गठन गर्न लागिएको संसदीय छानबिन समितिको कार्यादेश बनाउने जिम्मेवारी पाएको कार्यदलको बैठक आज पनि बस्दै छ। बैठक कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा अहिले बिहान ९ बजे बस्ने तय भएको छ।

सहकारी ठगीमा संसदीय छानबिन समिति बनाउन सत्ता र प्रतिपक्ष सहमत भए पनि त्यसको कार्यविधिमा सहमति जुट्न नसके पछि पछिल्लो बैठकहरू निस्कर्षबिहीन बन्दै आएको छ।

बिहीवार बसेको बैठकमा पनि सहमति हुन नसके पछि आज फेरि बैठक बस्न लागेको हो।

खासगरी संसदीय छानबिन समितिको कार्यविधिमा गृहमन्त्री लामिछानेको नाम उल्लेख गर्ने वा नगर्ने भन्ने विषयमा सत्ता पक्ष र प्रतिपक्षबीच विवाद देखिएको छ। प्रतिपक्षी नेपाली कांग्रेस गृहमन्त्री लामिछानेसमेत समेटिने गरी कार्यविधि बनाउनुपर्ने पक्षमा छ भने सत्ता पक्ष गृहमन्त्रीको नाम कार्यविधिमा उल्लेख गर्न तयार देखिएको छैन।

छानबिन कार्यविधिमा लामिछानेको नाम राखिए उनले गृहमन्त्रीबाट राजीनामा दिनुपर्ने अवस्था आउन सक्छ। उनले राजीनामा दिए सरकार अप्ठेरोमा पर्ने सम्भावना छ। त्यसैले सत्ता पक्ष कांग्रेसको मागमा सहमत हुन नसकेको हो।

संसदीय समिति गठन र त्यसको कार्यविधिमा सहमति नभए कांग्रेसले आज पनि संसद् बैठक अवरुद्ध गर्ने जनाएको छ।

प्रकाशित: ११ जेष्ठ २०८१ ०६:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App