२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राप्रपामा खैलाबैला: नेता कुट्नेलाई माफी कि कारबाही?

डेढ महिनाअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यालय धुम्बराहीमा केन्द्रीय नेतामाथि भएको कुटपिटको घटनामा प्रहरीले अनुसन्धान अघि बढाएपछि पार्टीभित्र खैलाबैला मच्चिएको छ। कुटपिटमा संलग्न भनिएका राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेपछि नेताहरू विभाजित बनेका छन्।

कालिकोटको पलाँता गाउँपालिका घर भई काठमाडौंको निलोपुल बस्दै आएका ३१ वर्षीय बम किटानी जाहेरी परेको ४५ दिनपछि बिहीबार पक्राउ परेका हुन्। प्रहरी वृत्त महाराजगन्जले उनलाई हिरासतमा राखेर अनुसन्धान थालेको छ।

बम पक्राउ परेपछि राप्रपाको एउटा पक्ष उनलाई छुटाउन लागिपरेको छ भने अर्को पक्ष घटनाको सत्यतथ्य अनुसन्धान भई आवश्यक कारबाही हुनुपर्ने भन्दै दबाब बढाउन सक्रिय छ। यस घटनाका कारण पार्टीभित्रका गुटहरू सक्रिय भएर आमनेसामने भइरहेको स्रोतको दाबी छ।

बम पक्राउ परेलगत्तै बिहीबारै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, कुन्ती शाही, केन्द्रीय सदस्य जनकराज पाठक लगायत नेताहरू उनलाई छुटाउन प्रहरी वृत्त महाराजगन्ज पुगेका थिए। उनीहरूले जाहेरी फिर्ताका लागि जाहेरीकर्ता कार्यसम्पादन समिति सदस्य ठाकुरमोहन श्रेष्ठलाई दबाब बढाएका छन्।

 घटनाले पार्टीलाई क्षति पुग्ने भन्दै मिलापत्र गराउने उनीहरूको प्रयास रहेको स्रोतको दाबी छ। श्रेष्ठ भने आफ्नो अडानबाट टसमस भएका छैनन्। ‘आफ्नो जीवनकालमा भ्रष्टाचार र तस्करहरूका विरुद्ध र देशहित तथा राष्ट्रवादका पक्षमा लडेको मान्छे हुँ,’ सशस्त्र प्रहरी बलका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) समेत रहेका श्रेष्ठले भने, ‘अहिले ममाथि नै भएको यस्तो सांघातिक हमला कसरी सहन सक्छु?’

श्रेष्ठले आफूले कसैको दबाब र प्रभावमा परेर जाहेरी फिर्ता नलिने बताएका छन्। उनले भने, ‘रवीन्द्र (वरिष्ठ उपाध्यक्ष मिश्र) मेरा असल मित्र हुनुहुन्छ। तर उहाँले एउटा हिंस्रक व्यक्तिलाई बचाउन भूमिका खेलिरहनुभएको छ। उहाँले मलाई धेरैपटक फोन पनि गर्नुभएको छ, मैले उठाएको छैन।’

प्रहरीले ढिलो गरी अनुसन्धान थालेकोमा पनि श्रेष्ठले असन्तुष्टि व्यक्त गरे। ‘यत्रो डेढ महिना प्रहरी के हेरेर बसेको छ? मैले ज्यान मार्ने कसुरमा जाहेरी दिएको व्यक्ति संसद्मा घुमिरहेका छन्। मैले यो कुरा सनाखत गर्न जाँदा प्रहरीलाई भनेको छु,’ उनले भने। श्रेष्ठको पक्षमा पार्टीकै अर्का वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, नेपाल प्रहरीका पूर्वआइजिपीसमेत रहेका नेता ध्रुवबहादुर प्रधानलगायत छन्।

के हो घटना?

गत फागुन २७ गते पार्टी कार्यालय धुम्बाराहीमा केन्द्रीय अनुशासन समितिले सिफारिस गरेको विषयमा कार्यसम्पादन समितिको बैठक बसिरहेको थियो। सोही बैठकमा पार्टीका उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे र कार्यसम्पादन समिति सदस्य श्रेष्ठबीच भनाभन भएको थियो। श्रेष्ठले पाण्डेलाई ‘भ्रष्टाचारी’ र ‘तस्कर’ भनेर टिप्पणी गरेपछि पाण्डे आक्रोशित बनेर केहीबेर बैठकबाट बाहिर निस्किएको बताइन्छ। त्यसपछि उनी फेरि फर्केर बैठकमा आएका थिए।

यसैबीचमा बैठक केहीबेर चलेर ‘ब्रेक’ भएपछि बाहिर निस्किने क्रममा श्रेष्ठमाथि एउटा समूहले कुटपिट गरेको थियो। उक्त कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल पनि भएको थियो। उक्त ‘क्लिप’ घटनाको आंशिक मात्रै रहेको श्रेष्ठको दाबी छ।

‘तल भर्‍याङमा ओर्लिंदा बाटो छेकेर ममाथि धेरै कुटपिट भएको छ। आफ्नो प्रतिरक्षा गरेर जोगिएको हुँ,’ नागरिकसँगको कुराकानीमा उनले भने, ‘फर्किएर अध्यक्ष (राजेन्द्र लिङ्देन) को कार्यकक्षमा जाँदा भएको घटनाको मात्र भिडियो हो त्यो।’

उक्त कुटपिटबाट आफूमा कान नसुन्ने समस्यासमेत आएको उनको दाबी छ।

घटना उपाध्यक्ष पाण्डेकै योजनामा भएको श्रेष्ठले दाबी गर्दै आएका छन्। घटनालगत्तै उनले प्रहरीमा ठाडो उजुरी दिएका थिए। दोस्रो दिन बसेको राप्रपा अनुशासन समितिको सिफारिसमा बम सहमहामन्त्री प्रेम बलायर, काठमाडौं क्षेत्र नं. ४ का क्षेत्रीय अध्यक्ष रिद्धिप्रताप राणालाई चार वर्षका लागि निलम्बन गरिएको थियो। सहमहामन्त्री बलायर उपाध्यक्ष पाण्डेका स्वकीय सचिव पनि हुन्।

तर श्रेष्ठले त्यतिमा चित्त बुझाएनन्। उनले फागुन २९ गते नै उपाध्यक्ष पाण्डेसहित पाँचजनालाई विपक्षी बनाएर ‘ज्यान मार्ने उद्योग कसुर’मा अनुसन्धान र कारबाहीको माग गर्दै प्रहरी वृत्त महाराजगन्जमा आधिकारिक रूपमा जाहेरी दरखास्त दिएका थिए। जसमा थप एकजना राप्रपाका केन्द्रीय सदस्य हिक्मत कार्कीको पनि नाम उल्लेख छ। ‘कार्की त्यहाँ उपस्थित नभएको भनेर उम्काउन खोजिँदैछ। तर उनी नै खुट्टाले छेकेर कुटपिटमा उत्प्रेरित गराउने व्यक्ति हुन्,’ श्रेष्ठको आरोप छ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ घटनाबारे पार्टीभित्र ठुलै विवाद भने नरहेको जकिर गर्छन्। ‘घटना भएकै हो। घटनापछि अनुशासन समितिको सिफारिसका आधारमा कार्यसम्पादन समितिले गरेको कारबाहीसम्म सबैको सहमति छ,’ उनले भने, ‘प्रहरी अनुसन्धानपछि केही फरक मत जरुर देखिएको छ। त्यसबारे पनि पार्टीमा छलफल हुन्छ।’ पीडितलाई न्याय हुनेगरी पार्टीभित्र हुने छलफललाई अन्यथा लिन नहुने उनी बताउँछन्।  

प्रकाशित: १५ वैशाख २०८१ ०७:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App