२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

इलाम-२: २५ वर्षे प्रगतिको पुलिन्दा बोकेर भोट माग्दै एमाले

वैशाख १५ मा हुने उपनिर्वाचनका लागि नेकपा (एमाले) करिब २५ वर्ष इलाम क्षेत्र-२ को प्रतिनिधित्व गर्दा पार्टीले गरेका विकासे काम स्मरण गराउँदै मतदातासम्म पुग्दैछ।

पार्टीको तर्फबाट साढे दुई दशक प्रतिनिधित्व गरेका सुवासचन्द्र नेम्बाङले गरेका संविधान निर्माणको नेतृत्वदेखि इलामको भौतिक विकासका दर्जनौं कामको पुलिन्दा बोकेर एमाले चुनावी अभियानमा लागेको छ। गत भदौ २६ मा नेम्बाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो। अहिले इलाम-२ बाट उनकै छोरा सुहाङ लड्दैछन्। 

नेम्बाङले देशको मूल कानुन मानिने संविधान निर्माणको नेतृत्व गर्नुलाई ऐतिहासिक उपलिब्धका रूपमा लिएको छ। नेम्बाङले यो क्षेत्रबाट २०५६ सालयताका सबै चुनाव जितेका थिए। कतिपयले नेम्बाङले स्थानीय आवश्यकताअनुसार काम गर्न नसकेको आलोचना गरेपछि एमाले विगतका काम र अबको प्रतिबद्धतासहित मतदाता रिझाउँदैछ।

‘इलामबाट निर्वाचित सांसदले दुई पटकसम्म सर्वसम्मत रूपमा संविधानसभाको नेतृत्व गर्ने अवसर पाउनु एमालेमात्र होइन, सिंगो इलामका लागि गौरवको विषय हो,’ एमाले उपसचिव उमेश गुरुङ भन्छन्, ‘त्यतिमात्र होइन, किरात धर्मगुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गराउनदेखि भूमिहीन चुलाचुलीबासीलाई धनीपुर्जा हातमा पुर्‍याउन पनि नेम्बाङकै पहल सफल भएको बिर्सिनुहुँदैन।’

नेम्बाङले इलाम क्षेत्र २ मा दीर्घकालीन महत्वका विकास योजनासमेत सुरुआत गरेको एमालेले उल्लेख गरेको छ। नेम्बाङले यहाँबाट विजयी भएपछि सडक, बिजुली, खानेपानी, पुल, भवन, कृषि, सिँचाइ, शिक्षा, स्वास्थ्य, खेलकुदलगायत क्षेत्रमा गरेका दर्जनौं कामलाई एमालेले दस्तावेजका रूपमा पनि उनले जनाए।

‘अब इलाम क्षेत्र २ विकासले पूर्ण भयो भन्ने होइन, अझै धेरै काम बाँकी छन्,’ उनले भने, ‘जति काम सुरुआत भएका छन्, जति योजना कार्यान्वयनको पहल भइरहेको छ, तिनले यो क्षेत्रमा समृद्धिको आधार भने तयार गर्नेछन्।’

आउँदो उपनिर्वाचनमा आफूहरू विगतमा गरेका काम र अब पार्टी, उम्मेदवारको तर्फबाट गरिएका प्रतिबद्धता बोकेर मतदातासम्म पुगिरहेको उनले जनाए। ‘यसबीचमा दर्जनौं महत्वपूर्ण काम भएको जगजाहेरै छ,’ उपसचिव गुरुङले भने अधुरा काम पूरा गर्न र नयाँ योजना कार्यान्वयन गर्न एमाले प्रतिबद्ध छ, हाम्रा उम्मेदवार प्रतिबद्ध हुनुहुन्छ।’

निर्माणाधीन राँके–रवि–भेडेटार सडक, राकसे–बेलासे सडक, दमक–चिसापानी सडक, मदन भण्डारी राजमार्ग, लक्ष्मीबाँध–बिहीबारे–गुरुआश्रम सडक, फाल्गुनन्द सुकिलुम्बा विमानस्थल निर्माण र नामकरण, यही विमानस्थलबाट फुलुङ्गी–बिहीबारे–मार्चेबुङलगायत दर्जनौं सडक नेम्बाङकै पहलमा आएका योजना भएको एमालेले जनाएको छ।

दर्जनौं पुल, चुलाचुलीमा १५ शड्ढयाका अस्पताल, गाउँपालिका नगरपालिकाका भवन, इलामको सिटी हल, इलाम अस्पतालमा अक्सिजन प्लान्ट जडान, भेन्टिलेटर सेवा, सेतीदेवी–पुवाखोला झोलुङ्गे पुल (बन्जीसहितको योजना) पनि नेम्बाङको अग्रसरतामा आएको एमाले केन्दीय सदस्य राम रानाले बताए।

विद्युत् विस्तारका लागि काबेली कोरिडोर, इलाम जिल्लाभर पूर्ण विद्युतीकरण, विभिन्न विद्यालयलाई नमुना विद्यालयका योजना ल्याउने, बरबोटेको चुम्लुङ हिम, विभिन्न गाउँका स्कुलमा प्राविधिक शिक्षा विस्तारमा पनि नेम्बाङको पहल रहेको रानाले बताए।

‘यो निर्वाचन क्षेत्रमा भएका सयौं काम छन्, जसमा एमाले र दिवंगत नेता नेम्बाङको छाप लागेको छ,’ राना भन्छन्, ‘तीनै काम पूरा गर्ने र थप स्थानीय आवश्यकताका काम गर्ने योजना पार्टीले ल्याएको छ।’ यो उपनिर्वाचनका लागि एमालेले चिया, दूध, पशुमा देखिएको लम्पी स्किन रोगबाट किसानले पाउनुपर्ने सहुुलियत, कृषि मल–बीउलगायतलाई चुनावी एजेन्डा बनाएको छ। एमाले, नेकपा (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी र नेपाल परिवार दलले यो पटक एमालेका सुहाङ नेम्बाङलाई साझा उम्मेदवार बनाएका छन्।

स्थानीय तहको अधिकार सुनिश्चित गर्ने, इलाममा मेडिकल कलेज स्थापना, सबैखाले शोषणविरुद्ध लड्ने, युवाको विदेश पलायन रोक्दै देशमै रोजगारी सिर्जनालाई पनि सुहाङले चुनावी एजेन्डा बनाएका छन्। खेलकुद, साहित्य, कला, सिनेमा, नाटकमा आबद्ध युवालाई व्यावसायिक बनाउने, सबै जाति, भाषा, धर्म, समुदायको आत्मसम्मान र पहिचानलाई सम्मान गर्दै त्यसलाई कायम राख्ने प्रतिबद्धता पनि एमालेले गरेको छ।

२०७९ सालको निर्वाचनमा इलाम क्षेत्र २ मा एमालेका सुवासचन्द्र नेम्बाङ विजयी बनेका थिए। उनी ३० हजार २० मत ल्याएका विजयी हुँदा तत्कालीय सत्ता गठबन्धनका नेपाली कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार नौ सय छ मत ल्याएका थिए।

वैशाख १५ मा हुने उपनिर्वाचनमा १२ दल र सात स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन्। कांग्रेसले पुनः खड्कालाई नै उम्मेदवार बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मिलन लिम्बू, पहिचान पक्षधरबाट स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम चुनावी प्रतिस्पर्धामा छन्।

जनमत पार्टीका प्रेमबहादुर लिम्बू, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बू, नेसनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) समाजवादीबाट जितबहादुर राई उम्मेदवार बनेका छन्।

राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम साह, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपालीले उम्मेदवारी दर्ता गराएका छन्। स्वतन्त्रबाट डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार साही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्याल पनि उम्मेदवार छन्।

प्रकाशित: ३ वैशाख २०८१ ०९:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App