२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नागरिकको सुरक्षामा सम्झौता हुँदैन: गृहमन्त्री

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन्।

शनिबार नयाँ वर्षको अवसरमा काठमाडौंको थापाथलीस्थित सडकमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सर्वसाधारणसँग नयाँ वर्षको अवसरमा खुसीयाली साटासाट गर्न पुगेका उनले यस्तो बताएका हुन्।

‘सबै गुनासाहरू यथोचित ढंगले सम्बोधन हुन्छ, म जानकार छु, सबै समस्या समाधान हुनेछन्। सेवा अवधि लगायत सबै विषयहरु एकमुष्ट रुपमा सम्बोधन हुन्छ।’ उनले भने।

गृहमन्त्री लामिछानेले जनताका सबै किसिमका गुनासाहरू यथोचित ढंगबाट समाधान हुने प्रतिबद्धता जनाए। उनले कर्मचारीहरुमाथि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रह बिना नै काम गर्ने वातावरण बनाइने पनि उल्लेख गरे।

‘कसैमाथि पनि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रह नहोस्। कसैले नेता चिन्नु पर्दैन, जनता चिने हुन्छ, नेताको चाकडी नभई जनताको सेवा गरे मात्रै संगठन बलियो बन्छ।’ लामिछानेले भने।

उनले काठमाडौं सहरलाई चलायमान र क्रियाशील बनाउन नयाँ वर्षबाट २४ सै घण्टा दरबार मार्ग र ठमेल क्षेत्र सञ्चालन गरिएको बताए। काठमाडौं जिउँदो, जाग्दो सहर बनाउन आफूले काम गरिरहेको उनका भनाइ थियो।

‘सहरमा राति, बिहान, साँझ कतै जानुपर्दा सहरमा खुला ठाउँहरू छन्, सुरक्षित छन् भन्ने सन्देश हरेक देशले दिइरहेको छ, त्यो हुनुपर्छ, आजको बदलिँदो परिस्थितिमा सात, आठ बजे अँध्यारो हुने भन्ने हुँदैन, व्यापार व्यवसाय चलोस्, मानिसहरूको चहलपहल होस्।’ उनले भने।

गृहमन्त्री लामिछानेले प्रहरीको मनोबल र सुधारको काम अझ अघि बढाउनका लागि नयाँ वर्षको दिनमा खुसीयाली साटासाट गर्न आफू सडकमा आएको सुनाए।

प्रकाशित: १ वैशाख २०८१ १४:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App