१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

संसद बैठक आज पनि बस्दै, के गर्छ कांग्रेसले?

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने छ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् भने प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने छन्।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय संसदको दुबै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची तय गरिएको छ।

त्यस्तै आजको बैठकमा राष्ट्रपतिलाई सभामुखले धन्यवाद दिने पनि कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गर्ने छन्।

त्यस्तै प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा ५३ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन, आ.व.२०७९/८० पेश गर्नेछन् भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्ने छन्।

त्यस्तै आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले ‘सङ्घीय निजामति सेवा विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यता, प्रतिपक्षी नेपाली कांग्रेसले आजको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि संसद अवरोध गर्ने बताएको छ।

प्रकाशित: ७ जेष्ठ २०८१ ०८:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App