१८ कार्तिक २०८१ आइतबार
image/svg+xml
राजनीति

किन खिइँदै गए उपेन्द्र यादव ?

२०६४ को पहिलो संविधानसभाको निर्वाचनमा ५२ सिट ल्याई संसद्को चौथौ शक्ति भएका तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो त्यो लोकप्रियता र शक्ति लामो समयसम्म टिकाउन सकेनन्।

उनको शक्ति क्रमशः कमजोर बन्दै र निरन्तर खिइँदै गएको छ। यतिबेला उनी पाँचजना सांसदका नेता भएका छन्।  उनको पार्टी झन्डै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सरह भएको छ भने भर्खरै उदाएको सिके राउतको जनमत पार्टीभन्दा सानो भएको छ।

कुनै बेला यादवको नेतृत्व स्वीकार गर्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, विजयकुमार गच्छेदार अशोक राई, महन्थ ठाकुर, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ, रामकुमार शर्मालगायतका नेता उपेन्द्रसँग जोडिएर एउटै पार्टीमा बसे। तर, उनीहरू लामो समय उपेन्द्रसँग बस्न नसकेपछि अलग्गिए। यसमा उपेन्द्रकै दोष भएको छुट्टिएका नेताहरू बताउँछन् 

‘उहाँ (उपेन्द्र) खिइँदै जानुमा उहाँकै दोष छ। उहाँसँग एउटै पार्टीमा बस्न सक्ने अवस्था हुँदैन। आफ्नै साथीहरूलाई उहाँले विश्वास गर्नुहुन्न,’ भर्खरै उपेन्द्रसँग छुट्टिएका जनता समाजवादी पार्टी (जसपा) का महासचवि इस्तियाक राईले भने, ‘उहाँ जहिले पनि पार्टीलाई एकलौटी ढंगबाट चलाउन खोज्नुहुन्छ। कसैसँग सर–हसल्लाहसमेत गर्न चाहनुहुन्न।’

यादवनिकट नेताहरू भने पटकपटक पार्टी फुट्नुमा यादवको भन्दा बाह्य शक्तिको हात भएको बताउँछन्। ‘हाम्रो पार्टी सानो छ। आकांक्षी धेरै हुन्छन्। सबैले अवसर पाउँदैनन्। यसमा बाह्य शक्तिले खेलिदिन्छ,’ जसपा नेपालका प्रवक्ता मनिष सुमनले भने, ‘त्यसैले पार्टी फुट्नुमा उपेन्द्रजीको होइन अरूकै हात छ।’

२०६२-६३ को आन्दोलनपछि तराई-मधेसमा दुईवटा ठूला आन्दोलन भए। दुवै आन्दोलनका नायक यादव थिए। पहिलो मधेस आन्दोलनपछि उनको लोकप्रियता ह्वात्तै बढेको थियो। उनी मधेस आन्दोलनका ‘मसिहा’ भनेर चिनिएका थिए। तर, उनको त्यो लोकप्रियता धेरै लामो समयसम्म टिक्न सकेन।

हुन त, मधेस आन्दोलनअगाडि पनि उनी राजनीतिमा सक्रिय थिए। त्यतिबेला उनी खासै चिनिएनन्। मधेस आन्दोलले उनलाई चिनायो। २०५४ मा मधेसी जनअधिकार फोरम गठन गरे। त्यसपछि २७ वर्षसम्म यादव निरन्तर पार्टी अध्यक्ष भएका छन्।

फोरम सुरुमा संस्थाको रूपमा दर्ता गरिएको थियो। २०६३ सालमा फोरम पार्टीको रूपमा निर्वाचन आयोगमा दर्ता भयो। त्यसपछि यसले पार्टीको रूपमा मान्यता पायो। पार्टीको मान्यता पाएपछि पनि यादव निरन्तर अध्यक्ष भइरहे।

लामो समय यादवसँग एउटै पार्टीमा बसेका हाल राष्ट्रिय मुक्ति क्रान्तिको नेता केशव झाले यादव खिइँदै जानुमा यादवले आफैंले आफ्नो मूल्यांकन गर्नुपर्ने बेला आएको बताए।

‘उहाँ  २७ वर्षसम्म निरन्तर पार्टी अध्यक्ष हुनुभयो। यस अवधिमा उहाँले पार्टीमा आफूजस्तै अर्को अध्यक्ष किन जन्माउन सक्नुभएन ?,’ झाले भने, ‘किनभने तीन दशकसम्म पनि उहाँले अध्यक्ष छाड्न चाहुनुभएन। हामीले उहाँलाई आजीवन अध्यक्ष स्वीकार गरिरहनुपर्ने ?,’ यादवकै कार्यशैलीको कारण यादवको पार्टी पटकपटक फुटेको उनको तर्क छ।

२०६४ को पहिलो संविधान सभाको निर्वाचनपछि तत्कालीन फोरम फुट्ने र जुट्ने क्रम निरन्तर चल्यो। पहिलोपटक फोरमलाई गच्छेदार, शरत्सिंह भण्डारीलगायतका नेताहरूले फुटाए। त्यसपछि राजकिशोर यादवले फुटाए। फोरमलाई जतिपटक फुटाए पनि यादवले अर्को नयाँ पार्टीसँग एकीकरण गर्ने र पार्टीको नाम फेर्ने गरे।

यस अवधिमा उनले भट्टराईले नेतृत्व गरेको तत्कालीन नयाँ शक्ति पार्टीदेखि अशोक राईले नेतृत्व गरेको तत्कालीन संघीय समाजवादी पार्टीसम्म एकीकरण गरे। तर, अध्यक्ष पद भने उनले कहिले छाडेनन्।

भट्टराईसँग एकीकरण गरेपछि उनी दोस्रो अध्यक्ष भए। तर, कार्यकारी अध्यक्ष पद भने आफैंले राखे। भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाए। २०६४ को निर्वाचनपछि भएका निर्वाचनमा यादवले नेतृत्व गरेको पार्टीले ल्याएको सिट संख्या हेर्दा पनि यादवको पार्टी खिइँदै गएको पुष्टि हुन्छ।

२०६४ को पहिलो संविधानसभाको निर्वाचनमा यादवले नेतृत्व गरेको तत्कालीन मधेसी जनअधिकार फोरम नेपालले प्रत्यक्ष्यतर्फ ३० र समानुपातिकतर्फ २२ सिट ल्याएको थियो। त्यसबेला फोरमले कुल बदर मतको समानुपातिकतर्फ ६ दशमलव १५ प्रतिशत मत ल्याएको थियो। २०७० को दोस्रो संविधान सभाको निर्वाचनमा तराई मधेस केन्द्रित आठवटा दल चुनावमा सहभागी भए।

यादवले नेतृत्व गरेको तत्कालीन मधेसी जनअधिकार फोरम नेपालले प्रत्यक्ष्यतर्फ दुई र समानुपातिकतर्फ आठ गरी १० सिटमा विजयी भयो। त्यतिबेला फोरमले दुई दशमलव २८ प्रतिशत भोट ल्याएको थियो।

२०७४ को संसदीय निर्वाचनमा तत्कालीन तराई मधेस केन्द्रित दुई दल मात्र चुनाव सहभागी भए। त्यो बेला यादवले नेतृत्व गरेको तत्कालीन संघीय समाजवादी फोरमले प्रत्यक्ष्यतर्फ १० र समानुपातिकतर्फ ६ गरी १६ सिटमा विजयी भयो। त्यो बेला फोरमले देशभरी ६ प्रतिशत मत ल्याएको थियो।

२०७४ को प्रतिनिधिसभाको अन्त्यतिर जनता समाजवादी पार्टी (जसपा) मा १९ सांसद थिए। त्यतिबेला एक सांसद हरिनारायण रौनियार निलम्बनमा परेका थिए।

२०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा जसपाले १२ सिट ल्याएको छ। त्यसको डेढ वर्षपछि जसपा फुटेर हाल पाँच सिटमा सीमित भएको छ। यसबाट यादवको पार्टी कमजोर हुँदै गएको देखिएको छ।

प्रकाशित: २७ वैशाख २०८१ ०८:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App