१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

रञ्जिता पक्षका कैलाश चौधरी 'भोली सुदूरपश्चिमका मुख्यमन्त्री बन्ने'

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले गर्ने भएको छ। नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफ्नो पार्टीका नेता कैलाश चौधरीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्ने जानकारी दिइन्।

‘भोली नयाँ सरकार बन्दैछ, त्यसको नेतृत्व हामीले गर्दैछौ’, उनले नागरिकन्यूजसँग भनिन्। अध्यक्ष रञ्जिताका अनुसार नाउपालाई मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्री दिने बिषयमा बुधवार (हिजो) प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसहितको बैठकमा सहमति भएको हो।

‘शीर्ष नेताहरूसँग सहमति भइसकेको छ। हाम्रो पार्टीका नेता भोली मुख्यमन्त्री बन्नुहुनेछ’, उनले भनिन्। यसका लागि रञ्जिता भोली आफू पनि सुदूरपश्चिमको धनगढी जादैछिन्। मुख्यमन्त्री मात्र होइन एक मन्त्री र राज्यमन्त्री समेत पाउने गरी सत्तागठबन्धनका शीर्ष नेताहरूबिच सहमति भएको उनले जानकारी दिइन्।

रञ्जिताले आफ्नो पार्टी भित्रका सबै विवाद समाप्त भइसकेका दाबी पनि गरिन्। उनले केही दिनअघि संसदीय दलका नेता घनश्याम चौधरीलाई कारबाही गरेर कैलाश चौधरीलाई नेता बनाएकी थिइन्। घनश्याम चौधरी नाउपाका नेता रेशम चौधरी (रञ्जिताका श्रीमान्) पक्षका हुन।

घनश्यामले रञ्जिता पक्षधरहरूको टिकापुर बैठकमा भएका निर्णयमा लिखित असहमति जनाएका थिए। यसपछि रञ्जिताले संसद् सचिवालयलाई पत्र पठाएर घनश्यामलाई संसदीय दलको नेताबाट हटाएको जानकारी गराएकी थिइन्।

तर नाउपाका रमेश पक्षधरहरूले संसदीय दलको नेता हटाउन संसदीय दलको बैठकले निर्णय गर्नुपर्छ भन्दै तर्क गरिरहेका छन्। 

संसदीय दलमा सुरुमा नाउपाका ७ सांसद थिए। यीमध्ये समानुपातिक सांसद इन्दिरा गिरीलाई पनि रञ्जिताले कारबाही गरिसकेकी छिन्। उनले संसद सचिवालयलाई पत्र पठाएर पार्टीले उनलाई कारबाही गरेको जानकारी गराइसकेकी छिन्। अहिले सुदूरपश्चिम सरकारमा नाउपाका ६ जना सांसद छन् तीमध्ये ४ जना रेशम पक्षधर मानिन्छन्।

नाउपाको संसदीय दलमा रमेश पक्ष बलिया छन् भने पार्टी कार्यसमितिमा रञ्जिताको पल्ला भारी छ। केन्द्रमा नयाँ गठबन्धन बनेसँगै नाउपाका रञ्जिता र रेशमबीचको विवाद बढ्दै गएको छ। 

सुदूरपश्चिम प्रदेश सभामा सुरुमा ५३ जना सांसद थिए। तीमध्ये कांग्रेसका एक जना सांसदको निधन भयो। नाउपाकी एक जना कारबाहीमा परिन्। अहिले प्रदेश सभामा ५१ जना सांसद छन्। तीमध्ये सरकारको नेतृत्व गर्न आफूसहित २६ जना सांसद चाहिन्छ। प्रदेश सभामा कांग्रेस १८, माओवादी ११, एमाले १०, नाउपा ६, नेकपा एकीकृत समाजवादी ४, राप्रपा १ र एक जना स्वतन्त्र सांसद छन्। 

प्रकाशित: २९ चैत्र २०८० १३:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App